बुटवल- बुटवलको केन्द्र भाग मिलनचोकमा ९ तले बहुउद्देश्यीय भवन निर्माण हुँदैछ। निर्माण सम्पन्न भएपछि बुटवल सिटी सेन्टरको रुपमा यो चिनिने छ। जहाँ होटल, सिनेमा हल, विभिन्न गोष्ठी तथा सेमिनार आयोजना गर्ने हल, दृष्यावलोकन, सपिङ कम्प्लेक्सहरु रहनेछन्। बुटवलका व्यवसायी तथा समाजसेवी महेन्द्रनारायण श्रेष्ठले बनाएको यो भवनमा ४२ कोठाको होटल रहने छ। होटलमा सबै डिलक्स रुम हुने छ।
यहाँ दुई–दुई सय सिट क्षमताको दुई वटा सिनेमा हल पनि रहने छ। माथिल्लो तल्लामा भ्यूटावर सहितको रेष्टुरेन्ट हुने छ। जहाँबाट बाइनाकुलरबाट टाढासम्मको दृष्य हेर्न सकिन्छ। भवनको भूइ तल्ला र पहिलो तला सपिङ कम्प्लेक्सको लागि छुट्याइएको छ। जहाँ विभिन्न प्रकारका पसल रहने छ।
भवनको अगाडी पानीको फोहोरा सहितको बगैंचा हुने छ। सोही ठाउँमा फास्टफुड कर्नर पनि हुने छ। दसवटा बैंकको एटिएम सुविधा एकै ठाउँबाट लिन सकिने छ। केही ठाउँ सवारी पार्किङको लागि छुट्याइएको छ।
‘बुटवलको व्यवसायिक विकास र पर्यटन प्रवर्द्धनको लागि सिटी सेन्टर बनाएको हुँ’
महेन्द्रनारायण श्रेष्ठ
अध्यक्ष, बुटवल सिटी सेन्टर
बुटवल सिटी सेन्टर बनाउने योजना कसरी बन्यो ?
मैले धेरै वर्ष अघि लिएको जग्गा हो । पहिले यहाँ राइस मिल थियो। शहरीकरण हुँदै गएपछि राइस मिल हटाइयो। जग्गा खाली थियो। शहरको बिच भागमा रहेको जग्गा बेच्न पनि मनले मानेन। साथीहरुले खाली जग्गाको उपयोग गर्नुपर्यो भनेर सल्लाह दिनुभयो। यस क्षेत्रका केही नेताहरुबाट पनि जग्गाको सदुपयोग गरेर आकर्षक संरचना बनाउँदा राम्रो हुन्छ भनेर सुझाब आयो। त्यसैले बुटवल सिटी सेन्टरको योजना बन्यो। लगानीको लागि पर्याप्त रकम थिएन । जे होला होला भनेर निर्माण सुरु गरें। बैंकले पनि विश्वास गर्याे।
सिटी सेन्टरमा के–के हुन्छन् ?
यहाँ ४२ कोठाको होटल बन्ने छ । सबै कोठा सुविधासम्पन्न बातानुकुलीत हुने छन्। दुईवटा सिनेमा हल, भ्युटावर रेष्टुरेन्ट, सपिङकम्प्लेक्स लगायत रहने छन्। १० वटा बैंकको एटिएम कर्नर पनि रहने छ। त्यसको लागि बैंकहरुसँग सम्झौता भइसकेको छ। विभिन्न पार्टी तथा कार्यक्रम गर्ने ठाउँ पनि हुने छ।
कति लागतमा यो संरचना तयार हुँदै छ ?
भवन मेरो आफ्नै भयो । होटल र सिनेमा हल साझेदारीमा सञ्चालन गर्दैछु । सबै गर्दा ४०–५० करोड रुपैया लाग्ला भन्ने अनुमान छ। सपिङ कम्प्लेक्समा त्यहाँका व्यवसायीहरु आँफैले सजावट र मर्मतको काम गर्नेछन्।
सिटी सेन्टरले बुटवलको व्यवसायीक विकासमा के प्रभाव पर्छ ?
बुटवलको व्यवसायिक विकाससँगै पर्यटन प्रवद्र्धन पनि होस् भनेर सिटी सेन्टर बनाएको हुँ। यहाँ स्तरिय होटलहरु सिमित छन्। बाहिरबाट आएका पाहुनाको सहजता र सुविधा होस भनेर लक्जरी रुम सहितको होटल बनाइएको हो। होटलमा आएका पाहुना तथा अन्य आगन्तुकले सिटी सेन्टरको माथिल्लो तल्लाबाट दृष्यावलोकन गर्न सक्नेछन्। बाइनाकुलरको साहयताले पहाडी श्रींखलादेखी भैरहवासम्मका दृष्यहरु नियाल्न सकिन्छ। यो सिटी सेन्टर आँफैमा बुटवलको आकर्षक संरचना बन्ने छ। यसले बुटवलको आर्थिक अवस्थालाई पनि चलायमान गराउँछ। रोजगारीको सिर्जनामा पनि मद्दत गर्छ।
पूर्ण रुपमा कहिलेबाट सञ्चालनमा ल्याउँदै हुनुहुन्छ ?
कोभिड लगायतका कारणले सिटी सेन्टरको शुभारम्भ गर्न ढिलाइ भइरहेको छ। बैशाख एक गते उद्घाटन गर्ने योजना छ । हेरौं कस्तो हुन्छ । अहिले सपिङ कम्प्लेक्सहरुको बुकिङको काम भइरहेको छ।