काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यसमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित बजेटमध्ये चालु खर्च ४१.२ प्रतिशत, पुँजीगत खर्च २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १२.६ प्रतिशत बजेट विनियोजन भएको छ ।
त्यस्तै प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।