काठमाडौँ : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन् ।
मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गरे । कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी भएको र जनावरलाई आहाराका लागि रकम अभाव भएका कारण मन्त्री आलेले रकम प्रदान गरेको उनका निजी सचिव रविन ग्यालनले जानकारी दिए ।
चिडियाखानामा रहेका जनावरका लागि आहारामा समस्या भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २५ औँ वर्षका अवसरमा जनावरको आहारा र व्यवस्थापनका लागि ‘एडप्ट एनिमल’ भन्ने अभियानसमेत शुरुवात गरेको थियो ।
उक्त अभियानलाई साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिँगे गैँडाका लागि एक महिनाको आहाराका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले भने, “कोरोनाले चिडियाखाना बन्द भएपछि जनावरको आहारा व्यवस्थापनका लागि समस्या भयो, प्रधानमन्त्री सहित २१ जनाले आहारा व्यवस्थापनका लागि आर्थिक सहयोग दिने प्रतिबद्धता जनाएका छन् , रकम आउने क्रम जारी छ,
आहाराका लागि अब केही सहज हुने छ ।”वनमन्त्री आलेले चिडियाखानामा रहेका जनावरको आहारा तथा व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे ।
सो रकमले हात्तीका लागि एक महिनाको खाना व्यवस्थापनमा निकै सहज हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीले बताए । रासस