बुटवलः कोभिडले गर्दा लामो समयदेखि लुम्बिनीमा पर्यटकीय आवागमन शून्यप्रायः रह्यो । तर, महामारीअघि पनि लुम्बिनीमा पर्यटकहरु लोभलाग्ने गरी आएका थिएनन् । त्यसैले बुद्धजन्मस्थल लुम्बिनी र भैरहवामा अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल देखेर अर्बौंका होटेल खोल्ने व्यवसायीहरु महामारी भन्दा अगाडिदेखी नै पर्यटकहरु रात कटाउन नआएर हैरान थिए ।
२०१२ देखि २०१९ को अन्तिमसम्म १० लाख ४८ हजार ८१५ जना बाह्य (भारतबाहेकका) पर्यटकहरु बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए । (हे. तालिका) हिसाब गर्दा ती आठ वर्षमा दैनिक औषत ३ सय ६४ जना पासपोर्टधारी अर्थात् भारतीय र आन्तरिकबाहेकका पर्यटक लुम्बिनी आएका थिए ।
सन् २०१८ मा प्रकाशित एक शोधले लुम्बिनी आएका पर्यटकमध्ये ३० प्रतिशतले मात्रै लुम्बिनीमा कम्तीमा एक रात बिताउने गरेको तथ्य फेला पारेको थियो । हिसाब गरौँ–दैनिक एक सय ९ जना विदेशी पर्यटकले लुम्बिनीमा रात बिताउने गरेका छन् !
जबकि, यिनै पर्यटकहरुलाई लक्षित गरेर लुम्बिनीमा खोलिएका होटलहरुमा एक दिनमै ३ हजार जनाभन्दा बढीले बास बस्न पुग्ने क्षमता रहेको सिद्धार्थ होटल एशोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन् । यीमध्ये धेरैले कोभिडका कारण खर्च धान्न नसकेर बन्द पनि गरिरहेका छन् ।
टिक्दैनन् पर्यटक
लुम्बिनीमा आउने पर्यटकको संख्या नबढेको भने होइन, कोषका अनुसार सन् २०१२ मा आन्तरिक तथा बाह्य ७ लाख ९५ हजार ८६० जना पर्यटक लुम्बिनी आएका थिए । सन् २०१९ को अन्तिममा आइपुग्दा उक्त संख्या बढेर १५ लाख ५२ हजार ८६९ जना पुगेका छन् । यसरी हेर्दा सन् २०१२ देखि सात वर्षको अवधिमा लुम्बिनीमा औषत १३ प्रतिशतले वार्षिक कुल पर्यटकको संख्या बढिरहेको छ । कुल पर्यटकको संख्या बढेको देखिए पनि खर्चगर्ने पासर्पोटधारी पर्यटकहरुको संख्या औषत वार्षिक झिनो ३ प्रतिशतले बढिरहेको तथ्यांकले देखाउँछ ।
स्थलमार्गबाट नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो, बेलहिया । बेलहिया नाका हुँदै नेपाल आउने अधिकांश पर्यटक भारतीय ट्राभल एजेन्टहरुको आइटिनररी (गन्तव्य योजना)मा लुम्बिनी छिर्ने गर्छन् ।
अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनाल बेलहिया हुँदै आएका भारतीय या तेस्रो मुलुकका पर्यटक केही घण्टामात्रै नेपालमा बस्ने बताउँछन् । ‘पारीबाट(भारतबाट) आएका पर्यटकहरु केही घण्टाका लागि मात्रै लुम्बिनी आउँछन्’ उनी भन्छन्,‘अधिकांश फर्किन्छन् भने केही चितवन या पोखरासम्म पुग्छन् ।’
