बुटवल– पूर्व पश्चिम रेलमार्गको काम आगामी आर्थिक वर्षबाट थाल्ने तयारी भएको छ। रेलवे विभागले आगामी आर्थिक वर्षबाट रेलमार्ग निर्माणको काम अघि बढाउने गरी तयारी गरेको हो।
पहिलो चरणमा रेलवे विभागले बुटवल–काँकडभित्ता खण्डको काम अघि बढाउने तयारी गरेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले बताए।
‘लगानी जुटेमा पहिलो चरणमा काँकडभित्ता-बुटवल खण्डमा काम सुरु गरौं भन्ने हाम्रो प्रस्ताव छ।’
विभागका महानिर्देशक मिश्रले भने–‘बुटवल सम्म जनघनत्व बढी भएको ठाउँ हो। बुटवलबाट पश्चिम सवारीको चाप कम छ । त्यसैले त्यहाँ अर्को चरणमा सुरु गर्दा हुन्छ।’ लगानी जुट्यो भने अर्को आर्थिक वर्ष सुरु भएसँगै काम अघि बढ्ने मिश्रले बताए।
बुटवलमा पौने ३ किलो मिटरको आकाशे पुल
पूर्व पश्चिम रेलमार्गको लागि बुटवलमा आकाशे पुल बन्ने भएको छ। जमिनबाट रेल लैजादा बस्ती क्षेत्रमा ठूलो क्षति हुने भन्दै बुटवल कालिकानगरका स्थानियले विरोध गरेपछि डिजाइन परिवर्तन गरी आकासे पुल सहितको डिपिआर तयार गरिएको हो।
विगतमा कालिकानगरका स्थानियले रेल मार्ग बनाउन नदिने भन्दै संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका थिए।
आन्दोलन गरेपछि बुटवलबाट केही दक्षिण मणीग्राम आसपासबाट रेल लैजाने गरी अध्ययन थाल्ने चर्चा पनि चल्यो। त्यता पनि विरोध सुरु भयो।
अर्को तर्फ पूर्व पश्चिम राजमार्गबाट रेलमार्ग नजिक नजिक हुनुपर्ने र धेरै पर पुराउन नहुने सुझाब पनि विज्ञहरुबाट आयो। आकाशे पुल बनाएर भएपनि कालिकानगर क्षेत्रबाटै रेल लैजाने गरी डिपिआर बन्यो।
रेल सञ्चालनको बुटवल क्षेत्रमा पौने ३ किलोमिटरको आकाशे पुल बन्ने रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले बताए। ‘बजार सुरु नहुँदै देखि फ्लाई ओभर सुरु भएर तिनाउ खोला पार गरेपछि मात्र जमिनमा आउँछ’–उनले भने–‘बजार क्षेत्रमा थोरै क्षति पुगोस् भनेर यसो गरिएको हो।’
आकाशे पुलबाट रेल लैजादा जमिनमा भन्दा ३ गुना बढी खर्च लाग्छ। बस्ती जोगाउनको लागि आकाशे पुल र सुरुङबाट लैजाने विकल्प थियो। जमिनमुनिबाट लैजादा ५ गुना बढी खर्च लाग्ने देखिएपछि आकाशेपुलको विकल्प रोजिएको हो।
रेलमार्गको लागि यस क्षेत्रको डिपिआर सकिएपनि पूर्वतिर तम्सरिया निजगढ क्षेत्रमा राष्ट्रिय निकुञ्जका कारण पुनः अध्ययनको काम भइरहेको छ।
सबै अध्ययन सकेपछि पूर्व पश्चिम एकैपटक निर्माणका काम सुरु हुने महानिर्देशक मिश्रको भनाइ छ।
अध्ययन सकेपछि पनि लगानी सुनिश्चितता आवश्यक हुने उनले बताए। ‘स्रोत सुनिश्चितता नभई रेल आधाउधी बनाएर चल्दैन। सडकको जस्तो पहिले ट्र्याक खोल्दै गरौं, सवारी चल्दै गर्छ। त्यसपछि ग्राभेल र पिच गरौला भन्ने यस्तो आयोजनामा हुँदैन’–मिश्रले भने–‘आयोजना पूरा हुने गरी नै निर्माण थाल्नुपर्छ। यो ठूलो लगानीको आयोजना हो। सरकारले दाता खोज्दै छ।’