बुुटवल– चिनियाँ नयाँ वर्ष मनाउन घर गएका कामदार कोरोना भाईरसका कारण उतै रोकिएपछि दुई ठूला गौरवका आयोजनाको काम रोकिएको छ।
केही महिनाभित्रै पूरा गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजना रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र बुटवल–नारायणगढ सडक विस्तारको काम अलपत्र छ।
चिनियाँ प्राविधिक सहितका कामदार चीनमा कोरोना भाईरस फैलिएपछि नेपाल फर्किन नसक्दा यी दुवै आयोजनाको निर्माणको काम रोकिएको हो।
गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुुख प्रवेश अधिकारीका अनुसार विमानस्थल निर्माणमा संलग्न कामदारहरु नआएका कारण टर्मिनल भवन भित्रको कन्भेयर वेल्ट र धावनमार्गको लाइटहरु जडानको काम रोकिएको छ। उपकरण जडानको काम अन्तिम चरणमा पुगेको समयमा कामदारहरु नफर्किदा प्राविधिक क्षेत्रको काम रोकिएको उनले बताए।
‘हामी उपकरण जडानको अन्तिम चरणमा थियौं’–अधिकारीले भने,–‘नयाँ वर्ष मनाउन घर गएका चिनियाँ कामदारहरु कोरोना भाईरसको संक्रमणका फर्किएका छैनन्, उनीहरुका कारणले प्राविधिक क्षेत्रको काम रोकिएको छ, अरु केही काम भने निरन्तर छन्।’
करीब ८७ प्रतिशत काम सकिएको भएपनि चिनियाँ कामदार फर्किन ढिलाई भएमा गौतमबुद्ध विमानस्थलको निर्माण अवधि अरु लम्बिनेछ। यसअघि सन् २०१९ डिसेम्बर ३० मा निर्माण सम्पन्न गर्ने भनिएपनि काम नसकिएपछि तीन महिना समय थपिएको थियो। विमानस्थल निर्माणको जिम्मा चिनियाँ नर्थवेष्ट एभिएसन कम्पनीले लिएको छ।
चिनियाँ कम्पनीले नै ठेक्का पाएको अर्को आयोजना हो– बुटवल–नारायणगढ सडक विस्तार आयोजना।
निर्धारित समयभन्दा ढिलो शुरु भएको यो सडक विस्तारको काम पनि चीनमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण रोकिएको छ।
सडक विस्तार आयोजनाको मुख्य प्राविधिक र प्रशासनिक क्षेत्रको जिम्मा चिनियाँले लिएका छन्। तीमध्ये आधाभन्दा बढी प्राविधिक र कामदार चीन गएका छन्।
‘केही प्राविधिक र कामदारहरु नयाँ वर्षको छुट्टीमा गएका थिए, कोरोनाको संक्रमण देखिएपछि उनीहरु उतै रोकिएका छन्–आयोजनाको सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले भने।
शिलन्यास भएको झण्डै एकवर्षमा शुुरु भएको बुुटवल–नारायणगढ ६ लेन सडक विस्तारको काम चिनियाँ कामदारको अनुपस्थितिमा नेपाली प्राविधिक र कामदारले अघि बढाएका छन्।
‘चिनियाँ कामदारहरु नआएपछि उनीहरुको ठाउँमा नेपालीले काम गरिरहेका छन्, केही दिनपछि उनीहरु फर्किएनन् भने कामलाई तीब्रता दिन समस्या हुन्छ’–उनले भने।
बुटवलदेखि नारायणगढसम्मको १ सय १३ किलोमिटर सडक ६ लेनको बनाउने कामको जिम्मा चाइना स्टेट इन्जिनियरिङ्ग कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेडले लिएको छ। सडक विस्तारको काम दुई खण्डमा विभाजन गरेर भइरहेको छ।
बुटवलदेखि पश्चिम नवलपरासीको दाउन्नेसम्मको ४८.५ कि.मि सडकमा रुख कटान गरेर सडकको काम थालिएको थियो भने पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ कि.मि सडकमा रुख कटानको काम भइरहेको छ। यसमध्ये खैरनीबाट बुटवलसम्मको रुख काट्ने काम केही दिनमा सुरु हुने नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्ड बर्दघाटका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले बताए।
उनका अनुसार रुख काटिसकेको ठाउँमा भने ड्रेन, पुल, बिजुली र खानेपानीको पाईप व्यवस्थापनको काम अघि बढेको छ।
नेपालमा आएपनि दुई हप्ता स्वास्थ्य क्याम्पमा बसेर परीक्षण सकिएपछि मात्र उनीहरु कार्यस्थलमा आउने पाण्डेले बताए।
गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको काम गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट शिलन्याश गरेसँगै सुरु भएको थियो। २०२२ अगस्त १ मा सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।