दाङ । दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन । धान खेतमा पटकपटक झार र घाँस केलाएर निकाले पनि धान पनि उही घाँसजस्तै देखिएको छ ।
लमही नगरपालिका–३ टिकुलीगढ र मजगाउँका कृषक खेतमा रोपिएको धानको नाम हो ‘गरिमा’ । किसान छविलाल चौधरीले मात्रै करीब १५ कट्ठामा खेतमा गरिमा जातको धान रोपेका छन्। उनको खेतमा रोपिएको धान पसाएको छैन । अर्का किसान मनिराम आचार्यले पनि आफूले रोपेको धान नपसाएको भन्दै चिन्ता व्यक्त गरे ।
देउखुरीमा यस्ता थुप्रै किसान छन्, जसले गरिमा धान रोपेका छन् । यसपालि धानको बीउले धोका दिएकाले चामल किनेर खाने अवस्था आउने चिन्तामा किसान छन् ।
पसाउन नसकेको सबै धान गरिमा जातको धान हो । अरु जातको धान सबै ठाउँमा पहेँलपुर भई सक्यो कतै बाला झुलेका छन् । खासमा गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचीकृत गरेको बीउ हो । यो धान सालाखाला ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइ सक्नुपर्ने कृषिज्ञान केन्द्र प्रमुख कृष्णबहादुर बस्नेतले बताए।