भैरहवा । यसै पनि कछुवागतिको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई कोरोना महामारीले झनै थला पारेको छ । पटक पटक म्याद थपेर सन् २०२१ को डिसेम्बरसम्म बनाइसक्ने नयाँ लक्ष्यसहित निर्माण कार्य भइरहेको विमानस्थलको अहिलेको भौतिक प्रगति ९४ प्रतिशत छ । तर, विदेशी प्राविधिकहरुमा कोरोना महामारीले देखाएको अन्यौलता र भारतसँग हुनु पर्ने सम्झौता नहुँदा विमानस्थलमा पछिल्लो समय उल्लेख्य काम भएको छैन ।
पटक पटकका म्यादले ‘फेल’ खाएपछि पछिल्लो पटक तोकिएको म्याद मै काम सक्ने भनेर विमानस्थल निर्माण परियोजनाले लकडाउनमा पनि काम रोकेको थिएन । विदेशी प्राविधिक आउनु भन्दाअगावै चाहिने स्थानिय प्रविधिकको काम र फाउन्डेसनको सबै काम आयोजनाले लकडाउनकै समयमा गरेको छ ।
बन्दाबन्दीको समयमा नै जमिन सतहबाट डेढ मिटर तलबाट कबिर १५० मिटर लम्बाईको ५० मिटर चौडाईको चौथो नयाँ ट्याक्सी वेको निर्माण, तारबार र माटो फिलीङ, रंगरोगन, एसी वाइरिङ र रनवेको विधुतिय काम सम्पन्न गरेकोे छ । संचालन योग्य बनाउनका लागि नदीजन्य कच्चापदार्थको मौज्दात बनाउने, विमानस्थलको छिटपुट र भित्री पेरिमिटर सडक निर्माणको काम, उपकरण जडानको सबै आधारभूत काम, विधुत्तिय काम, फिनीसिङ लगायतको करिब ५–६ प्रतिशत भौतिक प्रगति लकडाउन पछि भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताए ।
‘विषम परिस्थितीमा पनि चिनिया सहित सय बढि जनशक्तिको नियमित कामले विमानस्थलको संरचना अन्तिम स्वरुपमा आएको छ । प्रविधिक र उपकरणहरु विदेशमै रोकिनु नै चुनौती थियो हाल सम्म उपकरणहरु अधिकांस आएपनि बाकी उपकरण र विशिष्ट दक्ष प्रविधिक (एरोथाई कम्पनिका प्रविधिक)हरु नेपाल नआउदा सम्म कहिले आउने भन्ने निश्चित छैन ।’ उनी भन्छन् ।
आइसिबी–१ का लागि चिनको एक जना प्रविधिक सहित नेपाली १५ –१८ जनाको टिमले रनवे र टयाक्सी वे को लाइट जोड्ने कामको गरिरहेका छन । त्यस्तै कन्भेयर बेल्ट, एसी र सेन्ट्रल एसीका जोड्न चिनबाट प्रविधिक आउनु पर्नेमा भारतिय प्रविधिकहरुबाट जडानको कार्य भइरहेको छ । कोभिडका कारण आउनु पर्ने प्रविधिकहरु पनि चिन विमानस्थलबाट नै फर्केकोले बैकल्पीक माध्यमबाट विमानस्थलको लिफ्टको काम भने नेपाली प्रविधिकहरुबाट नै भइरहेको आयोजनाका प्रमुख ईन्जिनियर अधिकारीले बताए ।
अबको बाकी मुख्य बाकी काम प्रविधिक आएको कम्तीमा ३ महिनामा सम्पन्न हुन्छ । आइसीबी–२का लागि ३० जना दक्ष प्रविधिक आए पश्चात २ महिना उपकरण जडान, आइसीबी–१ र आइसीबी–२को काम सम्पन्न भएपछि मात्र परिक्षणको र कमीसनिङको काम हुन्छ जस्को लागि एक महिना लाग्ने अनुमान छ । यसका साथै भित्री संरचनामा फर्निचर, फर्निसिङ सहितको सुन्दरीकरणमा पनि ३ महिना समय लाग्ने आकलन गरिएको छ यदपी उपकरण जडानसँगसँगै सुन्दरीकरणको काम गर्न सकिन्छ ।
अबको मुख्य चुनौती नै विदेशी दक्ष प्रविधिक ल्याउनु नै हो । अमेरिका अष्ट्रीया र थाइलेण्डबाट प्रविधिक ल्याउन भिषा अनुमति दिएपनि प्रविधिक नेपाल नआउदा सम्मका लागि केही भन्न सकिने अवस्था छैन । प्रविधिक आउनासाथ उपकरण जडानको सुरु हुने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । फ्रेबुअरीको दोस्रो हप्ता आउने सम्भावना छ । चिनको प्रविधिक रोकिएपछि भारतबाट प्राविधिक झिकाई शुक्रबारबाट लाइट जोड्ने कामको सुरुवात भएको छ । सबै प्रविधिकहरुको काम फरक फरक भएकोले एउटै प्रविधिकले सबै काम नगर्ने भएकोले पनि समस्या आएको आयोजनाका प्रमुख ईन्जिनियर अधिकारीले बताए ।
