गुल्मी–दलहरुको राजनैतिक प्रतिशोधका कारण रुपन्देहीदेखि गुल्मी जोड्ने वैकल्पिक मार्ग भनिएको महत्वपूर्ण सडक निर्माणको काम अलपत्र परेको छ। गुल्मीबाट सबैभन्दा छिटो तराई जोडिने र सुरक्षित मानिएको सालझण्डी–पटौती खज्र्याङ–तम्घास–ढोरपाटन सडकको काम अगाडि बढ्न सकेको छैन।
०७० सालमा रणनैतिक सडकका रुपमा अगाडि बढेपनि पछिल्ला दुई वर्ष अत्यन्तै कम बजेट विनियोजन भयो।
यो सडकलाई ०७० सालको चुनावमा कांग्रेस नेता चन्द्र भण्डारीले चुनावी एजेण्डा बनाएका थिए। उनले चुनाव जितेर सांसद पनि भए।
सुरुका वर्ष बजेट अनुसारको काम पनि भयो। उनको कार्यकाल सकियो। उनको कार्यकाल सकिएर अर्को दलको सरकार बनेपछि चासो नदिएको स्थानीयको बुझाई छ।
नेकपाका नेता सासंदहरुले चासो नदिएको गुल्मी सदरमुकाम रेसुंगाबासीको आरोप छ। बहुबर्षे ठेक्का भए पनि पर्याप्त बजेट छुट्टिएन। बिनियोजित बजेटमा पनि निर्माण व्यवसायीले सोचे अनुसार काम गरेनन्। उद्योग वाणिज्य संघको पहलमा जिल्ला समन्वय समिति गुल्मीले आयोजना कार्यान्वयन कार्यालय, प्रदेश र केन्द्रमा समेत ध्यानाकर्षण गरायो। तर सडक आयोजनामा संघ र प्रदेशकै प्राथमिकतामा परेन।
विकासमा राजनैतिक प्रतिशोध साँध्ने प्रवृतिका कारण यो सडकको काम अलपत्र परेको नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले बताए।
‘प्रदिप ज्ञवालीको एयरपोर्टको योजनामा चन्द्र भण्डारी सांसद भएर वास्ता गरेनन्, अहिले ठिक त्यहि प्रवृतिको सडकमा देखेका छौ,–उनले भने–राजनिती विकासका लागि नभएर जनताको गर्ने भए दलहरु सच्चिनु प¥यो ।’
नेताहरु तैँ चुप मै चुप
केन्द्रमा प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट नेकपाका प्रभावशाली नेता हुन्। ज्ञवाली अहिले पनि परराष्ट्रमन्त्री छन्। बिष्ट पुर्व मन्त्री हुन्। दुवै नेताका अन्य योजनाहरु करोडौका छन्। तर दुवै जना यो सडकको बिषयमा कहिल्यै कुनै औपचारिक समारोहमा बोल्दैनन्। प्रदेश ५ मा सामाजिक विकास मन्त्री सुर्दशन बराल छन्।
उनको प्रदेशबाट बजेट बिनियोजन गर्न मुख्य भूमिका हुन्छ। बराल पनि अहिलेसम्म यो सडकबारे चुप देखिए। केन्द्र र प्रदेशमा मन्त्री र पुर्वमन्त्री बाहेक केन्द्र र प्रदेशमा पाँच सांसद छन्। प्रदेश ५ का बिशेषाधिकार समिति सयोजक तथा सांसद कमलराज श्रेष्ठले यो सडक सबै हिसाबले महत्वपूर्ण भएकाले प्रदेश वा केन्द्रबाट पुरा गर्नुको विकल्प नभएको बताए।
उनले गतवर्ष मुख्यमन्त्री शंकर पोख्रेलको ध्यानाकर्षण गराएर चार करोड विनियोजन गरेपनि निर्माण व्यवसायीले पुरै काम नगरेका कारण केहि समस्या भएको बताए। ‘पुर्वाग्रही भएको भए मुख्यमन्त्रीकोमा डेलिकेशन पुग्दैनथ्यौ,–उनले भने,–अहिले बेलैमा विचार गरेर बजेट विनियोजन गर्छौ ।’
आयोजना कार्यालय खाल्डा पुर्दै
यो सडकमा नेताहरुको चासो भएको भए अहिले सडक पक्की गर्ने समय हुन्थ्यो। तर केही ठाउँमा ट्रयाककै समस्या छ। बजेट अभावका कारण आयोजना कार्यान्वयन कार्यालयहरु खाल्डा पुरेर बसेका छन्। पहिलो सडकखण्ड सालझण्डी–पटौती अन्तरगत अहिले कुनै बजेट छैन। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले गत वर्षसम्म पुरानो बजेटको काम भएपनि अहिले बजेट नभएकाले कार्यालयकै एक/दुई लाखको सामान्य बजेटमा खाल्डा पुर्ने काम भइरहेको बताए।
