बुटवल - बुटवल उपमहानगरपालिका १२ नयाँ गाउँमा निर्माण हुँदै गरेको ढुवानीग्राम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको छ। सम्झौता अुनसार पुस मसान्त भित्र ढुवानीग्राम निर्माणको काम सकिनुपर्ने हो। २०७६ साल पुस ७ गते बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालीबीच एक वर्ष भित्र ढुवानी ग्राम निर्माण सक्ने गरी सम्झौता भएका थियो। सम्झौता अनुसार ढुवानी ग्रामको लागि ४९ वटा सेड निर्माण भइसक्नुपर्नेमा हालसम्म २२ वटा मात्र सेडहरु निर्माण भएको छ।
निर्माण नसकिएपछि २०७८ साल असार मसान्तसम्म म्याद थपिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। कोरोना महामारी र लकडाउनको कारण काम रोकिँदा निर्माणमा ढिलाइ भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। ‘सम्झौता भएको केही समयमै तीन–चार महिना उनीहरुले काम गर्न पाएनन्। समय पुगेन भनेर समय मागे।’ उनले भने ‘उनीहरुले मागेको समय हामीले थपेका हौं।’
बजार तथा सडकमा छरिएर रहेका मालबहाक सवारी साधन र व्यवसायलाई व्यवस्थित बनाउन नयाँ गाउँको तिनाउ किनारमा ढुवानी ग्राम निर्माण थालिएको हो। २ विघा १६ कठ्ठा क्षेत्रमा ढुवानी ग्राम बनाउन लागिएको हो। ढुवानी ग्राममा सेड निर्माणबाहेक गाडी राख्न पार्किङ स्थल, मर्मतसम्भारका लागि टायर मर्मत केन्द्र, चालक बस्ने र खाने सुविधा सहितको लज, स्वास्थ्य सुरक्षाका लागि नर्ससहितको प्राथमिक उपचार केन्द्र र शान्ति सुरक्षाका लागि प्रहरी बिटलगायत निर्माण थालिएको छ। ढुवानी ग्राम सञ्चालनमा आइसकेपछि बुटवल बाहिर जाने र बाहिरबाट आउने खुद्रा सामानको अपलोड र अनलोड यहीबाट हुने छ।