बुटवल–अहिले लुम्बिनी प्रदेशबाट उत्तर तर्फ पहाडी र हिमाली जिल्ला तर्फ जान पर्यो भने मुख्य गरि सिद्धार्थ राजमार्ग भएर जानु पर्दछ । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी उत्तर दक्षिण सडकको रुपमा सिद्धार्थ राजमार्ग छ । अबको केही वर्षमा दुई प्रदेश जोड्ने गरी उत्तर दक्षिण सडकको रुपमा सिद्धार्थ राजमार्ग मात्र रहने छैन।
रुपन्देही पश्चिमबाट पनि अर्को मुख्य सडकबाट पहाडी जिल्ला हुँदै हिमाली भेग तर्फ जान सकिन्छ।
निर्माणाधिन सालझण्डी सन्धिखर्क ढोरपाटन सडक तयार भएमा उत्तर दक्षिण मार्गको विकल्प मात्र होइन ५ जिल्लाको लागि यातायातमा सहजता समेत ल्याउँछ। सडक निर्माण सकिएपछि केही वर्षमा रुपन्देहीबाट अर्घाखाँची, गुल्मी बाग्लुङ सहित मुक्तिनाथ जानको लागि पनि दुरी छोटो र सहज हुने छ।
कुल १ सय ८५ किलोमिटर लम्बाइको सडक मध्ये रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र वाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट गोरुसिंहे हुँदै बुटवल आउन १ सय १३ किलोमिटर जति पर्दछ। यो सडक बनेपछि २५ किलोमिटर जति दुरी घट्ने छ। सडक कालोपत्रे भएमा तराइसँगको पहुँच निकै सहज हुने तथा विचका बस्तीहरुको विकास हुने सन्धीखर्क नगरपालिकाका प्रवक्ता लिलाराम गौतम बताउँछन्।
‘बुटवलसँगको दुरी नजिक हुनेछ। सडकले छुने बलेवाङ, पाली, देउराली लगायतका स्थानमा बजार व्यवस्थापन हुने छ।’ उनले भने ‘त्यस बाहेक चिवेक मैदान, पटौती, पाल्पाको खुर्सानेबारी जस्ता ठाउँमा पनि आर्थिक विकास हुने छ।’ यी ठाउँमा उत्पादन भएका कृषि उपजहरुको बजारीकरण सहज हुने र उद्योग व्यवसाय पनि फस्टाउने गौतमको भनाइ छ।
सालझण्डी सन्धीखर्क ढोरपाटन सडकले पश्चिम गुल्मीका स्थानियलाई पनि तराइसँगको पहुँचमा निकै सहज पुराउँछ। सडक निर्माणले गुल्मीको मदाने गाउँपालिकाको मुहार बदल्दै छ।
गाउँपालिकाका ७ वटा वडा मध्ये ५ वटा वडालाई यो सडकमार्गले छुन्छ। मदानेबासीलाई पाल्पा भएर बुटवल आउँदा झण्डै ६ घण्टा लाग्ने गर्दछ। सालझण्डी सन्धिखर्क ढोरपाटन सडक बनेपछि आधा छोटो हुने मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केशी बताउँछन्।
‘कालोपत्रे भयो भने सन्धीखर्क, सालझण्डी हुँदै साढे ३ घण्टामा बुटवल पुगिन्छ।’ उनले भने ‘पाल्पा तिरबाट जाँदा निकै घुमाउरो र अफ्ठयारो बाटो छ । यताबाट धेरै सहज र सजिलो यात्रा पनि हुने छ।’
केसीले सडक निर्माण भएपछि गाउँघरमा उत्पादित तरकारी, दुधले बजार पाउने आशा गरेका छन्। अहिले मदानेमा औद्योगिक ग्राम पनि बन्न लागेको छ।
सडकले मदानेको आर्थिक विकास पनि निकै अघि बढ्ने गाउँपालिका अध्यक्ष केशीको दाबी छ। यो सडक बनेमा पर्यटकिय क्षेत्र ढोरपाटनलाई लुम्बिनीको पर्यटनसँग जोड्न पनि सकिन्छ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बाग्लुङको ढोरपाटनसम्म पुग्ने गरी सडक निर्माणको काम भइरहेको छ ।
सडक निर्माणको लागि २०६५ सालबाट ट्रयाक खोल्ने काम सुरु भएको थियो। ट्रयाक खुलीसकेपछि अहिले कच्ची सडकबाट ओहोर दोहोर गर्न सकिन्छ। तर सन्धीखर्कको केही ठाउँमा विबादका कारण ट्रयाक खोल्ने काम बाँकी छ।
अहिले सालझण्डीबाट कञ्चन खोलासम्मको सडक कालोपत्रे नै छ। पाल्पा र अर्घाखाँची तर्फ २२ किलोमिटर जाति सडक कालोपत्रे गर्न बहुवर्षे ठेक्का लागेको सडक आयोजनाका प्रमुख विरेन्द्र प्रसाद गौतमले जानकारी दिए।
‘कञ्चन खोलाबाट खुर्सानेसम्मको लागि १३ किलोमिटर सडकको लागि ठेक्का प्रक्रिया अघि बढेको छ। उता अर्घाखाँचीको बलेवाङदेखी सन्धीखर्क तर्फ ९ किलोमिटर कालोपत्रेको प्रक्रिया पनि अघि बढेको छ।’ उनले भने ‘खुर्सानेबाट अर्घाखाँची तर्फ २२ किलोमिटर सडकको लागि पनि ठेक्का माग गरेका छौं।’ हाल २ किलोमिटर जति सडक भने कालोपत्रे छ ।
समयमा बजेट आएमा प्याकेज प्याकेजमा ठेक्का दिन पाएमा अबको तीन चार बर्षमै सडक निर्माण सकिने गौतमको भनाइ छ। दुई लेनको उक्त सडकको ७ मिटर चौडाइ भाग कालोपत्रे हुने छ।