काठमाडौ । बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएको छ।
नेपाल ह्याचरी उद्योग संघको कार्टेलिङले गर्दा बजारमा कुखुरा अभाव भएकाले मासुको मूल्यमा ८३ प्रतिशतसम्म वृद्धि भएको छ।
मासु पसल सञ्चालकका अनुसार अहिले कुखुराको मासुको मूल्य प्रतिकेजी सयदेखि ४ सय ४० रुपैयाँसम्म कारोबार भएको छ। तिहारपछि कुखुराको मासुको मूल्य घटेर प्रतिकेजी २ सय ४० रुपैयाँसम्म झरेको थियो।
बजारमा कुखुराको मूल्य वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संघलाई मूल्य वृद्धिको कारण सोध्दै पत्राचारसमेत गरेको छ।
संघले चल्ला उत्पादनमा बन्द गरेपछि मासुको मूल्य क्रमशः बढ्न थालेको थियो। पुस महिनामा संघले झन्डै २० दिनसम्म चल्ला उत्पादन बन्द गरेको थियो। औपचारिक रूपमै घोषणा नै गरेर १० चल्ला उत्पादन बन्द गर्ने भनेको संघले झन्डै २० दिन चल्ला उत्पादनको काम नगरेको मासु पसल व्यवसायीहरू बताउँछन्।
संघले मंसिर २९ देखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन बन्द गर्ने निर्णय गरेको थियो। चल्ला उत्पादनमा नाफा नपाएको भन्दै संघले पुसमा चल्ला उत्पादन बन्द गर्नेदेखि बजारमा पठाउन तयार पारिएका चल्ला र अन्डा खाल्डोमा पुरिएको थियो।
चल्ला उत्पादनमा लागत पनि नउठेपछि उत्पादन नै बन्द गर्नु परेको दाबी संघले गरेको थियो। संघले कुनै पनि ह्याचरीमा चल्ला उत्पादन नगर्ने, चल्ला उत्पादनका लागि तयार पारिएका अन्डा नष्ट गर्ने निर्णय गरेको थियो।
संस्थागत रूपमै उपभोक्ताको हितविपरीत कार्टेलिङ गरेपछि त्यसको असर बजारमा परेको छ। संघको कार्टेलिङ गर्ने उद्देश्यले गरिएका उक्त निर्णयले अहिले कुखुराको मासुको मूल्य बढ्दै गएको छ।
बजारमा कुखुराको मूल्य बढेपछि विभागले गत शुक्रबार संघ, अन्डा व्यवसायीलगायत अन्य सरोकारवालालाई मूल्य वृद्धिको कारणबारे स्पष्टीकरण सोध्दै पत्राचारसमेत गरेको छ।
‘हामीले बजारमा मासुको मूल्य वृद्धि हुन थालेपछि किन बढेको भनेर पत्राचार गरेर सोधेका छौं,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘भोलि (मंगलबार) सम्मको समयावधि दिएका छौं।’