बुटवल– तरकारी, दुग्ध पदार्थ, अण्डा र कुखुराको मासुमा आत्मनिर्भर बनेको रुपन्देहीको सैनामैना नगरपालिकाले सहरी र ग्रामीण कृषिलाई प्राथमिकतामा राखेको छ। कृषिलाई व्यवसायिक बनाउँदै आत्मनिर्भरसंगै निर्यात गर्नेसम्मको लक्ष्य नगरपालिकाले लिएको छ।
उचित मात्रा नमिलाई प्रयोग भएको रासायनिक मलको कारणले माटोको खस्किँदो गुणस्तर, बदलिँदो मौसमचक्र, घट्दो खेतीयोग्य जमिन, भएको जमिन पनि घडेरी प्लटिङको कारणले अनुत्पादक बनेपछि यस्तो योजना बनाएको हो।
कृषि उपजका अरु उत्पादनमा पनि आत्मनिर्भर बन्ने र अरु पालिकाहरुमा विक्री वितरण गर्ने लक्ष्यका साथ किसानलाई प्रोत्साहन तथा सुरक्षा ग्यारेन्टीको प्रबन्ध मिलाउँदै योजनाबद्ध काम थालिएको प्रमुख चित्रबहादुर कार्कीले बताए।
कृषिजन्य उत्पादन बढाउने उद्देश्यले कृषक पाठशाला सञ्चालनदेखि किसानलाई मलविऊ वितरण र अनुदानको व्यवस्था मिलाइएको छ। खेतबारी हुनेले अनुदान र नहुनेले अरुको जग्गा भाडामा लिएरै पनि व्यवसायिक रुपमा कृषि गर्न सक्नेछन्। यी दुबै कामका लागि सैनामैनाले अनुदानको व्यवस्था मिलाएको छ। सैनामैनाले कृषि र पशुपालन हबका रुपमा विकास गर्ने लक्ष्यअनुसार कृषकहरुलाई प्राविधिक तालिम, बिउ, मल र मेसिनरी यन्त्रमा अनुदान दिँदै आएको छ।
झण्डै १५ वर्ष विदेशमा काम गरेर फर्केका सैनामैना ११ का युवा खिमबहादुर क्षेत्रीले नगरपालिकाको अनुदानमा सालझण्डीमा माछा पालन सुरु गर्न लागेका छन्। साथी देवीराम पराजुलीसँग मिलेर करिब १० कट्ठा जग्गामा माछापालन सुरु गरेका हुन्।
सैनामैना नगरपालिकाले कृषि क्षेत्रका ज्ञान र सीप सिकाउन पाठशालासमेत सञ्चालन गरेको भन्दै क्षेत्रीजस्ता कैयन युवाहरुमा थप हौसला र प्रोत्साहन मिलेको छ। नगरपालिकाले पनि किसानमा हौसला बढाउने, प्रोत्साहन गर्ने र उनीहरुले उत्पादन गर्ने बालीलाई गुणस्तरीय बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम सुरु गरेको थियो।
रासायनिक र प्राङ्गारिक मल, विषादी, उन्नत जातको बीउ, उन्नत नश्लको पशु, सिंचाई, मेसिनरी सामग्रीको उपलब्धता गराउनेगरी योजनाबद्ध कामको थालनी गरिएको प्रमुख कार्कीले बताए।
यसका लागि सैनामैनाले गुरुयोजना समेत बनाइरहेको छ। खेतीयोग्य, औद्योगिक, खेलमैदान र बस्तीका क्षेत्रहरुलाई अलग अलग गर्दै भौगोलिक र प्राकृतिक स्थितिको अध्यय्न गरि योजना बनाउन लागिएको प्रमुख कार्कीको भनाइ छ। अहिले सैनामैनाका ऐतिहासिक र आर्थिक पक्षहरूको वैज्ञानिक विश्लेषण गर्ने काम चलिरहेको छ र यो अन्तिम चरणमा पुगेको छ। यो सकिएपछि गुरुयोजना तयार हुने छ।
यहाँका ११ वटा वडाहरु सबैमा कृषिका सम्भावनाहरु छन्। दुग्ध उत्पादनमा १० र ११ नम्बर वडा जिल्लामै अब्बल मानिन्छन्। धान, गहुँ, मकै तथा तेलहन र दलहनको उत्पादन प्राय सबै वडामा हुँदै आएको छ। दुई कठ्ठादेखि दशौं विगाह सम्मको जग्गामा तरकारी र कैयौं टहराहरुमा कुखुरापालन गर्ने व्यवसायिक किसानहरु यहीँ छन्।
व्यवसायिक रुपमा पशुपालन गर्दै आफैले डेरी व्यवसाय चलाएका सैनामैना सालझण्डीका अर्का युवा कमल अर्यालले आफै आइसक्रिम उद्योगसमेत सञ्चालन गरेका छन्। सोही टोलमा महिलाहरु संगठित भएर फूल खेती शुरु गरेका छन्।
सैनामैनामा खाद्यान्न, तरकारी, दुग्ध पदार्थ, कुखुरापालन, पशुपालनदेखि फलफुल र फुलकोसमेत व्यसायिक खेती सुरु भएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलको भनाइ छ। उनले सबै वडामा कुनै न कुनै उत्पादनलाई व्यवसायिक बनाउनेगरी योजना बनाएको बताए।
के–के भए कृषि क्षेत्रका काम ?
