बुटवल–केही हप्ता अघिसम्म लुम्बिनीमा राम्रै चहलपहल थियो। विभिन्न राष्ट्रिय तथा केही अन्तर्राष्ट्रिय सभा सम्मेलन भए। तर पछिल्लो समय चहलपहल घट्दै गएर लुम्बिनी सुनसान भएको छ। हिजोआज विदेशी पर्यटक देख्न मुस्किल परेको लुम्बिनीस्थित इगनाइट लाउन्ज एण्ड रेष्टुरेन्टका सञ्चालक बाबुराम पराजुलीले बताए। ‘केही भारतीय र श्रीलंकनहरु फाट्ट फुट्ट आएका छन्। उनीहरु पनि एकछिन घुमेर फर्किहाल्छन्–उनले भने–२–३ हप्ताजति भयो अरु विदेशीहरु त देखिनै छोडे।’
विश्वका १ सयभन्दा बढी देशमा फैलिएको कोरोनाको संक्रमणका कारण मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी पनि सुनसान भएको हो। नेपाल आउन खोजेका धेरै पर्यटकले होटलको बुकिङ पनि रद्द गराएका छन्।
लुम्बिनीका होटलका ७० प्रतिशत कोठाको बुकिङ रद्द भएको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए। ‘पाहुनाहरु आउनै छोडे, बुकिङ भएका कोठा पनि धमाधम रद्द भएका छन्–उनले भने–अन्य मुलुकमा फैलिएको कोरोनाका कारण ७० प्रतिशत जति बुकिङ रद्द भइसकेको छ।’
चैत्रसम्म लुम्बिनी घुम्न उपयुक्त मौसम मानिन्थ्यो। तर सिजनकै समयमा पर्यटक आगमन घटेको श्रेष्ठको भनाइ छ। केही वर्षयता लुम्बिनी आउने चिनियाँ पर्यटक बढेका थिए। चीनबाटै संक्रमण सुरु भएपछि पहिले चिनियाँ पर्यटक घटेको र अरु मुलुकका पर्यटक समेत आउन छोडेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए ।
‘चिनिया पर्यटक लगभग शुन्यमा पुग्न लागे भन्दा पनि हुन्छ–उनले लुम्बिनी टाइम्ससँग भने–अन्य पर्यटकको संख्या पनि अत्यन्त न्यून भएको छ।’ यो समयमा लुम्बिनीमा बौद्ध मूलुकहरु श्रीलंका, म्यानमार र थाइल्याण्डका पर्यटक आउने गर्दथे। एक महिनायता कमी आएको बस्नेतको भनाइ छ। ‘जनवरीमा अघिल्लो वर्ष र अहिलेको संख्या बराबर छ, फेबु्रअरीमा कमी आएको छ–उनले भने–मार्चमा धेरै नै कमी आउने संकेत देखिएको छ।’
प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन थालेको थियो भने संघ सरकारको आह्वानमा नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भएको थियो। तर कोरोनाको सम्भावित जोखिमको कारण सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ।
एक महिना जति बाँकी रहेको लुम्बिनी भ्रमण वर्षका कार्यक्रम पनि निष्क्रिय भएका छन्। कोरोना संक्रमणको कारण विभिन्न देशबीच आवतजात पनि बन्द भएको छ। नेपाल सरकारले पनि सार्वजनिक सभा, सम्मेलन, भेला, मेला महोत्सव जस्ता भिडभाड हुने कार्यक्रम आयोजना नगर्न सूचना जारी गरेको छ।
पर्यटक नआउँदा व्यवसाय धान्न समस्या भएको लुम्बिनी होटल संघका अध्यक्ष श्रेष्ठले गुनासो गरे। ‘कामदारको तलब कसरी दिने, बैंकको व्याज कसरी तिर्ने भन्ने समस्या छ’–उनले भने ।
बुटवलका होटलमा तय भएका गोष्ठी सेमिनार स्थगित
प्रदेश ५ को राजधानी बुटवलमा रहेका होटलहरुमा पनि चहलपहल ह्वात्तै घटेको छ। कार्यक्रम भइरहने स्तरीय होटलमा आयोजना हुने गोष्ठी, सेमिनारलगायतका कार्यक्रम पनि स्थगित भएका छन्। नियमितजसो गोष्ठी र सेमिनार भइरहने बुटवल इट्टा भट्टीमा रहेको न्यु इरा होटलमा तय भएका कार्यक्रम रद्द भएको होटलका सञ्चालक तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधब नेपालले बताए। ‘गोष्ठी सेमिनारहरु मध्ये एउटा ५ दिनको र अर्को ३ दिनको कार्यक्रम तय भएका थिए, सबै स्थगित भए–उनले भने–अरु नयाँ बुकिङ भएका छैनन्, असर त गरेको छ, तर सुरक्षा सतर्कता पनि बढाउनुपर्यो।’ इट्टाभट्टीमै रहेको एशियन भिलेज रिसोर्टमा पनि ३ वटा गोष्ठी सेमिनार रद्द भएको म्यानेजर विष्णु श्रेष्ठले बताए। ‘विवाहका कार्यक्रम त भएका छन्, प्रदेश सरकार तथा नगरपालिकाले गर्ने कार्यक्रम स्थगित भएका छन्–उनले भने ।
अन्य दर्जनौ होटलहरुमा पनि कार्यक्रम स्थगित भइरहेका छन्। केन्द्रका निकाय, प्रदेश सरकार, गैरसरकारी संस्थाहरुले आयोजना गर्ने अधिकांश कार्यक्रम रद्द भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले बताए। ‘केन्द्रीयदेखि प्रदेशका थुप्रै कार्यक्रम चैतमा हुनेवाला थिए’–उनले भने–‘धेरै कार्यक्रम स्थगित हुँदैछन्।’
बुटवलका होटलमा आउने पाहुना पनि स्वात्तै घटेका छन्। कोरोनाको जोखिमका कारण मानिसहरु अति आवश्यक काम बाहेक यात्रा गर्न छाडेका छन्। त्यसैले होटलहरु सुनसान भएको जिसीले बताए। ‘बाहिरी पर्यटक त ९५ प्रतिशतमा कमी आएको छ, आन्तरिक पर्यटक पनि ६० प्रतिशतले घटेका छन्–उनले भने–परिवार तथा साथीभाइ सहित होटल तथा रेष्टुरेन्टमा रमाइलो गर्न, खान जाने क्रम पनि घटेको छ।’