दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुल यहीँ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धाटन गर्ने भएका छन् ।
राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने यो पुल नेपालकै दोस्रो लामो पुल हो । पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । नेपालको सबैभन्दा लामो बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीको गेरुवा पुल हो । त्यसको लम्बाई १ हजार १५ मिटर छ ।
माघ १२ गते सोमबार प्रधानमन्त्री ओलीले पुलको उद्धाटन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही पुलको शिलन्यास ०७३ मंसिर २२ गते गरेका थिए ।
प्रधानमन्त्रीले उद्धाटन गर्ने पुल झण्डै एक बर्ष अगाडि पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माणको सबै काम सकिएको थियो । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।
पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्याे । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।
यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट पर्यटकहरु यहाँ आउने गरेका छन् ।
अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो ।