बुटवल। रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक ताल महोत्सव आयोजना हुने भएको छ। यो ताल रुपन्देहीको सबैभन्दा ठूलो ताल हो। ८४ बिघा क्षेत्रफलमा फैलिएको तालको ५० बिघा जलाशय क्षेत्र छ । लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षको अवसर पारेर गैडहवा गाउँपालिकाको आयोजनामा आगामी फागुन १ गतेदेखि ताल महोत्सव आयोजना गर्न लागिएको हो।
बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई गैडहवा ताल क्षेत्रमा आकर्षित गर्न फागुन १ गतेदेखि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए। लुम्बिनीबाट १२ किलोमिटर दुरीमा रहेको गैडहवा ताल सिमसार क्षेत्रमा सूचीकृत ताल हो। ताल महोत्सवमा पर्यटन, कृषि र स्थानीय उत्पादनका एक सय बढी स्टल रहने अध्यक्ष केवटले बताए। महोत्सवमार्फत तालको प्रचार प्रसार र सिमसार क्षेत्रको संरक्षणका लागि संरक्षणको लागि गाउँपालिकाले यो वर्ष ३० लाख बजेट विनियोजन गरेको अध्यक्ष केवटले बताए।
महोत्सवमा एक लाख दर्शकलाई अवलोकन गराउने र एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य छ। महोत्सवमा आउने दर्शकलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकार कलाकारको प्रस्तुति र बाल उद्यान समेत रहने प्रचार प्रसार संयोजक भरत रानाले बताए। पर्यटन मन्त्रालयले गरेको अध्ययन अनुसार तालमा दुईसय प्रजातिका चराचुरुङ्गी, घस्रने २० प्रजातिका जनावर र नेपालका अन्य ठाउँमा नपाइने ‘इन्डियन आइटटल’ पनि तालमा पाइन्छन् । ताललाई प्रदेशकै नमूना जल पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित एक अर्ब १७ करोड लागतको गुरुयोजना बनाइएको अध्यक्ष केवटले बताए।
गुरुयोजनाअनुसार उक्त ताल क्षेत्रमा व्यवस्थित पाकिङ, स्वागतद्वार, फुटपाथ, मोनोरेल, २ वटा पुल, एउटा झोलुंगे पुल, एउटा स्विमिङ पुल, ताल व्यवस्थापन समितिको कार्यालय र कफ्रेन्स हल जस्ता भौतिक संरचना बनाउने प्रचारप्रसार उपसमिति सहसंयोजक सन्दीप गुप्ताले बताए।
तीनतिरबाट जंगलले घेरेको तालको उत्तरपट्टि जटायु रेस्टुराँ छ । त्यसमा हिमाली गिद्ध, सुन, राज, सानो खैरो, खैरो, गोब्रे लगायत लोपोन्मुख गिद्ध संरक्षण गरिएको छ । ताल आसपासका चौधरी र मगर बस्तीमा होमस्टे सञ्चालन गर्ने तयारी पनि छ। तालमा साइबेरियाली चरा, सारस र बकुल्ला लगायत प्रजातिका चराहरुको बासस्थान छ। गैडहवा तालको उचित व्यवस्थापन नुहँदा विभिन्न क्षेत्रबाट अतिक्रमण समेत भइरहेको छ। सामुदायिक बनले ताल क्षेत्रको ७ सय ३७ दशमलव ४ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । यसैगरी ५९ दशमलवब २ हेक्टरमा घाँसे मैदान छ। ३ हजार ४ सय ५४ दशमलव ५ हेक्टर क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएका छन्। ९८ दशमलव ५ हेक्टर क्षेत्रफलमा घर बनाइएको छ।