बुटवल- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले कोरोना भाइरसका बहानामा श्रम क्षेत्रका मजदुरहरू कटौती नगर्न आग्रह गरेको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले रोजगारदाताले श्रम क्षेत्रका मजदुरहरू कटौती गर्न थालेको भन्दै जिफन्टले त्यस्तो कार्य नगर्न रोजगारदातालाई आग्रह गरेको हो।
जिफन्टको बुटवलमा बसेको ६९ औं बैठकपछि अध्यक्ष बिनोद श्रेष्ठले भने, ‘कोरोनाको बहानामा श्रमिक कटौती गर्ने, बैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुलाई बेतलबी बिदामा बस्न आदेश दिएको कुराप्रति जिफन्ट गम्भीर बनेको छ। हामी नेपाली कुटनीतिक नियोगहरु मार्फत त्यस्तै कार्य रोक्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग जोडदार माग गर्दछौं।’
कोरोना भाइरसका कारण धेरै औद्योगिक क्षेत्रहरु धरासाही हुँदा श्रमिकहरु कामबिहीन बन्न सक्ने देखिन्छ। श्रेष्ठले मजदुर रोजगारदातालाई सहज हुँदा पनि काम गरेकै हो। अफ्टयारो परिस्थितिमा पनि मजुदर कटौती गर्न मिल्दैन’ श्रेष्ठले भने।
जिफन्टले सामाजिक सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वनमा लैजान समेत आग्रह गरेको छ। हालसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १२ हजार रोजगारदाता १ लाख ५१ हजार श्रमिक आवद्ध भइरसेको महासचिव जनक चौधरीले जानकारी दिए।
जसमा ७७ करोड रुपैयाँ जम्मा भएको र ८ जना आश्रित परिवारले पेन्सन सुविधा समेत लिन थालेको चौधरीले बताए । ‘यो कार्यक्रम सोचेजस्तो तीब्र रुपमा अगाडि बढेको छैन। यसलाई पूर्ण रुपमा कार्यान्वन गर्न सबै जुटनुपर्छ’ चौधरीले भने।
जिफन्टले यस वर्ष न्यूनतम बेतन पुनरावलोकन गर्ने वर्ष भएको महंगीका आधारमा श्रमिकका पारिश्रमिक पनि वृद्धि गरिनुपर्ने उपाध्यक्ष कमल गौतमले बताए।