काठमाडौं-सरकारले लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम २ वर्षभित्र सम्पन्न गर्ने जनाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्दै लुम्बिनी विकास गुरुयोजनाको बाँकी कामदुई वर्षभित्र सम्पन्नगरिने बताए।
उनले अन्तर्राष्ट्रिय स्तरका विख्यात योजनाविद्द्वारा लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी वृहत लुम्बिनी विकास गुरुयोजना तयार गरिने बताए। उनले त्यसका लागि रू 1 अर्ब 50 करोड विनियोजन गरेको उल्लेख गरे।
यस्तै वृहत पशुपति क्षेत्र विकास गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ। पशुपतिनाथ मन्दिरको प्रवलीकरण लगायत पूर्वाधार निर्माणगर्न रू 35 करोड विनियोजन गरेको उनले जनाए।
जानकीमन्दिर र तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न प्रकृया अगाडि बढाइने उनले बताए। जनकपुरलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न हरेक वर्ष अष्टाबक्र शास्त्रार्थ सहितको धार्मिक सम्मेलन आयोजना गरिनेछ।