गुल्मी–गुल्मीमा वर्षौदेखि करोडौका पुल अलपत्र छन्। बडिघाट खोलाको उल्लीखोला पुल सम्झौता भएको सात वर्षसम्म बनेन। तीन वर्षदेखि कुनै काम भएको छैन। यो पुलको लागत पाँच करोड ४५ लाख हो।
पुल २६ असार ०७० सालमा लुम्बिनी–शान्ति जेभीले निर्माणको जिम्मा पायो। सम्झौता अनुसार पुल २६ पुस ०७३ सालमा सक्नुपथ्र्यो। समयमै एक तिहाई काम पनि भएन। पुन ६ महिना म्याद थप भयो। तर बिडम्बना म्याद थप भएपछि अहिलेसम्म काम नै भएन। ठुलो बडिघाट खोला। बर्खे भेल बढे चार स्थानीय तहका सवारी साधन वारपार गर्दैनन्। यो पुल बने रुरु क्षेत्र र छत्रकोट तथा सत्यवति र चन्द्रकोट गाउँपालिकाका स्थानीयलाई यातयात संचालन तथा अन्य आवातजावतमा सुविधा पुग्ने छ।
आयोजना कार्यालय र ठेकेदारको जुहारी
लुम्विनी शान्ति जेभि काठमाडौका प्रतिनिधि विनोद महर्जन पुल अलपत्र पारेर राजधानी बसेका छन्। उनले आफ्नो कामलाईभन्दा प्रक्रियालाई दोष दिदै आएका छन्। काम गर्दै जाँदा क्विक साइड कन्डिशन देखिएपछि समस्या आएको महर्जनको तर्क छ। त्यो समस्या देखाएर स्टिमेट परिवर्तन गर्ने दाउमा उनी छन्। मदन भण्डारी कार्यालय त्यो बिषयमा सकरात्मक छैन्। मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर सरद आचार्यले निर्माण कम्पनीले उम्कने बखेडा मात्रै झिकेको बताए। उनले लुम्बिनी शान्ति जेभि काठमाडौको बैंक ग्यरोन्टी तान्ने र काम गर्न अन्तिम पटक पत्राचार गरिएको बताए।
निरिक्षण र निर्देशन मात्रै
अलपत्र उल्लीखोलासंगै बडिघाटका खोलामा थुप्रै पुलको मन्त्रीदेखि विभिन्न निकायहरुले पटक–पटक अनुगमन गरे। निर्वाचन क्षेत्र नं १ अन्तरगत बडिघाट खोलामा करिव एक दर्जन पुल निर्माण भइरहेका छन्। दुई महिना अघि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले निर्माणाधिन केहि पुलको निरिक्षण समेत गरे। उनले निर्माण कम्पनीहरुलाई समयमै काम सम्पन्न गर्न र योजना निर्माणमा आलटाल गर्ने कम्पनीको ठक्का रद्ध गर्न योजना कार्यान्वयन गर्ने कार्यालयलाई समेत निर्देशन दिए। निर्देशन निर्देशनमै बित्यो। तर बर्षौ निर्माण कम्पनी लुम्विनी शान्ति जेभिले अझै कामको कुनै छनक देखाएको छैन्।
स्थानीयले आश मारे
पुल बर्षौसम्म अलपत्र भएपछि स्थानीय समेत निराश छन्। लामो समयदेखि पुल बन्ने कुनै छाँटकाँट नदेखिएकाले आफ्नो उमेरमै पुलबाट गाडी कुद्ने संभावना नरहेको स्थानीय लक्ष्मी थापाले बताइन्। आफुले खर्च गरेका सामान समेत माया मारेर ठेकेदार बेपत्ता भएकाले पुल बन्ने आश हराएको थापाले बताइन्।
पुल बन्नेमा स्थानीय सरकार समेत आशावादी छैन। सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले मन्त्री ज्ञवाली, पुर्व मुख्य सचीव लालमणी पौडेलले र अरु नेताहरुलाई समेत वास्था नगरेकाले काम अगाडी बढ्नेमा आफुलाई शंका लागेको बताए। ‘केन्द्रिय योजनासंग आफुहरुले केहि गर्न नसकिने भएकाले अलपत्र पुल बर्षौ हेरेरै बसेका छौ,’ढकालले भने,‘यो कम्पनीलाई कारबाही गरेर अर्कोले काम गर्नुपर्छ।’
