दाङ । एउटै उद्देश्य मिल्ने सहकारी संस्थाहरुको बीच एकिरण अभियानले तिब्रता पाएको छ । दाङमा बुधबार चार ओटा सहकारी एकीकृत भएका छन् । राप्ती गाउँपालिकामा रहेका चार वटा सहकारी संस्थाको एकिकरण गरेर देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनाइएको छ ।
बुधबार लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले चार ओटा सहकारी एकिकरण भएर देउखुरी बचत तथा ऋण सहकारी लिमिटेड बनेको घोषणा गर्दै नव सहकारीलाई शुभकामना दिइन् । मन्त्री पौडेलले सहकारीको माध्यमबाट गरिबी न्यूनिकरण गर्न सकिने भएकाले त्यस दिशामा कार्यक्रम बनाएर केन्द्रित हुन आग्रह गरिन् ।
चार बर्ष लामो सहकारी एकिकरणको प्रयास अहिले सफल भएको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्लले जानकारी दिए ।‘प्रतिस्पर्धा र क्षमताको जमाना हो । हाम्रो सेवालाई गुणस्तरीय बनाउन सहकारी एकिकरण गरेका हौं’उनले भने–‘संस्थाको संख्या बढाउनु भन्दा पनि सेवा बढाउन जरुरी थियो । सेवा बढाउने दिशामा हामी अघी बढ्यौं ।’
हरियाली बचत तथा ऋण सहकारी संस्था, महाप्रभु बचत तथा ऋण सहकारी संस्था, विहानी बचत तथा ऋण सहकारी संस्था र जनजिवीका बचत तथा ऋण सहकारी संस्था गत पुस २७ गते एकिकरण गरिएको थियो । सहकारी संस्थाले अहिले लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा ६ स्थानमा सेवा केन्द्र सञ्चालन गरेर सेवा दिदै आएको छ । एकिकरण घोषणा कार्यक्रममा सहकारी संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेलले सहकारीमा पौस मसान्त सम्म ४३ करोड ९० लाख बढी पुजी रहेको र अवको छ महिनाको अवधीमा यसलाई बढाएर ५६ करोडमा पु¥याइने जानकारी दिए । सहकारी संस्थामा झण्डै ६ हजार शेयर सदस्य छन् ।
एक सहकारी संस्थामा एक जना मात्रै शेयर सदस्य रहने प्राबधान अनुसार आगामी छ बर्ष भित्र २५ सय शेयर सदस्य बृद्धि गरिने छ । घोषणा सभालाई साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थका अध्यक्ष हाल देउखुरी बचत तथा ऋण सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक रुकमाङ्गत ज्ञवाली, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका महासचिव देवप्रसाद चौधरी लगायतका वक्ताहरुले सहकारी एकिकरण हुनुपर्ने आवश्यकताका बारेमा धारणा राखे ।