काठमाडौं । मूल्यवृद्धि उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक स्थितिमा गएको महिनाको तुलनामा मूल्यवृद्धि बढेको हो । चालु आर्थिक वर्षको ६ महिनासम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.८२ प्रतिशत पुगेको छ । पाँच महिनामा यस्तो मूल्यवृद्धि ६.५५ प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ४.५८ प्रतिशत थियो । ६ महिनाको औसत मुद्रास्फीति ६.४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७६ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत थियो ।
व्यापार घाटा पनि बढेर ६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ । पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रहेको थियो । चालु आवको ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो महिना ४७ अर्ब ६२ करोडको निर्यात भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तारलगायत वस्तुहरूको निर्यात घटेको छ ।
यस अवधिमा कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायत वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायत वस्तुको आयात घटेको छ ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत रहेको थियो । यस अवधिमा रेमिट्यान्स वृद्धिदर बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ४७ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । अघिल्लो महिना विप्रेषण आप्रवाह ०.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा चालु खाता घाटा ८४ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५२ अर्ब १६ करोड रहेको थियो । अघिल्लो महिना यस्तो खाता घाटा ७० अर्ब ३२ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनासम्ममा १ अर्ब ३३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख छ । यस अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड र प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको थियो । अघिल्लो महिना पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको थियो ।
शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अघिल्लो महिनामा भने शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ५५ करोड ९५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको केन्द्रिय बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति १०९५ अर्ब ९८ करोड बराबर कायम भएको छ । उक्त सञ्चिति ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । अघिल्लो महिना यस्तो सञ्चिती १०८८ अर्ब ३१ करोड थियो ।