कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका हाटबजार कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै बन्द गरिएको छ।
नगरपालिकाको विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न भिडभाडमा नजान अनुरोध गर्दै साप्ताहिक रुपमा नगरको विभिन्न स्थानमा लाग्ने कृषि हाट बजार, पशु बजार संचालनमा रोक लगाएको छ। मंगलबार बसेको विपत व्यवस्थापन समितिको बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड, भोजभतेर पार्टी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ।
हाट बजारहरुमा भिडभाड धेरै हुने र भारतीय व्यापारी पनि गर्न आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन हाट बजार संचालन रोकिएको विपद व्यवस्थापन समिति संयोजक तथा नगर प्रमुख नेत्रराज अधिकारीले बताए । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन।
कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने उनले बताए । कोरोनाको संभावितहरुका लागी नगरपालिकामा रहेको संजिवनी सामुदायिक अस्पताल र चन्द्रौटा हस्पिटल प्रा.लि.मा तत्कालका लागी १/१ वटा आइशोलेशन वार्ड तयार गर्न लगाइएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए।
खुला सिमा रहेको र भारतमा समेत कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा कृष्णनगर नाकामा स्वास्थ्य हेल्प डेक्स संचालन भएको उनले बताए। अहिले भारतबाट नेपाल तर्फ आउनेहरुको संख्या चाढपर्वमा जस्तै बढेकोले अझ सतर्कता अपनाउनु पर्ने उनले जनाए।
धेरै भन्दा धेरै अपनाउनु पर्ने सर्तकताबारे संचार माध्यमबाट प्रचार प्रसार भइरहेको पौडेलले जनाए। ६ गतेबाट संचालन हुने एसइइ परिक्षाका केन्द्रहरुमा पनि स्वास्थय हेल्प डेक्स राखिने स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए। सबै स्वास्थ कर्मिहरुलाई अत्यावश्यक बाहेक विदामा नबस्न अनुरोध समेत गरिएको उनले बताए ।
सचेतनाका लागी मानिसहरुको भिडभाड हुने ठाँउहरुमा होर्डिग बोर्डहरु राखिएको पर्चा पम्प्लेट बाडिएको समेत उनले बताए ।