गुल्मी । रेसुङ्गा बिमानस्थल शिलन्यास भएका डेढ दशक भइसकेको छ । दुई बर्षअघिबाट धुले उडान हुन थाल्यो । तर, नियमित उडान अझै भएको छैन । किनकी नियमित उडानको निम्ती आवश्यक भौतिक संरचनाको काम पुरै भएका छैनन् ।
अहिले आएर बिमानस्थलको अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । बिमान स्थलको महत्वपूर्ण संरचना टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम तिव्र्र रुपमा अगाडी बढेको छ । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्यन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभाग मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण सम्झौता गरेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड पाँच लाख २९ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको छ । ०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज मसान्त काम सम्पन्न गर्नुपर्ने छ । निर्माण कम्पनीले अहिले टर्मिनल भवनको पहिलो तल्ला ढलान गर्ने तयारीमा रहेको छ ।
त्यस्तै अर्को महत्वपूर्ण संरचना धावन मार्ग कालोपत्रे गर्ने काम सुरु भएको छ । धावन मार्ग पाँच सय २० लम्बाई र २० मिटर चौडाईको छ । रौताह हरिहरी जेभीले अहिले धावन मार्ग कालेपत्रेको लागि सव बेस बिछ्याउने काम गरिरहेको छ । अझै बेस र कालोपत्रे गरेर दुई चरणको काम बाँकी रहेको छ । रौताह हरिहरी जेभीले धावन मार्ग कालोपत्रेको लागि ०७६ सालमा सात करोड २५ लाखमा निर्माण सम्झौता गरेको थियो । उसले गत कार्तिकसम्म काम सक्नुपर्ने थियो । तर, कोभिड, निर्माण सामग्री र निर्माण व्यावासायी आफैको ढिला सुस्तीका कारण समयमै काम गर्न सकेन् । अहिले पुन: साढे सात महिना ठेक्का म्याद पाएकाले काम धमाधम भएको छ । अब धावन मार्गसहितका सवै काम तोकिएकै समयमा सम्पन्न हुनेमा आयोजना कार्यालयको विश्वस्त रहेको आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले बताए । ‘महत्वपूर्ण काम मध्येकै तारजाली सकियो धावनमार्ग, टर्मिनल र कन्ट्रोल टावरको काम निरन्तर भएका छन्,’उनले भने,‘ बिचमा केहि समस्या भएपनि अहिले काममा कुनै समस्या छैन् ।’
एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको बिमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको छ । जग्गा अधिकरणदेखि कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावन मार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्म करिव ३५ करोड खर्च हुने छ । बिमान स्थल निर्माणको अर्को महत्वपूर्ण घेराबारको काम सकिएको छ । मौसम हरिस निर्माण सेवा डोल्पाले ०७६ पुस १६ मा ९१ लाख घेराबारको काम सम्झौता अवधिकै सम्पन्न गरेको छ । पछिल्लो समय ज्ञवालीले पनि बिमानस्थल निर्माणमा बिशेष चासो दिएका छन् । भने काम रेसुंगा नगरपालिकाकाले पनि निरन्तर चासो र अनुगमन गरिरहेको छ । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आफ्नो कार्यकालभित्रै नियमित उडान हुने विश्वास व्यक्त गरे ।
रेसुंगा बिमान स्थलमा ०७५ जेठ २५ गते तारा एयरको बिमानले कच्ची उडान गरेको गरिसेको छ । यो बिमान स्थल गुल्मेली मात्र नभएर अर्घाखाँची, प्युठान र बाग्लुङका नागरिकको भाग्य र भविष्य हो । त्यसैले शिलन्यास गरेको डेढ दशक पछि भएपनि नियमित उडानको प्रतिक्षामा आम नागरिक छन् । विभिन्न कारणले अलपत्र बिमान स्थलको कामले पछिल्लो समय गति लिएको देखेर नागरिकमा पलाएको नयाँ आशा र खुसी मर्न नदिन सवै पक्ष बिशेष ध्यान दिनु जरुरी छ । स्थानीय तथा रेसुंगा नगरपालिका १० का वडाध्यक्ष पदम अर्यालले रेसुंगा बिमानस्थलबाट देशका विभिन्न ठाउँमा जहाज चढेर पुग्ने गुल्मेलीको चाहाना केहि समयमा पुरा हुने बताए । उनले आफुहरुले पनि छिटो र गुणस्तरीय काम गराउन निरन्तर चासो दिइरहेका प्रतिक्रिया दिए ।
डेढ दशकदेखिको जहाज चढ्ने गुल्मेलीको सपना अझै पुरा भएको छैन् । रेसुङ्गा विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदिप कुमार ज्ञवालीले शिलन्यास गरेका थिए । जग्गा अधिकरण र बजेटको अभावले करिव सात÷आठ बर्ष बिमानस्थल निर्माणले गति लिएन् । ०७२ सालबाट बिमानस्थल निर्माणको काम नियमित भइरहेको छ । जसका कारण आफुहरुमा नयाँ आशा पलाएको स्थानीय हरि घिमिरेले बताए ।