बुटवल–२०७२ सालको नाकाबन्दीअघि प्रायः परिवारसँग एउटा मात्र एलपी ग्यासको सिलिण्डर हुने गर्दथ्यो। नाकाबन्दीको कष्टकर समयमा चुलो बाल्न समस्या भयो, त्यसपछि चुलोमा थपियो अर्को सिलिण्डर।
बजारमूल्य भन्दा निकै बढी मूल्य तिरेर भएपनि एउटा परिवारले २ वा त्यो भन्दा बढी सिलिण्डर राख्न थाले। होटलहरुले पनि दर्जनौको संख्यामा नयाँ सिलिण्डरको जोहो गरे। नाकाबन्दी पछि सिलिण्डर थुपारेर राख्नुपर्ने अवस्था आइपरेको छैन। तरपनि धेरैजसोको घरमा दुई वा दुईभन्दा बढी सिलिण्डर थिए।
अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण र त्यसको असरका कारण इन्धन लगायतका सामान अभाव हुने हल्ला फैलिएका बेला फेरि उपभोक्ताहरुको ध्यान सिलिण्डर ग्यास जोहो गर्न तिर गएको छ।
घरमा भएको खाली सिलिण्डर भरिहाल्ने हतारोले ग्यासको माग एकाएक बढेको छ।
ग्यास बिक्रेता संघ रुपन्देहीका पूर्व अध्यक्ष छविलाल गैरे भन्छन्–‘पहिले नाकाबन्दीका बेलामा किनेका २–३ वटा भाँडाहरु (सिलिण्डर) अहिले खोजीखोजी भर्न थालेका छन्, हिजोसम्म ग्यासको अडर गर्ने सूचीमा १ सय ६० जनाको नाम थियो, ८६ वटा ग्यास बेचें, आज ८० जना छन्, पुगेसम्मलाई ग्यास पठाउँछु।’
पहिले भन्दा ग्यास बिक्रिदर अहिले दोब्बर भएको गैरेले बताए। ‘अर्डर गरेर नाम टिपाउनेहरु तेब्बर छन्, ग्यास भएसम्म दोब्बर बढी विक्रि भएको छ–उनले भने–घरमा भएका खाली सिलिण्डर भर्नको लागि यस्तो हतारो छ, तर ग्यास स्टक पर्याप्त छ, यो क्रम भोलिपर्सीबाट अरु सहज बन्छ।’
माग बढेपनि आत्तिइहाल्न पर्ने अवस्था नभएको ग्यास बिक्रेताहरुले बताएका छन्। पहिले भन्दा अहिले बढी ग्यास आयात भएको ग्यास बिक्रेता संघको भनाइ छ । ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीप पन्तले एल पी ग्यास पहिले भन्दा धेरै आएको र कुनै कृतिम अभाव नभएको दाबी गरे। ‘सहज तरिकाले बिक्री भइरहेको छ, हिजो पनि म पश्चिम सालझण्डीसम्म पुगेको थिएँ, भित्री गाउँसम्म पनि के कसो छ भनेर हेर्न पुगेको थिएँ, आज तिलोत्तमा तिर पुग्दैछु–उनले भने–सरकारी संयन्त्रसँग मिलेर हामी अनुगमन पनि गर्दैछौं।’
अभाव नभएपनि उपभोक्ताहरु आत्तिएको पन्तको भनाइ छ। ‘दुइवटा सिलिण्डर हुनेले ४ वटा बनाएका छन्, ४ वटा भएकाले ८ वटा बनाउने कोशिस गरेका छन्’–उनले भने ‘होटलहरुले पनि ५ देखि १० वटा नयाँ सिलिण्डर थपिरहेका छन्।’
पछिल्लो पटक ग्यास बिक्रेता महासंघ र नेपाल सरकारको वाणिज्य विभागबीचको बैठकले अनावश्यक रुपमा नयाँ सिलिण्डर नबेच्ने निर्णय गरेको छ। सोही निर्णयको आधारमा आफूहरुले पनि बैठक बसेर त्यो निर्णय सर्कुलर गर्ने ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष पन्तले बताए।
‘हामी पनि अब सकभर नयाँ सिलिण्डर नबेच्ने निर्णय गर्दैछौं, तर ग्राहकले ल्याएको सिलिण्डर तुरुन्तै साट्छौं–उनले भने–आज हामी बैठक बसेर यो निर्णय गर्दैछौं ।’
रुपन्देहीमा त्रिशुल, स्वस्तिक, सिद्धार्थ र बुटवल ग्यास गरी ४ वटा ग्यास उद्योग छन्। ५ सय ७८ जना ग्यास बिक्रेता रहेका छन्।