काठमाडौ । नेपाल र भारत दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइन बुटवल-गोरखपुर आधाआधा लगानीमा बनाउने सहमति गरेको छ । भारतको बैंगलोरमा मंगलबार भएको ऊर्जा सचिवस्तरीय बैठकले यस्तो सहमति जुटाएको हो ।
नेपालले दुवै देशको बराबर लगानी गर्ने प्रस्ताव गरेको थियो । दोस्रो अन्तरदेशीय प्रसारण लाइन ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माण गर्ने सम्बन्धी सम्झौता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।
सचिव घिमिरेका अनुसार नेपाल र भारतको समान लगानी रहने गरी संयुक्त कम्पनी स्थापना गरिनेछ । आगामी तीन महीनाभित्र दुई देशीय संयुक्त कम्पनी स्थापना गरिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इन्डियाले समानरूपमा लगानी गरी कम्पनी स्थापना गर्ने सम्बन्धी सहमति भएको हो ।