भारतबाट छिर्ने पर्यटकहरुले बुद्धजन्मस्थललाई ‘ट्रान्जीट प्वाइण्ट’का रुपमा प्रयोग गर्दा लुम्बिनीका पर्यटन व्यवसायीहरु हैरान छन् । ‘भारतदेखि बेलहिया हुँदै आएका अधिकांश पर्यटकहरुले भारतीय गाइड नै बोकेर आउँछन् । पर्यटकहरु एजेण्टहरुको रोहोबरमै रहन्छन् । उनिहरुले जता लग्यो त्यतै जान्छन् ।’ होटेल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी बताउँछन् ।
एकातर्फ पैसा खर्चगर्न सक्ने पर्यटकको वृद्धिदर झिनो हुनु अर्कातर्फ आएका पर्यटकहरुले लुम्बिनीमा रात नकटाउनु, यी दुवै विषय लुम्बिनीलाई लक्षित गरेर सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायीको लागि टाउको दुखाइको विषय बनेको छ । जसले गर्दा लुम्बिनी, भैरहवा र बुटवलमा खुलेका केही ठूला होटलहरु बन्द हुने अवस्थामा रहेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको प्रारम्भिक आँकलनअनुसार बाह्य पर्यटक लक्षित तारे तथा सोही स्तरका ६० प्रतिशत होटलहरु बन्द हुने अवस्थामा रहेका छन् । चलेका भनिएका होटलहरुको पनि कारोबार नराम्रोसँग खस्कीएको संघका अध्यक्ष जिसी बताउँछन् ।
‘विदेशी पर्यटकहरु आएकै छैनन् । आएका पनि यहाँ रुक्दैनन् ।’ अध्यक्ष जिसी भन्छन्,‘भन्दा दुःख लाग्छ तर यहाँका ६० प्रतिशत ठूला होटलहरु नचलेर बन्द हुने अवस्थामा पुगेका छन् ।’
धनाढ्य पर्यटकहरुलाई लक्षित गरेर पछिल्ला १० वर्षमा अर्बौँको लागतमा रुपन्देहीमा २० वटा भन्दा धेरै पाँच तारे र सोही स्तरका होटलहरु खुलेका छन् । पाँच तारे नभएपनि बाह्य पर्यटकलाई लक्षित गरेर खोलिएका अन्य २५० वटा होटल सञ्चालनमा छन् । तीमध्ये केहीले धमाधम पाँचतारेमा स्तरवृद्धि गरिरहेका छन् ।
संघका अनुसार अहिले रुपन्देहीमा सानाठूला गरी ४ हजारको हाराहारीमा होटल तथा रेष्टुरेण्ट छन् । दुई वर्ष यता मात्र होटल तथा रेष्ट्ररेण्ट व्यवसायी संघ रुपन्देही मातहत ५ सयभन्दा बढी होटल थपिएका छन् । दुई वर्ष अगाडि १२ सय रहेकामध्ये हाल १७ सय वटा होटल तथा रेष्टुरेण्ट संघमा आबद्ध भएका छन् ।
भैरहवा बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक तथा संस्कृतिविद् प्राडा गितु गिरी लुम्बिनीमा पर्यटनको सम्भावना अथाह भएपनि सम्पदासँग स्थानीहरु जोडिन नसकेका कारण पर्यटन क्षेत्र आसातीत फस्टाउन नसकेको बताउँछन् । उनी लुम्बिनीमा ‘स्थानीयपन स्वाद’ नआउँदासम्म लुम्बिनीमा पर्यटकहरुको बाक्लो चहलपहल नहुने बताउँछन् ।
‘लुम्बिनी साउथ एसीयामा सबैभन्दा ठूलोे सांस्कृतिक सम्पदा हो । अब यहाँ सिधै अन्तर्राष्ट्रिय विमानस्थलको पहुँच छ । यो कुराले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएर लगानी थपिरहेका छन्,’उनी भन्छन्,‘तर, स्थानीयहरुसँग लुम्बिनी जोडिन सकेको छैन । स्थानीयहरुले लुम्बिनीलाई आफ्नो सम्पदा भनेर ग्रहण नगर्दासम्म यहाँ उल्लेख्य पर्यटन विकासको सम्भावना सधैं झिनो रहन्छ ।’
श्रोत: लुम्बिनी विकास कोष