चिनबाट स्थलमार्ग भई लासा आएको बाकी उपकरण पनि आउने सातामा आइपुग्छ, एप्रोनको लाइट, एक्सरे मेसिन, फोर्ड लाइट लगायतका ती उपकरण रसुवामा कोरोनाकै कारण लाम लागेर ढिलाई भएको छ ।
विमानस्थलको संरचनामा ५ वटा डिभिजन हुने स्वीकृति भइसकेको छ । विमानस्थल प्रमुखको मातहतमा रहने गरी एयर नेभिगेशन, एयरर्पोट अप्रेशन, सिभिल इन्जिनियरिङ, इलेक्ट्रो मेकानिकल र म्यानेजमेन्ट सर्भिसेज गरी ५ वटा डिभिजनबाट विमानस्थल संचालन हुने तय भइसकेको छ ।
टर्मिनल भवनको अफिस व्यवस्थापनका भन्सार, अध्यागमन, क्वारेन्टाइन, सरक्षा लगायतका लागि सबै निकायहरुले तयारी गरेका छन । एम्बुलेन्स, दमकलहरु पनि विमानस्थल आइसकेका छन् ।
विदेशी प्राविधिक टोली नआएकाले आयोजनास्थलमा उपकरण जडान हुन सकेको छैन । उपकरण जडानका पूर्वाधारहरु तयार छन यहाका प्रविधिकले गर्न सक्ने सबै काम भइसकेको छ विदेशी प्राविधिक आउनासाथ आईसीबी–२ तर्फको काम सुरु हुन्छ आइसीबी–२ का प्रोजेक्ट म्यानेजर प्रविण न्यौपानेले बताए । पहिलो चरणमा अमेरिकाबाट २ जना विज्ञ प्रविधिक फ्रेबअरीको तेस्रो साता आउने मन्त्रालयले तय गरेको छ । भिओर र आइ एल एस (उडान उपकरण) जडानका लागि उनी सहित अन्य यहाँका प्रविधिकको टिमले उपकरण जडान गर्नेछ । अमेरिकन प्राविधिक आएको १५ दिन पछि युरोपियन अष्ट्रियाको प्रविधिक टिम आउने छ ।
नेपाल सरकारले २१ वटा राष्ट्रिय गौरवको आयोजना मध्ये पहिलो सम्पन्न हुने आयोजनाको रुपमा यस विमानस्थललाई लिएको छ । सन् २०१४ मा शिलान्यास गरिएको आयोजनाको पाँचौंपटक थपिएको म्याद पनि २०२० डिसेम्बर ३१ देखि सकिएको छ । निर्माण कम्पनि नर्थ वेस्ट सिभिल एभियसनले निर्माण सम्पन्न नहुने देखिएपछि छैठौँ पटकको म्याद थपका लागि आयोजनालाई निवेदन दिएको छ । आईसीबी–१ र २ दुवै ठेक्काको एउटै म्याद थियो । म्याद थपका लागि परामर्शदाता कम्पनी र आयोजनाले अध्ययन गरिरहेको छ । प्रविधिकहरुको स्वास्थ्य जोखिमको विषय भएकोले के आधारमा कहिले सम्म म्याद थप गर्नेमा अन्योलता छ, विदेशी प्रविधिक आए पछि मात्र म्याद थपबारे निर्णय हुने आयोजनाले जनाएको छ ।
कार्गो भवन समयावधि अगावै सकिने
विमानस्थलको कार्गो भवनको काम पनि कोभिडले प्रभावित भएको छ । ९१ करोडको लागतमा प्राधिकरणकै लगानीमा बन्दै गरेको उक्त भवन ७५ प्रतिशत बढि निर्माण सम्पन्न भएको छ । कोभिडका कारण पहिलो पटक ६ महिना म्याद थप गरी बैशाख १२ गते सम्म समायवधि रहेको उक्त योजनाको प्रशासकिय भवनको फिनिसङको काम भइरहेको छ । आयात निर्यातको गोदाममा ट्रस्टको काम भइरहेको छ, नवलपारसीमा निर्माण भइसकेको छानो हाल्ने काम, एप्रोन तर्फ ल्याण्ड साइड र एयर साइडको ढलानको काम पनि एक महिनामा सकिने प्रोजेक्ट साइट इञ्चार्ज प्रवेश गुरुङले जानकारी दिए । गेटको डिजाइन फाइनल भई निर्माणको क्रममा छ । पबिल्क शौचालय, क्यान्टिन, छिटफुट निर्माणको काम बाकी छ चैतको अन्तिम सम्म सकिने लक्ष्य रहेको साइट इञ्चार्ज गुरुङले भने ।
