बुटवल–तपाईँ कृषि विषयमा जे.टी, जे.टी.ए. १२ कक्षा पास वा त्यो भन्दा माथिल्लो तहको शिक्षा पूरा गर्नुभएको छ? जागिर गर्न मन छैन, तर कृषिमै एक कुशल व्यवसायी बन्न चाहनुहुन्छ भने अवसरको ढोका खुलेको छ।
प्रदेश ५ सरकारले कृषि तथा पशु विषय अध्ययन गरेका युवाहरुलाई उद्यमशिलता विकास अनुदान कार्यक्रम ल्याएको छ। ४० वर्ष ननाघेका कृषिका विद्यार्थीले अनुदान लिन पाउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन्।
पौडेल कार्यक्रमबारे भन्छिन्–‘कृषि पढेपछि, प्रोजेक्टमा जाने, सरकारी जागीर खाने जागीरे मानसिकता छ, कृषि पढेको मान्छे आफै पनि काम गर्न जान्ने मान्छे हो नि, उसले गरेको खेती र सामान्य किसानले गरेको खेती त पक्कै फरक हुन्छ। कृषि पढेको विद्यार्थी उद्यमी होस, आफ्नो व्यवसाय बढाओस् अरुलाई पनि रोजगार दिन सकोस् भन्ने उदेश्यले अहिले हामीले ५० जनाबाट यो कार्यक्रम सुरु गर्छौं।’
कृषि उद्यमी बन्न चाहनेले लगानीका आधारमा बढीमा १० लाख रुपैयाँ अनुदान प्राप्त गर्ने मन्त्री पौडेलले बताइन्।
अनुदान लिएर कृषि पढेकाले फलफूल नर्सरी, मौरीपालन व्यवसाय, व्यवसायिक फलफूल खेती, व्यवसायिक तरकारी खेती, च्याउ खेती गर्न सक्नेछन्। त्यसैगरी व्यवसायिक पशुपालन, पंछीपालन, माछापालनका लागि पनि अनुदान प्राप्त गर्न सकिने छ। त्यस्तै कृषिसँग सम्बन्धीत प्रयोगशाला, बजार विकास कार्यक्रम, कृषि तथा पशुसँग सम्बन्धित नवीन सोंचमा आधारित अन्य प्रस्ताव पनि गर्न सकिने छ। यस वर्ष कृषि पढेकालाई अनुदानको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
के गर्नुपर्छ अनुदान पाउन ?
अनुदानको प्रस्तावको लागि लागि नेपाली नागरिकताको फोटोकपी, सम्बन्धित विषयको शैक्षिक प्रमाणपत्रको फोटोकपी र आवेदकले कृषि क्षेत्रमा काम गरेको अनुभवको कागजपत्र बुझाउनु पर्दछ। त्यसै गरी सम्बन्धित स्थानीय तहको कृषि शाखाबाट कार्यक्रम सञ्चालन गरिने स्थानमा भौतिक पूर्वाधारहरु जस्तै सडक, पानी, बिजुली आदिको उपलब्धता र स्थानीय तहको प्राथमिकता क्षेत्रमा रहेको व्यहोराको सिफारिस पत्र आवश्यक पर्छ। सम्बन्धित कृषि ज्ञान केन्द्र वा विज्ञ केन्द्रबाट कार्यक्रम सञ्चालन गरिने स्थान प्राविधिक रुपमा उपयुक्त रहेको व्यहोराको सिफारिस पत्र, जग्गाको जग्गाधनी प्रमाणपूर्जा वा लिजमा लिएको भए १० वर्षको सम्झौता पत्र र सम्बन्धित जग्गाधनी प्रमाणपूर्जाको फोटोकपी, प्रस्तावको कम्तीमा १० वर्षसम्म व्यवसाय सञ्चालन गर्ने अनुसुची २ बमोजिमको प्रतिबद्धता पत्र पनि बुझाउनुपर्ने छ।
तर, कृषि उद्यम वा व्यवसाय गर्नेले कहीँ कतै स्थायी जागिर गरेको हुनुहुँदैन। सरकारी, गैरसरकारी तथा शैक्षिक क्षेत्रमा स्थायी जागिर नगरेको व्यहोरा खुल्ने स्वघोषणा पत्रका साथै प्रस्तावकले व्यहोर्नुपर्ने रकम नगद मौज्दात रहेको प्रमाण बैंक स्टेटमेन्ट वा लगानीको श्रोतको आधार पनि बुझाउनुपर्ने छ।