भैरहवा– बुटवल र भैरहवाको केन्द्र भलवारीमा पाँचतारे होटल फाउन्टेन फन बन्ने भएको छ। रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीमा स्थानिय नारायण बण्जाडेको लगानीमा होटल निर्माण हुन लागेको हो। पाँच तारे होटल फाउन्टेन फनको शिलान्याश गर्दै नेपाली कांग्रेसका सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देही र समग्र प्रदेशको पर्यटन विकासको लागि यस्ता होटलले महत्वपूर्ण भुमिका खेल्ने बताए।
२ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागिएको होटल यस क्षेत्रकै उत्कृष्ठ होटलको रुपमा बनाउने प्रा.लिका अध्यक्ष तथा संचालक बण्जाडेले बताए। होटलमा फुल फेजको क्यासिनो सहित १ सय १ वटा डिलक्स, स्वीट, नर्मल रुमहरु, ३ वटा बैन्कवीट हल, रेष्टुरेन्ट लगायतका संरचना रहने छ। बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणधिन अन्तराष्ट्रिय विमानस्थल र भारतिय पर्यटकलाई लक्षित गरी ५ विघा क्षेत्रफलमा होटल बन्ने छ ।
पाँच तारे होटलका सबै मापदण्ड सहित बन्न लागेको होटल दुईचरण मा निर्माण सम्पन्न भई एकै पटक उद्घाटन हुने प्रालिले जनाएको छ। पहिलो चरणमा ४७ रुम सहित हलको निर्माण हुनेछ भने बाकी कोठा र अरु सबै संरचना सहित प्राकृतिक बगैचा सहितको रिर्सोट दोस्रो चरणमा निर्माण हुनेछ।
‘दुई वर्षमा निर्माण सम्पन्न भई संचालनमा ल्याउने लक्ष्यका साथ काम अघि बढाइने छ, होटल संचालनपछि एक हजार जनालाई प्रत्यक्ष रोजगारी दिइने छ । पहिलो प्राथमिकता दक्षता अनुसार स्थानिय र जिल्लाका रहने छन्’ संचालक बन्जाडेले भने।
नेपालका अधिकांस पाँच तारे होटलमा विदेशीको लगानी छ, फाउन्टेन फन शत प्रतिशत स्थानीयको लगानीमा बन्न लागेको छ दाबी गरिएको छ। अन्तारष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सङख्यात्मक रुपमा पर्यटकहरु बढ्ने अपेक्षा गरिएको छ। ति पर्यटक आउदा खोजे जस्तो होटल नपाइएकाले पनि अतिथीहरुको माग र इच्छा बमोजिमको पर्यटकहरुलाई केही दिन रोक्न सकौँ भन्ने उद्देश्यले पनि केन्द्र भागमा होटल बनाउन लागिएको बन्जाडेले बताए ।
होटलको मूख्य लक्ष्य गुणस्तरीय पर्यटक नेपाल भित्राउनु र केही दिन भए पनि नेपालमा बस्ने बतावरण बनाई आन्तरिक पर्यटनको विकास गर्नु रहेको होटल सञ्चालकको दाबी छ।