काठमाडौँ - अर्थमन्त्री विष्णु पौडेलले संविधान सम्मत तरिकाले बजेट आएको दाबी गरेका छन् । वर्तमान सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी भएको बेला उनले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको जिकिर गरे ।
बजेटका सम्बन्धमा आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले बजेट बाारे दुविधा राख्नुपर्ने अवस्था नभएको उल्लेख गरे । ‘संबैधानिक प्रवन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था छैन । यो सबैधानिक प्रबन्ध अनुरुप नै आएको छ’, उनले भने, ‘मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्यो । अर्को विकल्प थिएन ।
मन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गरेका छन् । ‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु’, उनले भने, ।
अर्थमन्त्रीले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तिब्रता दिएर अघि बढ्ने बताए । बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पुर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिवद्धताका साथ सरकार प्रस्तुत भएको उनले उल्लेख गरे । कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहल कदमी लिएर खोप सेवा उपलब्ध गराउने काममा केन्द्रीत भएर लाग्ने प्रतिवद्धता पनि जनाए ।
मन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने पनि बताए ।