बुटवल। बुटवल रामनगरको बुटवल मण्डपमा यसक्षेत्रको मुहार फेर्नेगरी राष्ट्रिय गौरवका महत्वपूर्ण संरचनाहरु धमाधम निर्माण भइरहेका छन्।
बुटवल–१०, रामनगर क्षेत्रको करिब १६ विघा जमिनमा बनिरहेका बुटवल सभाहल र बुटवल प्रर्दशनी केन्द्र अन्तर्राष्ट्रिय स्तरका आधुनिक संरचना हुन्।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हालको बानेश्वरमा रहेको (संसद भवन चलिरहेको) वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भन्दा ठूलो हुने छ। दुई, तीन चरणमा विभाजन गरेर यसको निर्माण भइरहेको छ। जसअन्तर्गत् पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ।
यस क्षेत्रको ड्रिम प्रोजेक्टका रुपमा सम्मेलन केन्द्र बनिरहेको रुपन्देहीका सांसद् तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल बताउँछन्।
यो बुटवल सभाहल निर्माणका लागि पाँच वर्ष अघि ०७१ माघ १५ गते रबिना/समानान्तर/सूर्यचन्द्र जेभी काठमाडौंले कार्यादेश पाएको थियो। शहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको बृहत गुरुयोजना अनुरुपको काम भइरहेको आयोजनाका कार्यालय प्रमुख शिखर लामाले जानकारी दिए।
ठेक्का सम्झौता भएको लामो समयसम्म निर्माणस्थलमा रहेका रुखहरू हटाउने विषयमा वन मन्त्रालयले स्वीकृत नदिँदा निर्माणको काम अघि बढ्न सकेको थिएन। अहिले कानुनी जटिलतासमेत सबै समाधान भएर निर्माणका कामहरु धमाधम भइरहेका छन्।
कुल २३ करोड ७६ लाख ७१ हजार बराबरमा टेण्डर स्वीकृती भएको यो पहिलो चरणको काम म्याद थप गरेर अब आउँदो वर्षको असार १८ गतेसम्म पहिलो चरणको निर्माणकार्य सक्नुपर्ने छ।
करिब १६ विगाह क्षेत्रफलमा निर्माण भइरहेको सम्मेलन केन्द्रको हाल ब्लक ‘ए’ ‘बी’ र ‘सी’ को संरचना निर्माणका काम सम्पन्न भएर साजसज्जा तथा छाना लगाउनेलगायतका काम भइरहेका छन्।
हालसम्म झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ। माथिबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिने सम्मेलन केन्द्रमा दुईतले व्यावसायिक भवन, चारवटा प्रवेशद्वार, एक हजार क्षमताको खुलामञ्च, सूचना प्रविधि, हरियालीका लागि आकर्षक बगैँचालगायत रहने छन्।
यी संरचनालाई बुटवलमा निर्माण भएपनि समग्र मुलुककै गहनाका रुपमा लिनुपर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन्।
‘बुद्धवलीको बुटवल, आदिमानव रामापिथेकशले विचरण गरेको बुटवल, भर्तृहरि ऋषिको तपस्या स्थल, नेपालको राष्ट्रिय स्वाभिमान उचो बनाएको जितगढी किल्लाको बुटवल, रेशम मार्गको ऐतिहासिक नुवाकोट गढी र सेनकालीन राज्यको महत्वपूर्ण स्थल नै बुटवल हो’–प्रमुख सुवेदीको भनाइ छ।
कस्ता संरचना बनिरहेका छन् पहिलो चरणमा ?
पहिलो चरणमा निर्माण भइरहेको बुटवल सभाहल बेसमेनसहित चार तलाको हुने छ। बेसमेनमा करिब सात सय सिटको सभाहल, ५० सिटको बैठक कक्ष, भीआईपी च्याम्बर, बिजनेश सेन्टर, इन्टरनेट कक्ष, सुरक्षा कक्ष, मायाको चिनो विक्री स्थल तीन वटा र शौचालय रहने छन्।
यस्तै पहिलो तलामा ५० सिट क्षमताका दुईवटा लेक्चर हल, रजिस्ट्रेसन कक्ष र शौचालय रहने छन्।
यसैगरी दोस्रो तलामा चार सय ३० सिट क्षमताको बाल्कोनी र शौचालयहरु निर्माण भइरहेका छन्।
तेस्रो तलामा जीएम (जेनरल मेनेजर) को कार्यकक्ष, प्रशासनिक कक्ष, लेखा कक्ष, ८० सिट क्षमताको ब्रिफिङ कक्ष तथा चारवटा प्रशारण कक्ष र शौचालयहरु रहनेगरी धमाधम निर्माण कार्य भइरहेको छ।
यी सबैको संरचना खडा भइसकेर अहिले साजसज्जाको काम चलिरहेको छ। यहाँ दैनिक एक सय ५० जति कामदार खटिएका छन्। उनीहरुले भवन निर्माण, रंगरोगन, मार्वल टायल जडानदेखि इलेक्ट्रिकलका कामहरु गरिरहेका छन्।
दोस्रो चरणको काम पनि सुरु
बुटवल सभाहल (सम्मेलन केन्द्र) लाई दुई चरणमा विभाजन गरेर काम सुरु भएको थियो।
सोही अनुरुप पहिलो चरणको काम लगभग ८० प्रतिशत पूरा भइसकेको छ भने अर्को चरणको काम पनि लगभग २५ प्रतिशत पूरा भइसकेको छ। दोस्रो चरणको कामका लागि जेडसीजीआइइसी/आशिष जेभी काठमाडौं नामको निर्माण कम्पनीले ०७४ असार २३ गते कार्यादेश पाएको थियो।
काम सुरु भएको तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८० करोड ३१ लाख ७० हजार एक सय ८८ रुपैयाँमा टेण्डर स्वीकृती भएको थियो। दास्रो चरण अन्तर्गत हाल साउथ ब्लकको ग्राउण्ड फ्लोरको स्ल्याब र ट्रस, नर्थ ब्लकको ग्राउण्ड फ्लोरको छत ढलान, सर्भिस ब्लकमा प्लिन्थ लेभलको कोलुम, स्टाफ क्वाटरमा फाउण्डेशनको काम भइरहेको छ।
के–के बन्दैछन् दोस्रो चरणमा ?
बुटवल सभाहलको दोस्रो चरणमा उत्तरी र दक्षिणी ब्लक गरी बेसमेनसहित थप दुई तलाको हुने छ। ग्राउण्ड फ्लोरमा एक सय २६ सिट क्षमताको मिटिङ हल, ७३ सिट क्षमताका अलग अलग डिजाइनका पाँचवटा मिटिङ हल र प्राथमिक उपचार कक्ष निर्माण हुने छन्।
त्यस्तै पहिलो तलामा ६२ सिट क्षमताको मिटिङ हल, एक सय २६ सिट क्षमताका दुईवटा आकर्षक मिटिङ हल र ४२ सिट क्षमताका तीनवटा मिटिङ हल निर्माण हुने छन्।
दक्षिणी ब्लकलाई प्रदर्शनी स्थलका रुपमा निर्माण गरिने छ। यो ब्लकको ग्राउण्ड फ्लोरमा मात्रै तीनवटा प्रदर्शनी हल र प्रिफङ्सन कक्ष निर्माणका काम सुरु भएका छन्। सभाहलको बाहिर सयौं सवारी साधन अट्ने गरी पार्किङ, जलधारासहितको हरियाली बगैंचासमेत निर्माण हुनेछन्।