भैरहवा–भन्सार कार्यालयमा अस्थायी पार्किङ बनाउन व्यवसायीहरुले माग गरेका छन्।
न्युज ओकेले भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गरेको कोभिड–१९का कारण आयात निर्यातमा परेको प्रभाव तथा सरलीकरणका लागि भन्सार कार्यालय एवम् भन्सार एजेन्टको भूमिका विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले आइसीपी निर्माण नहुँदा सम्मका लागि अस्थायी रुपमा भैरहवा भन्सार कार्यालयमा अस्थायी पार्किङ बनाउन माग गरेका हुन्।
भन्सार कार्यालय २० वर्ष अघिकै संरचनामा हाल सम्म पनि काम गर्नूृपर्ने अवस्था छ। पहिलाको तुलनामा दिनप्रतिदिन आयात निर्यात बढ्दा समेत कार्यालयले सिमित स्रोत र संरचनामै कार्य सम्पादन गर्दा उद्योगी व्यवसायीहरुले समस्या भोग्नुपरेको नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष अशिम न्यौपाने बताए।
कोभिडको जोखिममा पनि करिब ७० प्रतिशत लक्ष्य हासिल गर्न सफल रहेको भन्सार कार्यालयले हाल लक्ष्य भन्दा पनि बढी दैनिक रुपमा राजश्व हासिल गरेको छ।
कोभिडको असरले गर्दा अहिले विकास निर्माण र विलसिताका सामग्रीको आयात बढ्दा भारतमा दैनिक २० किलोमिटर सम्म मालवाहक गाडीको लाइन लाग्ने समस्या सिर्जना भएको अध्यक्ष न्यौपानेले बताए।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले पार्किङ अभावका कारण गाडीहरुको लाम लाग्ने गरेकोले भन्सार कार्यालयले एकिकृत भन्सार आइसीपी बनाउनका लागि २० वर्ष अघिदेखि अधिग्रहण गरिएको जग्गामा अस्थायी पार्किङ बनाएर केही हदसम्म समस्याको समाधान गर्न सकिने, भन्सारले गर्न नसकेको पार्किङ व्यवस्थापन निजी क्षेत्रलाई दिई भन्सार सहज बनाउन पहल गर्ने, आयात निर्यात गर्नू भन्दा पनि नेपालीको जीवन स्तर उकास्ने खालको कार्यक्रम ल्याउनु पर्ने बताए।
कार्यक्रममा बोल्दै भन्सार एजेन्ट संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद घिमिरे, उपाध्यक्ष मधु पन्थी, भन्सार एजेन्ट प्रकाश गैरे, पर्यटन पत्रकार चेतन पन्त लगायतले भन्सार विभागले भारतले आइसीपी बनाइदिने आसामा ३ वर्षदेखि यहाँका उद्योगी व्यवसायीले पार्किङको अभावमा दैनिक प्रति गाडी २ हजार देखि ४ हजार सम्म डिटेन्सन तिर्नु पर्ने अवस्था रहेको बताए ।
पार्किङ नहुदा उत्पन्न समस्याले दैनिक लाखौ रकम भारतिदै गएकोले यसको नितिगत सुधारका लागि भन्सार कार्यालयले पहल गर्नु पर्ने, भारततर्फ गाडीको जामले यस क्षेत्रको सामानहरु अन्य नाका तर्फ डाइभर्ट भइरहेकोले यस क्षेत्रको उद्योगी, व्यवसायीहरु पनि अन्यत्र पलायन हुन पर्ने अवस्था आएकोले छिटो भन्दा छिटो भन्सार यार्डलाई व्यवस्थित गरी अस्थायी पर्किङ बनाउन माग गरे ।
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी पूर्ण प्रसाद लम्सालले कार्यालयले पछिल्लो ६ महिनामा लक्ष्य भन्दा १० प्रतिशत बढि राजश्व असुली गर्न सकेको बताए ।
विकास निर्माणको कच्चा पदार्थ र विलासिताका सवारीसाधानहरुको पैठारी बढेकोले राजश्व असुली बढेको र जसले भारततर्फ गाडीहरुको लाम लाग्ने समस्या पनि उत्पन्न भइरहेको छ भन्सार कार्यालयले अबेरसम्म भएर पनि जाचपास र कार्य सम्पादनको काम गरिरहेको बताउदै भैरहवा भन्सार प्रशासनको नभई भारतिय भन्सारले गाडी पास गर्न नसकेर भारत तर्फ गाडीहरु रोक्नु परेको बताए ।
समय समयमा आउने गरेको असिकुडा प्रणालीको सर्भरमा आउने समस्याको समाधानका लागि भन्सार कार्यालय र विभाग लागेको उनले बताए ।
प्रविधिक टोलीले वाइरिङ चेक गरी मर्मत गर्ने कार्य गर्दै आएको र नव नियुक्त भन्सार प्रमुखले समेत त्यसलाई चासोको साथ काम गराउदै भएकाले केही दिनमै सुधार आउने अधिकृत लम्सालले बताए ।