सैनामैना -रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ रानिवगियाकी लेखा दगामी मगर प्राय जसो ढाका बुनाइमा व्यस्त हुन्छिन्। उनलाई छरछिमेकमा दिउँसभरी गफ गरेर बस्न फुर्सद छैन। ४३ वर्षकी दगामीलाई कहिले सामान लिन, कहिले तालिम दिन र ढाका बुन्दा आजभोली साँझ परेको पत्तै हुदैन।
विवाह हुँदा उनले कक्षा ७ मा पढ्दै थिइन्। रानिवगियाकै डोलबहादुर दगामीसँग वैवाहिक बन्धनमा बाधिएपछि पनि केही समय उनले अध्ययनलाई निरन्तरता दिइन्। तर पढाइलाई ९ कक्षा भन्दा अगाडि बढाउन सकिनन्। त्यसपछि भने उनको दिनचर्या पुर्ण रुपमा घरायशी काममा नै वित्न थाल्यो ।
२०५८ साल तिर लेखा मगर महिला संघ जिल्ला कार्य समिति रुपन्देहीको सदस्य बनिन्। त्यसको केही समय पछि मगर संघ जिल्ला समिति र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा परम्परागत हाते तानको तालिम आयोजना गरिएको थियो। मंगर महिला संघबाट २ जना र उपमहानगरबाट २ जना गरी ४ जनालाई सीप सिकाउने कार्यक्रम थियो।
तालिममा मगर महिला संघबाट लेखा पनि सहभागी हुन पाइन्। ‘त्यति बेला खुसीको सीमा थिएन, तालिममा गइसकेपछि तान बुन्न रुची लाग्न थाल्यो । ४ दिनको तालिममा पहिलो दिन धागाँ गाँस्न सिके’ उनले भनिन् ‘दोस्रो दिनमा तान लगाउन र तेस्रो दिनबाट तान बुन्न सिकें।’
तालिम लिएपछि लेखालाई घरमा यत्तिकै बस्न मन लागेन। केही काम गरेर आत्मनिर्भर बन्न मन लाग्यो। बुटवलमा मगर महिला संघको भवनमा व्यवसायिक रुपमा हाते तान बुनिन्छ भन्ने उनले थाह पाइन्। त्यसबारे थप बुझिन्।
कतारमा भएका आफ्ना श्रीमानसँग सल्लाह गरिन्। घर सल्लाह गरेर बुटवल काम गर्न जाने निर्णय गरिन्। हाते तान बुन्न लेखा दैनिक सैनामैनाबाट बुटवल आउँजाउँ गर्थिन्। थानका हिसाबले दैनिक परम्परागत शैलीबाट ढाका बुन्न सुरु गरिन्। एक थान ढाका कपडा बुनेको २ सय रुपैयाँ सम्म कमाइ हुन्थ्यो।
उनले दिनमा ३ वटा सम्म ढाकाको कपडा बुन्न भ्याउँथिन्। लेखाले त्यहाँ करिब २ वर्ष सम्म काम गरिन्। कामबाट सन्तुष्ट भएपनि दिनहु बुटवल र घर आउँजाउँ गर्दा भने लेखालाई घर परिवारमा समय व्यवस्थापन गर्न गाह्रो भयो। त्यसपछि उनले बुटवल काम गर्न छोडेर घरमै व्यस्त हुन थालिन्।
लेखाका २ छोरी र १ छोरा छन्। एक छोरी अष्ट्रेलिया छिन् भने अर्की छोरीको विवाह भइसकेको छ। भने कान्छो छोरा हाल ९ वर्षका छन्। बुटवल काम गर्न छोडेपनि उनमा ढाका बुनाईको मोह भने थियो। हाते तान बुनेर नै घरखर्च चलाउन रहर फेरी जागेको थियो।
