भैरहवा । कोरोना माहमारीले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन विस्तारै उकासिंदै छ । कोरोना भाइरस संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक बढ्दै गइरहेका छन् ।
लुम्बिनी विकास कोषले गत वर्ष चैत्र महिनाबाट बन्द गरेको मन्दिर ४ महिना अघि मंसिर ३ गते मात्र सरकारको निर्णय पछि पुनः पर्यटकहरुका लागि खोलिएको थियो । खुला गरेपछिका ४ महिना अर्थात चैत्र ७ गतेसम्ममा लुम्बिनीमा २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् ।
विकास कोषका अनुसार स्थलमार्ग हुँदै आउने विदेशी पर्यटकको संख्या अहिले शून्य छ । आन्तरिक पर्यटकले मात्रै लुम्बिनी दर्शन गरिरहेको लुम्बिनी बिकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।
काठमाण्डौंमा रहेका विभिन्न देशका राजदूत तथा अन्य कुटनीतिक नियोगका बिदेशी व्यक्तीहरु आएको भएपनि विदेशी पर्यटकहरु आएका छैनन् ।
कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावतसमेत नरहेको हुँदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउँन सकेका छैनन् । नेपाली पर्यटकहरु भने आउने क्रम बिस्तारै बढेको छ । चैत्र ६ गते मात्रै शनिवार एकै दिन ७ हजार ६ सय २ जना पर्यटक लुम्बिनी भ्रमणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत राईले भने । प्रतिदिन औसतमा १हजार बढी पर्यटक लुम्बिनी पुग्ने गरेको विकास कोषको तथ्याङकले देखाउँछ ।
मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलबस्तुका सर्बसाधारणलाई परिचयपत्रका आधारमा प्रबेश निशुल्क छ, भने अन्य जिल्लाका लागि प्रबेश शुल्क लाग्छ, यही प्रबेशका आधारमा पर्यटक आगमन गणना हुने गरेको छ, लुम्बिनी भ्रमणमा आउने प्राय सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् । पर्यटकको समयावधि बढाउन नसकेको लुम्बिनीले पछिल्लो समय आएको आन्तरिक पर्यटकलाई पनि टिकाउन सकेका छैनन् ।
‘अहिले लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बृद्धी भएको छ । लुम्बिनी वरीपरीका पर्यटक बढी आएका छन्, जो एकै दिनमा फर्कन्छन र केही मात्र बास बस्ने गरेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुन मान श्रेष्ठले बताए । पोखरा, काठमाण्डौ, धरान, झापा, ईलाम, मोरंग, तेह्रथुम, पाचथर, नेपालगन्ज, दांग, महेन्द्रनगर,सर्खेत, धनगढी,जुम्ला लगायतकाम स्थानबाट समेत पर्यटकहरु बास बस्ने गरेर आएका छन्, कोरोनाले ध्वस्त पर्यटन क्षेत्र बिस्तारै अघि बढला भन्नेमा हामी बिश्वस्त छौ, अध्यक्ष श्रेष्ठले भने ।
होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरु बैशाख महिना देखि लागुहुने गरी ल्याउने तयारी भैरहेको समेत श्रेष्ठले बताए । आन्तरिक पर्यटकले मात्रै पर्यटन व्यबसाय अघि बढन नसक्ने भएकाले कम्तिमा भारतिय पर्यटकहरु सहज रुपमा आउन मिल्ने वातावरण भए पर्यटक थप हुने उनको भनाई थियो ।