बुटवल - रुपन्देही तिलोत्तमा नगरपालिकामा प्रस्तावित प्रादेशिक बसपार्क संघ र प्रदेशको सह-लगानीमा बन्ने भएको छ । प्रादेशिक बसपार्क निर्माणको योजना आगामी आर्थिक वर्ष २०७८/७९ मा समेटिएको छ ।
बसपार्क निर्माणको लागि तिलोत्तमा नगरपालिकाले डिपिआर तयार गरिसकेको छ। बजेटमा समावेश भएपछि अब नयाँ आर्थिक वर्षमा बसपार्क निर्माणको लागि टेण्डर आह्वान हुने तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले जानकारी दिए। ‘साउनमा टेण्डर हुन्छ, त्यस पछि निर्माण भए अनुसार संघ र प्रदेशले बजेट उपलब्ध गराउँछन्, काम अघि बढ्छ।’ उनले भने ‘सरासर काम हुन पायो भने ३ वर्षमा प्रादेशिक बसपार्कको निर्माण सम्पन्न गर्न सकिन्छ।’
तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र १४ टिकुलीगढको तिनाउ नदिको उकास क्षेत्रमा नगरपालिकाले प्रादेशिक बसपार्क बनाउने प्रस्ताव गरेको हो। झण्डै २० विघा क्षेत्रफलमा बनाउन लागिएको बसपार्कको निर्माणको लागि १ अरब ७ करोड लागत लाग्ने अनुमान गरिएको छ। बसपार्क निर्माणको लागि संघिय सरकारले ७० प्रतिसत र प्रदेश सरकारले ३० प्रतिसत लगानी गर्ने तय भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।
तिलोत्तमामा प्रादेशिक बसपार्क निर्माण गर्नको लागि साढे २ वर्ष अघि नगरपलिकाले डिपिआर तयार गरि प्रदेश सरकारका मन्त्री, सांसद, सरकारी अधिकारी, छिमेकी स्थानिय तहका प्रमुखहरु, यातायात व्यवसायी लगायत सरोकारवालाहरुसँग छलफल गरेको थियो ।
पछि लुम्बिनी प्रदेश सरकारले प्रदेशकै गौरबको आयोजनाको रुपमा अगाडि बढाएर संघिय सरकारलाई सह लगानीको आयोजनाको रुपमा प्रस्ताव गरेको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले बताए। प्रस्तावित प्रदेशिक वसपार्कमा साढे ३ सय बस अट्ने क्षमताको आधुनिक र सुविधा सम्पन्न हुने छ । जहाँ चार्जिङ स्टेसन, होटलको सुविधा, पार्क लगायतको संरचना हुने छ।
बुटवल र भैरहवामा रहेका बसपार्कमा सवारी र यात्रुको चाँप बढ्दो छ । लामा दुरीका बसहरुलाई व्यवस्थापन गर्न गाह्रो हुन थालेको छ । यी दुई बसपार्कको उपयुक्त विकल्पको रुपमा तिलोत्तमाको प्रादेशिक बसपार्क रहने नगरप्रमुख घिमिरेले बताए। ‘बढ्दो शहरीकरणसँगै बुटवल र भैरहवाको बसपार्कले अब यात्रु र सवारीको चाँपलाई थेग्दैन। ति २ सिटी बसपार्क हुन्छन्।’ उनले भने ‘यो चाँही लामो दुरीको लागि आधुनिक र व्यवस्थीत बसपार्क हुन्छ।’
भैरहवाको अन्तराष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुका साथै विभिन्न ठाउँबाट लुम्बिनी आउने यात्रुको लागि पनि तिलोत्तमामै बन्ने प्रादेशिक बसपार्क सुविधाजनक हुने अपेक्षा गरिएको छ। तिनाउ करिडोर बनेपछि बसपार्कसम्मको पहुँच पनि सहज हुने छ। ‘भैरहवा एयरपोर्टबाट आउँदा ५/७ किलोमिटर मात्र पर्छ । तिनाउ करिडोर बनेपछि बुटवलबाट १०/१५ मिनेटमा यो बसपार्कमा आइन्छ।’ नगरप्रमुख घिमिरेले भने। तिलोत्तमामा प्रदेशिक बसपार्क बनेपछि यस क्षेत्रको आर्थिक विकास हुने र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।