गुल्मी – रेसुङ्गा नगरपालिकाले कृषि उत्पादनको बजारीकरणमा पूर्ण ग्यारेण्टी गरेको छ। कृषि उत्पादनको बजारीकरणमा पूर्ण ग्यारेण्टी गर्ने आफुहरु नेपालमै पहिलो स्थानीय तह रहेको रेसुङ्गा नगरपालिकाको दावी छ।
यो कामले कृषि उत्पादनमा कृषकहरु थप आकर्षित भएका छन्। किसानले जति उत्पादन गरेपनि नगरपालिकाले उचित मुल्यमा खरिद गर्छ। तत्काल सड्ने बाहेक मुख्य कृषि उपजहरुमा एक क्विन्टलभन्दा बढि उत्पादन गरे कृषकलाई प्रति किलो दुई रुपैयाँ अनुदानको व्यवस्था नगरपालिकाले गरेको छ। डोकोमा बोकेर बजार पुग्नु परेन्। उत्पादन बिक्री नभएर कुहिने अवस्था पनि रहेन्। हातहातमै कारोवार। उत्पादनमा अनुदान, उचित मुल्य र बजारको पूर्ण ग्यारेण्टी भएपछि उत्पादनमा कुनै समस्या नरहेको रेसुङ्गा नगरपालिका १० का व्यावसायीक तरकारी कृषक बिनोद कुवंरले बताए। नगरपालिकाले तालिमसहित बिउ,मल र कृषि सामग्री पनि किसानलाई वितरण गर्ने गरेको कुवंरले बताए।
किसानबाट नगरले किन्छ र आफै बजार लगेर बेच्छ
नगरपालिकाको गाडी नै सुन्तला बेच्दै बजार हिड्दा स्थानीय छक्क परे। सुन्तला खरिद गर्नेहरुको खोसाखोस पनि थियो। नगरपालिकाले नयाँगाउँ र भाडगाउँ पुगेर प्रतिकिलो ६५ रुपैयाँमा सुन्तला खरिद गर्ने र ८० रुपैयाँमा बेच्ने गरेको छ। अहिले सुन्तालाको बजार मुल्य एक सय देखि एकस सय २० सम्म रहेको छ। किसानसंग कृषि सामग्री खरिद गर्ने र संकलन केन्द्र मार्फत उपभोक्तालाई बिक्री वितरण गर्ने काम नगरपालिका आफैले गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए। नगरपालिकाले कृषि उत्पादन संकलनको लागि आफ्ना सवै वडामा गाडी पुराउँदै आएको छ।
मागको आधार मुसिकोट नगरपालिका, धुर्कोट र इस्मा गाउँपालिकाका विभिन्न स्थाननमा कृषि उत्पादन खरिद गर्न पुगेको मरासिनीले बताए। अर्घाखाँची छत्रदेव गाउँपालिका ७ को ढिकुरा लगायतका स्थानमा हप्ताको दुई पटक कृषि सामग्री खरिदकै लागि नगरपालिकाले गाडी पठाउने गरेको छ। साथै सदरमुकाममा खपत कम भए वुटवल र अर्घाखाँची सन्धिखर्कमा पुराएर समेत कृषि उपज बिक्री गर्ने गरिएको कृषि प्राविधिक हरिशरण पन्थीले बताए।
साना कृषकलाई समेत फाइदा
नगरपापालिकाले बजारको ग्यारेण्टी गरेसंगै साना कृषकलाई समेत फाइदा भएको छ। घरमै गाडी आउने भएकाले थोरै धेरै जति पनि बिक्री गर्ने गरेका छन्। अर्घाखाँची छत्रदेव गाउँपालिका ६ का धर्मराज पाण्डेयले २० क्विन्टल गोपी बेचे। अहिले १७ वटा टर्नेलमा टमाटर उत्पादन भइरहेका छन्। उचित मुल्य र घरबाटै नगरपालिकालाई बेच्न पाएकाले खुसी छन्। ‘अब उत्पादन नबिक्ने संभावना रहेन, बरु नगरपालिको निर्णय टिक्न गाह्रो देखेको छु,’उनले भने,‘अहिलेसम्म किसानका लागि नमुना काम भएको छ।’ गाउँमा उत्पादन भएका आलु, गोपी, साग, मुला, गाजर, अदुवा, गिठादेखि कोदो र कोदोको पिठो समेत बिक्री भइरहेको छ। लोकल कुखुरा पनि बजार मुल्यभन्दा डेढ सय कम मुल्यमा पाइएपछि खोसाखोस भइरहेको छ।