उनले खाल्डा पुर्ने काम पनि स्थानीयको अवरोधको कारण रोकिएको बताए। अर्को खण्ड पटौती–खज्र्याङ्गमा पनि बजेट छैन। गत बर्ष पटौतीदेखि दुर्गाफाँटसम्म साढे दुई किलोमिटर काम गरेको पुर्वाधार विकास कार्यालयका प्रमुख बिनोद चौधरीले बताए। उनले त्यो बाहेक अहिले कुनै बजेट नभएको बताए।
मृत्युमार्ग भनिने सिद्धबाबा क्षेत्रको विकल्प खोज्दै गुल्मेली
सिदार्थ राजमार्गको बुटवल–पाल्पा अन्तरगत सिद्धबाबामा कैयन गुल्मेलीले ज्यान गुमाए। सिद्धबाबामा केही दिन अघि माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएका तम्घासका महेन्द्र श्रेष्ठ (बाबु काजी) परिवारको आँखा अझै ओभाएको छैन।
कांग्रेस नेता हरि न्यौपानेले पनि पनि कारमा ढुङ्गा खसेकै कारण सिद्धबाबामा ज्यान गुमाए। सोही स्थानमा सडक दुर्घटनामा ज्यान गुमाएका निर्माण व्यावसायी राम प्रसाद पन्त र उपप्रध्यापक कृष्ण भण्डारीको परिवार बिक्षिप्त छन्। यी त त्यस सडकमा ज्यान गुमाउने प्रतिनिधि पात्र मात्रै भए।
कैयन परिवारले अभिभावक र आफन्त गुमाएका छन्। जसका कारण गुल्मेलीहरुले वैकल्पिक सडक चाहेका छन्। गुल्मेलीका लागि सालझण्डी–पटौती–खज्र्याङ–तम्घास–ढोरपाटन सडक सिद्धबाबाको विकल्प हो। त्यसकारण पनि यो सडक निर्माण गर्नुको विकल्प छैन। तम्घासबाट ७४ किलोमिटरमा पूर्वपश्चिम राजमार्ग पुगिने भएकाले दुरी पनि २२ किलोमिटर कम हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए। उनले छोटो र ग्रेड मिलेको चौडा सडक भएकाले पनि व्यापारी र सर्वसाधारणको यात्राको लागि पनि उत्तम विकल्प हुने भलामीले बताए।
जिल्लामा पनि आरोप–प्रत्यारोप मात्रै
सालझण्डी–पटौती खज्र्याङ–तम्घास–ढोरपाटन सडकको बिषयमा गुल्मी उद्योग वाणिज्य संघले चासो देखाउँदै आएको छ। विगतका पनि संघले जिल्ला समन्वय समिति मार्फत आयोजना कार्यालय, प्रदेश र केन्द्रको ध्यानाकर्षण गराएको थियो। गत मंगलबार जिल्लामा सर्वपक्षिय अन्तरक्रिया आयोजना गरेर छलफल चलाएको थियो।
नेकपाका नेता तथा जनप्रतिनिधि कार्यक्रममा सहभागी थिएनन्। उनीहरुले गुल्मी उद्योग वाणिज्य संघ कांग्रेस निकट व्यवसायीहरुले एकलौटी बनाएकाले वाणिज्य संघभन्दा कुनै स्थानीय तह वा जिल्ला समन्वय समितिको नेतृत्वमा छलफल गर्न खोजेको नेकपाका एक नेताले बताए। नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले यो सडक बजेट नभएरभन्दा पनि चासो नभएका कारण अलपत्र परेको आरोप लगाए।
उनले प्रदेश र केन्द्रका मन्त्री र सांसद थुप्रै भएकाले चाहेको बेला बजेटको व्यवस्था गर्न सकिने भए पनि राजनैतिक प्रतिसोधका कारण काम नगरिएको बताए। त्यस्तै राष्ट्रिय जनमोर्चाका नेता हरि न्यौपाने र समाजवादी पार्टीका नेता घनश्याम पाण्डेयले मन्त्री र सांसदहरुको अन्तरमनमा सडक महत्वपूर्ण भए पनि पुरानो एजेण्डा सम्झिएर चासो नदिएको आरोप लगाए। यो सडक केन्द्रबाट बाहिरिएको छ। अहिले प्रदेशमा हस्तान्तरण भएपछि सबै काम प्रदेश कार्यालय मार्फत भएका छन्। तर प्रदेशको प्राथमिकतामा पनि नपरेपछि अलपत्र पर्ने चिन्तामा गुल्मेली नागरिक रहेका छन्।