बुटवल । प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारी गरेको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै प्रदेश सरकारले स्वदेशी र बाह्य लगानी भित्राउने लक्ष्यसहित लगानी सम्मेलनको तयारी गरेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताए ।
त्यसको तयारीस्वरुप प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारका मन्त्रीहरु, निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेश सभाका सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको छ ।
छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई लगानीमैत्री र निजी क्षेत्र मैत्री प्रदेश बनाउंदै स्वदेशी विदेशी लगानी भित्राउन वैशाखमा लगानी सम्मेलन गर्न थालेको जानकारी गराए ।
उनले प्रदेश ५ मा कृषि, उद्योग, पर्यटन, सेवा, खनिज, जडिबुटी लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने प्रचुर सम्भावना रहेको र प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गर्न तयार रहेको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित कपिलवस्तु तिलौराकोट लगायतका क्षेत्र र पहाडी क्षेत्रमा हिल स्टेशनहरुमा लगानी गर्न सकिने औंल्याए । प्रदेश सरकारले सस्तो जग्गाको उपलब्धता र पुर्वाधारहरु बनाएर लगानीकर्तालाई सहज वातावरण बनाउन तत्पर रहेको बताए ।
त्यस अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद शर्माले सातवटा प्रदेश मध्ये प्रदेश ५ ले पहिलोपटक आयोजना गर्ने लगानी सम्मेलनले समग्र मुलुकको समृद्धि र विकासमा योगदान पुग्ने बताए । उनले लगानी सम्मेलनमा तुलनात्मक लाभका क्षेत्र र राम्रो परियोजना छनोट गरेर मात्र लगानी गर्न प्रदेश सरकारले सघाउनुपर्ने सुझाव दिए ।
यूकेएडसीप परियोजनाका बलजित बोहराले सरकारी नीति नियमहरु नीज क्षेत्र र लगानीमैत्री बनाउन आग्रह गरे । लगानी बोर्डका परामर्शदाता घनश्याम ओझा र अतुल गान्धीले सार्वजनिक निजी साझेदारी लगानीका सम्भावना, चुनौति र समस्याबारे जानकारी गराएका थिए ।
प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश ५ सरकारले योजनावद्ध आवधिक विकासको अवधारणा अनुसार अल्पकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गरेर काम गरिरहेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निजी क्षेत्रसँग संस्थागतरुपमा सहकार्य र सम्बन्ध विस्तार गरी स्वदेशी र विदेशी लगानी भित्राउने र दातृ निकाय र स्थानीय तहका राय सुझाव लिएर लगानी सम्मेलनलाई फलदायी बनाउन सरोकारवाला निकायसँग छलफल गरिएको बताए । निजी क्षेत्रसँगको छलफललाई निरन्तरता दिने मरासिनीले बताए ।
उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले सरकारले लगानीमैत्री नीति र लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।