बुटवल–बटौली यस क्षेत्रको मात्र नभई त्यसबेला पश्चिम नेपालकै एउटा व्यापारिक केन्द्र थियो। आसपासका जिल्लाबाट मात्र होइन मुस्ताङ सम्मका मान्छे बटौली बजारमा किनमेल गर्न आउँथे। लामो बाटो उकाली ओराली गर्दै अनि चौपारी र पाटीपौवामा बास बस्दै हाम्रा बाबुबाजे बटौली आएर नुन, मट्टितेल, कपडालगायतका सामान लिएर जाने गर्दथे। गोलपार्क पारीपट्टी गणेशथानदेखि गढीकिल्लासम्म बटौली बजार थियो।
हिँउदको समयमा दिनभर मात्र होइन रातभर पनि किनमेल चलिरहन्थ्यो। ‘दिनहुँ २० हजार मान्छे पहाडबाट आउँथे। रातभर दिनभर व्यापार हुन्थ्यो।’–पुराना व्यापारी तथा बुटवल उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य वंशराज जैसवालले सम्झे–‘टुकी बालेर व्यापार गर्नुपर्दथ्यो। यहाँ बिजुली बत्ती केही थिएन।’
जैसवाल बटौलीमा किरानाको व्यापार गर्दथे। त्यसको लागि भारतको कानपुरबाट सामान मगाउँथे। कानपुरमै उनले पहिलोपटक बिजुलीबत्ती र टेलिफोन देखेका थिए। ‘हामी कानपुर जाँदा बिजुलीबत्ती बलेको, टेलिफोन गरेको देख्थ्यौ।’–जैसवालले भने –‘हाम्रोमा कहिले बिजुली आउला, फोन गर्न पाउँला ? यस्तै सोच्थ्यौं।’
पहाडबाट झरेका नेवार जाति र भारतबाट आएकाहरुले बुटवलमा व्यापार व्यवसाय गर्ने गर्दथे। वंशराज जैसवालपनि भारतबाटै व्यापार गर्न भनेर बटौली आएका थिए। ‘१८–१९ वर्षको थिएँ यहाँ आउँदा। बुबाको भाइहरु हुनुहुन्थ्यो। एकजनाले कपडाको र अर्कोले तमाखुको काम गर्नुहुन्थ्यो’–जैसवाल सम्झिन्छन–‘पहिले काकासँग तमाखुको काम गरेँ। पछि अलग किरानाको काम गरें।’ जैसवाल जस्तै थुपै व्यापारीहरुले पारी बुटवलमा व्यापार व्यवसाय गर्दथे।
मुलुकमा २००७ सालमा प्रजातन्त्र आएसँगै व्यासायीहरु पनि संगठित हुने प्रयास गरे। फलस्वरुप २००९ सालमा बटौली बजारकै व्यापारीहरुको भेलाले पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरे। श्रेष्ठकै अध्यक्षतामा २०१० साल फागुन १० गते १७ सदस्यीय बुटवल व्यापार संघ गठन भयो। साढे २ दशक जति व्यापार संघकै रुपमा रह्यो। पछि व्यापार संघ बुटवल उद्योग वाणिज्य संघको रुपमा नामाकरण भयो। पदमचन्द्र श्रेष्ठपछि रुद्रविलास तुलाचन, किशोरीलाल कसौधन, युक्त प्रसाद प्रधान, द्रोणराज जोशीले संघको नेतृत्व सम्हाले।
त्यसपछि सूर्यप्रसाद प्रधान, महेशकुमार राजभण्डारी, हिराकुमार श्रेष्ठ, जिवन प्रसाद ओझा, ज्ञानेन्द्र कसजु, अर्जुनमान सैंजु, कुशप्रसाद मल्ली, निर्मल लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ, सुरेन्द्र प्रसाद श्रेष्ठ, महेशमान सिंहले पनि बुटवल उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। अहिले खिमबहादुर हमाल संघको अध्यक्ष छन्।
२० को दशकपछि सिद्धार्थ राजमार्ग निर्माण भयो। बाटोको सुविधा र फराकिलो ठाउँको कारण पारीको बजार खस्यौली तर्फ सर्यो। ‘पारी गाडी जान नसक्ने साँघुरो बाटो। वारी गाडीमा सामान लोड गरेर पनि लैजान सकिने भएपछि सहज भयो–बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल लाकौलले भने–‘अमरपथ, राममन्दिर लाइन, संगम पथमा हुँदै बजार विस्तार हुँदै गयो।’ खस्यौलीमा पूर्वाधार थपिँदै गएपछि बजारले शहरको रुप लियो। र बुटवल शहरको रुपमा परिचित भयो।
समय क्रमसँगै बुटवल उद्योग वाणिज्य संघले आफूलाई पनि विस्तार गर्दै लग्यो। संघले अहिले आफ्नो ६८ वर्षे यात्रा पूरा गरिसकेको छ। नेपाल उद्योग वाणिज्य महासंघको संस्थापकमध्ये बुटवल उद्योग वाणिज्य संघ पनि एक हो ।
तत्कालिन बुटवल व्यापार संघ अर्थात् अहिलेको बुटवल उद्योग वाणिज्य संघ यस क्षेत्रको पूरानो व्यवसायिक संस्था हो। केही दशकअघिसम्म यो एउटा मात्र व्यवसायिक संस्था थियो। अहिले बुटवलमा दर्जनौ व्यवासायिक संस्था खुलेका छन्। बुटवल व्यपार संघ नाम भएकै बेलामा उद्योगी र व्यापारीको विवादका कारण रुपन्देही उद्योग संघ नामको अर्को संस्था खुल्यो।
पछि बुटवल व्यापार संघबाट बुटवल उद्योग बाणिज्य संघ भयो। अलि पछि उद्योग वाणिज्य संघबाट केही कम्युनिष्ट निकट व्यापारीहरु अलगिएर रुपन्देही व्यापार संघ गठन गरे। यो बाहेक पछि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन नामक अर्को संगठन पनि खुल्यो।रुपन्देहीमा होटल, यातायात, किराना लगायत विभिन्न क्षेत्रका व्यवसायीहरुपनि आफुमा संगठित भएका छन्। बुटवलका छिमेकी नगर देवदह, सैनामैना, तिलोत्तमा नगरपालिका भएपछि उद्योग वाणिज्य संघ गठन भएका छन्।
सोमबार बुटवल उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ सौं अधिवेशन सुरु भएको छ। अधिवेसनले संघको आगामी नेतृत्व चुन्ने छ । संघको अध्यक्षको लागि हालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु र वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल अघि सरेका छन्। १३ गते हुने मतदानले संघले आगामी कार्यकालको लागि नयाँ नेतृत्व पाउने छ।