कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु बचत तथा सहकारीका प्रबन्धक अविनाश पाण्डेय सहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने गरी जिल्ला कारागार चलान गर्न अदालतले आदेश दिएको छ ।
सहकारीको १२ करोड ठगी मुद्धामा कपिलवस्तु जिल्ला अदालतले सहकारीका प्रबन्धक अविनाश पाण्डेय, शेयर सदस्यबाट रकम संकलन गर्ने राजेश कान्दू, कर्मचारी श्रवण कुमार तेली र राकेश कुमार ठाकूर न्यायाधीश कपिलमणि गौतमको एकल इजलाशले उक्त आदेश दिएको हो ।
ठगी मुद्धामा प्रहरीले ५३ जनालाई अनुसन्धान गर्न वाण्टेड सूचीमा राखेर कारबाही अघि बढाएको छ ।
अनुसन्धानमा समाजसेवी, अधिकारकर्मी, निर्माण व्यवसायी, कर्मचारी, गैर सरकारी संस्थाका सञ्चालक, व्यापारी, शिक्षक, चार्टड एकाउण्टेन्ड सहित ५३ जनालाई प्रहरीले अनुसन्धानमा राखेको छ ।
संस्था रकम हिनामिना आरोपमा प्रहरीले मुद्धा दायर गरेको थियो । आईतबार कपिलवस्तु प्रहरीले जिल्ला अदालतमा ५३ जना विरुद्ध ठगी तथा संगठित अपराध मुद्धा दर्ता गरेको थियो ।
सहकारीका सदस्य मन्दिप सिंहको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा ११ करोड ९९ लाख ५३ हजार ८ सय २६ रुपैया ठगी भएको ठहर गर्दै ५३ जनाको संलग्नता भएको प्रतिवेदन र प्रमाण सहित जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
जिल्ला अदालतका श्रेस्तेदार चिन्तामणी शर्माका अनुसार प्रहरीले उनीहरु विरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ३२ अन्र्तगत सहकारीको रकम अपचलन गरि ठगी गरेको तथा संगठित अपराध गरेको मुद्धा दर्ता भएको छ ।