योजनाबद्घ सहरी विकासमार्फत स्वच्छ, सुरक्षित र समृद्घ सैनामैनाको पहिचान सहितका व्यवस्थित बस्ती विकास गर्ने र कृषिलाई पहिलो प्राथमिकतामा राख्ने अवधारणा यहाँका प्रमुख कार्कीले सुरुमै ल्याएका थिए।
सोही अनुरुपका कामहरु अहिले अगाडि बढेका छन्। प्रदेश सरकारको अनुदान सहयोगमा सैनामैना नगरपालिका वडा नं. ३ को गंगानगरमा रु. ५० लाखको लागतमा स्मार्ट पोल्ट्री फर्म स्थापना भएको छ।
यस्तै रु ५० लाखको लागतमा वडा नं. ११ को तालीमा स्मार्ट कृषि गाऊँको स्थापना र रु. २५ लाखको लागतमा वडा नं. ६ को भरतपुर सुखौरा क्षेत्रमा व्यवसायीक बाख्रापालन सुरु भएको छ।
अनुदानमै ३०० के.जी. मसुरोको विउ, ४०० के.जी.तोरीको विउ, ०.५ के.जी. टि.पि.एस. आलु, २००० दाना पिबिएस आलु, १००० प्याकेट कन्ये च्याउको विउ निशुल्क रुपमा वितरण गरिएको नगरपालिकाले जनाएको छ।
यस्तै गोठ सुधार, बाख्रा खोर सुधार, बंगुर खोर सुधार, कुखुरा फर्म (खोर) सुधार,माछा पोखरी निर्माणका काम भएका छन्। पशु प्रजनन सेवातर्फ हजारौं पशुहरुमा कृत्रिम गर्भाधान, पशु आहार तर्फ घासको विउ वितरण र पशु स्वास्थ्य उपचार सेवा निरन्तर चलिरहेका छन्।
पाठशालालाई निरन्तरता दिइने
अहिले शुरु भएको कृषक पाठशाला यहाँका पालिकाहरुमै पहिलो रहेको बताइएको छ। सैनामैनामा परियोजना परीक्षणका लागि समेत अध्ययन भइरहेकाले यसखालका नौला कार्यक्रम सुरु गरिएको छ।
कृषि पाठशाला कक्षामा खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाइदा पु¥याउने र बेफाइदा पु¥याउने जिवको पहिचान गर्नेदेखि जमिनलाई माटोको सुरक्षा गर्दै उत्पादन बढाउने बारेमा पनि सिकाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
परम्परागत खेती प्रणालीमा आधुनिकता र व्यवसायिकता ल्याउन मद्दत पु¥याउने र दिएको अनुदानलाई भरपूर उपयोग गर्ने बनाउने उद्देश्यले पाठशालामार्फत केही सीप सिकाउन थालिएको उनले बताए।
वडा नंं. ६, ९ र ११ का करिब ८० जना किसानहरु पाठशालाको पहिलो चरणको कार्यक्रममा सहभागी छन्। उनीहरुले १६ हप्ते तालिम लिने छन्। कार्यक्रमलाई क्रमशः नगरका ११ वटै वडामा विस्तार गर्दै बाली विविधकरणका कार्यक्रम पनि सञ्चालन गरिने नगरपालिकाका कृषि शाखा प्रमुख सृजना सुवेदीले जानकारी बताइन्। कृषि क्षेत्रमा आइपर्ने समस्यालाई समाधान गर्नेखालका प्राविधिक ज्ञान पनि पाठशालामा सिकाइने उनको भनाइ छ।