बैदेशिक रोजगारीमा रहेका श्रीमानको कमाइले परिवारको घरखर्च राम्रै चलेको थियो। यद्यपि, लेखालाई आँफैले कमाएर जीविकोपार्जन गर्न इच्छा जाग्यो। महिला उद्यमी बन्ने सपना पुरा गर्न उनले रानिवगियामा २०६१÷०६२ सालतिर लेखा हाते तान सेन्टर खोलिन्। सुरुवातमा ४ लाख ५० हजारको लगानी लगाइन्। काठमाण्डौँदेखि ७ वटा हाते मेशिन उपकरण ल्याएर व्यवसाय सुरु गरेपछि उनी झन व्यस्त भइन् ।
लेखाले ७ जना महिलाहरुलाई तान सेन्टरमा रोजगारी दिइन् । ‘सुरुवातमा सोचेजस्तो व्यवसाय भने हुन सकेन। राम्रो कमाई पनि भएन। बजार व्यवस्थान गर्न कठिन पनि भयो।’ उनले सम्झिन् ‘पछि बजार र बजार मागबारे बुझ्दै गएँ। स्थानिय ग्राहकको आवश्यकता, मुल्य र गुणस्तरीयतालाई बुझने गरें। क्रमश तान सेन्टरमा माग बढ्न थाल्यो। ग्राहकको चाप हुन थाल्यो।’
त्यसपछि लेखाले व्यवसायलाई सेन्टर मात्र नभई उद्योगमा परिणत गर्ने निर्णय गरिन्। थप व्यवस्थापनका साथ सैनामैना परम्परागत हाते तान उद्योग सञ्चालनमा ल्याइन्। हाल दुई वटा कोठा भाडामा लिएर उनले उद्योग चलाएकी छिन्। महिनाको करिब १० हजार कोठा भाडा तिर्ने उनको उद्योगमा हाल ६ जना महिलाले रोजगारी समेत पाएका छन्। ‘उद्योगमा ढाकामा सारी–ब्लाउज, लुङ्गी, सल, खाँदा, ब्याग, जुत्ता, कोट लगायत विभिन्न प्रकारका कपडाहरु बुन्ने गरिन्छ।’ उनले भनिन्।
दगामीले उद्योगमा महिला दिदीबहिनहरुलाई एक थान लुङ्गी बुनेको ३ सय रुपैँया, सल बुनेको ४ सय रुपैैँया, खाँदा बुनेको एक सय रुपैँया र सारीको २ सय रुपैँया पारिश्रमिक दिने गरेकी छिन्। ‘ढाका बुनाईबाट राम्रो आम्दानी भएको छ महिनाको ३० हजार जति त यहि बचत हुन्छ’ उनी भन्छिन् ‘अब श्रीमानलाई विदेशबाट फर्काएर सँगै काम गर्ने सोंच बनाएकी छु ।’
लेखा ढाका बुनाईमा मात्र होइन, समुह बनाएर अन्य महिला दिदीबहिनीलाई पनि बुन्न सिकाउँछिन्। २०७५ सालमा सैनामैना नगरपालिका र जनजाति महासंघ केन्द्र मगर संघको व्यवस्थापनमा करिब ३० जना महिलाहरुलाई तालिम दिएकी छिन्। आँफुसँग तान बुन्न सिकेकाहरुले घरमै तान राखेर पनि काम गरिरहेको उनी सुनाउँछिन्।
अहिले पनि उनले सैनामैना नगरपालिकाका २२ जना महिलाहरुलाई तालिम दिइरहेकी छिन्। लेखालाई ढाका बुन्ने उपकरण मेशिनका लागि सैनामैना नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ। उद्योगलाई अझ व्यवस्थित गर्नका लागि थप उपकरण थप्ने योजना रहेको उनले सुनाइन् । ‘विशेषगरी लुङ्गी र सारीहरुको माग बढी छ, पु¥याउन पनि गाह्रो हुन्छ’ लेखाले भनिन् ‘आँफुमा आत्मविश्वास र मेहेनत गर्नुपर्छ अवश्य सफल भइन्छ।’