कोभिडले प्रभावित बनाएपनि अहिले कच्चा पदार्थ तथा निर्माण जन्य बस्तुको मुल्य बढेर समस्या आइरहेको बैशाख १२ गते अन्तिम मिति अगावै सक्न्छि ।
२२ अर्ब २५ करोड बढि मुअब्जा वितरण
विमानस्थल क्षेत्रमा परेको ९८ प्रतिशत बढि घरधुरीलाई मुअब्जा वितरण गरिएको छ । करिब २३ अर्ब ५९ करोड बढि मुअब्जा वितरण गर्नु पर्नेमा पुस मासन्त सम्म २२ अर्ब २५ करोड ६४ लाख २८ हजार ८ सय ४६ रुपैयाँ वितरण भइसकेको छ । ६५० घर परिवार रहेको उक्त क्षेत्रमा नेपाल सरकारबाट दोहोरोमा परेका, नक्सा दर्ता नभएको, अन्य निकायबाट पनि रोक्का भएको खोतियोग्यलाई घडेरी दाबी गरेको घरधुरी लगायतलाई मुअब्जा वितरण गरिएको छैन ।
दोस्रो चरणको टर्मिनल भवन र एप्रोन निर्माणका लागि परामर्श दार्त सस्थाले अध्ययन गरिरहेको छ । दोस्रो टर्मिनल भवनको डिजाइनमा, जहाज पार्किङ र पुरानो टयाक्सी वे स्तरोन्नती गरी विस्तारको कामका लागि सिंगापुर, भारत र युरोपीयन दार्त संस्थाले अध्ययन गरिरहेका छन ।
एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात ६ अर्ब ८२ करोडको ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसाको लगानीमा निर्माणधिन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनि नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ ।
कार्यविधि अझै बनेन
रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुचारु गर्न आवश्यक पर्ने कार्यविधि अझै प्रकाशित हुन सकेको छैन । व्यवसायिक उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्यन प्राधिकरणले बनाइरहेको कार्यविधिमा छिमेकी मुलुक भारतको सहमती नपाएपछि कार्यविधि प्रकाशित हुन नपाएको हो ।
प्राधिकरणले बनाएको कार्यविधिमाथि भारत सहमत जनाउन आनाकानी गर्दै नेपाली आकाशमात्रै प्रयोग हुने गरी कार्यविधि बनाउन भारतीय पक्षले प्राधिकरणलाई सुझाव दिएको छ ।
गत एक बर्षदेखि प्राधिकरणले कार्यविधि बनाइरहेको छ । सीमानाका नजिकै विमानस्थल रहेकाले विमानस्थलमा जहाजले उडान भर्दा या अवतरण गर्दा भारतको आकाश पनि प्रयोग हुने भएकाले उसको सहमतीमा नै वयवसायिक उडान तथा अवतरण कार्यविधि बनाउनुपर्ने हुन्छ, तर भारतले आफ्नो आकाश प्रयोग गर्न सहमती दिएको छैन ।
यसअघि पनि भैरहवा विमानस्थलका लागि आवश्यक हुने नेपालगञ्जदेखि पश्चिमको कुनै एक हवाइ प्रवेश बिन्दु दिन भारत असहमत देखिएको थियो ।
भैरहवा विमानस्थलका लागि हवाइ विन्दु दिन आनाकानी गरेपछि अब सरकारले नै कुटनीतिक तहमा छलफल गरेर सहमति गरेपछि मात्र कार्यविधि प्रकाशित हुने भएको प्राधिकरणले जनाएको छ ।
त्यसैले विमानस्थलमा व्यवसायिक उडान तथा अवतरण कार्यविधि बनाउने काम प्रशासनिकबाट कुटनीतिक छलफलमा पुगेको छ । केही दिनअघि भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि विमानस्थलको विषय उठान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्रोतले बताएको छ ।
कुटनीतिक सहमतिपछि कार्यविधि प्रकाशित हुने मन्त्रालयको भनाइ छ । अहिले भैरहवा विमानस्थलको भौतिक निर्माण काम ९४ प्रतिशतभन्दा धेरै सकिएको छ ।