बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण सुरु गरेको छ। हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ।
विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका विरुवाको लगत माग गरेकोमा सोही मागअनुसार फलफूलका विरुवामा अनुदान दिइएको जनाएको छ ।
नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायतका फलफूलका विरुवामा अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले वनस्पतिजन्य विरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमा अभियान चलाएको तिलोत्तमा नगरपालिकाले नगर सरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।सोही अनुसार यो वर्ष पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले बताए।