शित भण्डारसहितको संकलन केन्द्र
तम्घासको पुरानो हाट बजार लामो समय बन्द रह्यो। करिव सात बर्षपछि तीन वटै सरकारको समन्वयमा एक करोड ३३ लाखको लागतमा हाट बजारको नयाँ संरचना निर्माण गरियो। त्यसलाई नगरपालिकाले कृषि उपज संकलन केन्द्रको रुपमा अगाडी बढाएको नगरपालिकाका सुचना अधिकृत शंकरप्रसाद गौतमले बताए। संकलन केन्द्रमा पाँच टन क्षमताको अत्याधुनिक शितभण्डारको समेत व्यावस्था गरिएको छ। नगर तथा बाहिरबाट आएका किसानहरुको कृषि उत्पादनलाई खरिद गरेर तत्काल बिक्री गर्न नसके शित भण्डारमा स्टोर गर्ने गरिएको गौतमले बताए।
उचित मुल्य: बिचौलियाको अन्त्य
नगरपालिकाले बजारको ग्यारेण्टीसहित संकलन केन्द्र संचालन गरेपछि बिचौलियाको समेत अन्त्य भएको छ। किसानलाई उत्पादनको कम मुल्य दिने तर उपभोक्तालाई चर्को मुल्यमा बिक्री गर्ने प्रवृति बजारमा रहेको थियो। प्रत्येक दिन संकलन केन्द्रबाट बजार मुल्यभन्दा वस्तु अनुसार १० देखि ३० प्रतिशत सम्म सुपथ मुल्यमा कृषि सामग्री उपभोक्तालाई बिक्री वितरण गरिरहेको रेसुङ्गा कृषि तथा पशु उपज संकलन केन्द्रका व्यावस्थापक दामोदर पोख्रेलले बताए। नगरपालिकाकै नौ जना कर्मचारीद्धारा बिहान साँझ गरेर संकलन केन्द्रको व्यावस्थापन गरिएको पोख्रेलले बताए। उनले अहिलेसम्म किसानसंगबाट ४० लाख बराबरको कृषि उत्पादन खरिद गरेर संकलन केन्द्र मार्फत बिक्री गरिएको बताए।
दिर्घकालिन हित सोचेका छौ : नगर प्रमुख
रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले किसानको दिर्घकालिन हितका लागि संकलन केन्द्र संचालन संगै नेपालमै पहिलो पटक कृषि उत्पादनको बजारीकरणको पूर्ण ग्यारेण्टी गरिएको बताए। ‘आर्थिक समृद्धिको आधार कृषि भएकाले नगर किसानको पक्षमा उभिएको छ,’उनले भने,–‘कृषि कर्म गर्नेहरुमा नयाँ उर्जा आएको छ।’ उनले रेसुङ्गा कृषि तथा पशु उपज संकलन केन्द्र तीन चरणमा अगाडी बढाउने बताए।
पहिलो चरणमा नगरपालिकाले किसानको उत्पादन खरिद गरेर हाटबजारबाट बिक्री वितरण ग¥यो। अहिले किसानको फर्ममै पुगेर उत्पादन खरिद गर्ने गरिएको छ। अन्तिममा किसानहरु संकलन केन्द्रको सवै प्रक्रियामा आएपछि कृषि सहकारी वा समुहलाई सवै व्यावस्थापकीय पक्ष हस्तान्तरण गर्ने योजना रहेको भुसालले बताए। जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले हरेक स्थानीय तहले रेसुङ्गा नगरपालिकाको सिको गर्नुपर्नेमा जोड दिए। उनले हरेक स्थानीय तहले आफ्ना उत्पादन आदानप्रदान र सहकार्यको गर्नुको बिकल्प नभएको बताए।