काम थाल्दै आँखामा छारो हाल्दै
गुल्मीको रिडी र स्याङ्गजाको चण्डीभञ्ज्याङ्ग जोड्ने पक्की पुल २५ असार ०६९ साल सम्झौता भएको हो। कुल दुई करोड २९ लाख २० हजार रुपैयाँको पुल २४ असार ०७२ सकिनुपर्ने सम्झौतामा उल्लेख छ। तर सात वर्षसम्म काम भएन्। पहिले सामान्य पिल्लर राखेर मात्रै छाड्यो। अहिले फाउण्डेशन निर्माण गरिएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ। पुल निर्माणको जिम्मा पाएको स्वच्छनन्द निर्माण सेवा कम्पनी पनि काम नगर्ने दाउमै थियो। तर चौतर्फी दवावपछि अहिले काम थालेको हो। दवाव आए केहि काम गर्ने नत्र आलटाल गर्ने प्रवृतिले मन्त्री, आयोजना कार्यालयदेखि स्थानीय आजित भएका छन्। अहिलेकै रफतारमा काम नगरे एक वर्षमा पुल सम्पन्न नहुने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर सरद पोख्रेलले बताए।
केही पुलमा पुनः आशा पलाउँदै
अलपत्र बडिगाड खोलाकै हुँगा–सिस्ने जोड्ने पुलको कामले भने नयाँ आशा जगाएको छ। यो पुलको कामले पनि समयमै गति लिएन। रसुवा अलाइट जेभीले अहिले पुलको नयाँ काम थालेको छ। पटक–पटकको ताकेतापछि म्याद थप गर्दै काम गरिरहेको छ। एसबिएन निर्माण सेवा कम्पनी काठमाडौले ३१ असार ०७१ सालमा काम गर्ने सम्झौता गरेको थियो। सम्झौतामा ३० माघ ०७३ साल भित्र काम गर्ने उल्लेख छ। काम नभएपछि ३१ साउन ०७४ मा पुन म्याद थप भयो। तर काम अघि बढेको थिएन्। अहिले नयाँ निर्माण कम्पनी मार्फत काम भएको छ। छ करोड १० लाख ६६ हजार लागतको पुलको काम यो आर्थिक वर्षसम्म सम्पन्न हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर सरद आचार्यले बताए। सोहि कम्पनीले बडिघाट खोलामै चोरकाटेमा पक्की पुलको काम अगाडी बढाएको छ। सम्झौता अनुसार ३१ पुस २०७४ सालमा काम सम्पन्न गर्नुपर्ने हो। तर पुन ३० कार्तिक ०७५ सालमा म्याद थप भएपनि कामले गति लिएको थिएन। १४ करोड एक करोड ४० लाख ४८ रुपैयाँको पुलको काम अहिले दु्रत गतिमा अगाडी बढेको छ। यो वर्ष पुल निर्माणको काम सकिने रसुवा अलाइट जेभीका प्रतिनिधी सुरेन्द्र लम्सालले बताए।
५ आयोजना प्रमुख फेरिए पुल बनेनन्
जिल्लाका केहि पुल पाँच कार्यालय प्रमुख फेरिदा समेत बनेका छैनन्। रिडी–चण्डीभञ्ज्याङ्ग, चोरकाटे, उल्लीखोला, हुँदा–सिस्ने लगायतका पुलको सम्झौतापछि सुरुदेखि मुकुन्द प्रसाद अधिकारी, बाबुराम सापकोटा, सुजन अधिकारी, राकेश महर्जन र सन्तोष कुमार कर्ण गरि पाँच कार्यालय प्रमुख फेरिए। तर काम काम सम्पन्न भएनन्। गुल्मीमा २०६९ सालदेखि २०७६ सालसम्म सम्झौता भएका १७ पक्की पुलहरु छन्।
समयमै काम गर्ने निकै कम छन्। केहि पुल सडक डिभिजन कार्यालय पाल्पाबाट समेत ठेक्का भएका थिए। आर्थिक वर्ष ०७१÷०७२ मा तम्घास–सिमलटारी सडक आयोजना तम्घासमा स्थापना भयो। ०७५ सालबाट मदन भण्डारी राजमार्ग आयोजना कार्यालय मार्फत पुलको काम भइरहेको छ। १७ पुल मध्ये उल्लीखोलाको पुलको सवै काम रोकिएको छ।