बुटवल-अहिले बुटवलबाट रुपन्देहीको दक्षिणी भेग मर्चवारमा जान पर्दा सिद्धार्थ राजमार्गको भैरहवा जानुपर्छ । त्यसपछि भैरहवाबाट लुम्बिनी रोड हुँदै केही पश्चिम लागेर फेरी दक्षिण लाग्नुपर्दछ ।
अबको केही वर्षमा तिनाउको किनारै किनार छोटो समय र दुरीमा मर्चवार पुग्न सकिने छ। तिनाउ नदिका दुवै किनारमा सडक निर्माण सुरु भइसकेको छ ।
यसलाई तिनाउ करिडोर नाम दिइएको छ । नदि किनारको सडकले आसपासका स्थानियबासीलाई यातायातमा सहजता ल्याउने छ । बुटवलको तिनाउ पुल नजिक जिरो पोइन्टबाट सुरु भएको सडक बुटवल उपमहानगरको मोतिपुर, तिलोत्तमा नगरपालिका, सुद्धोधन नगरपालिका, सियारी गाउँपालिका, ओमसतिया गाउँपालिका, मायादेवी गाउँपालिकाका विभिन्न ठाउँ हुँदै मर्चवार क्षेत्रमा पुग्ने छ ।
हरियाली सहित नदिको दुबै किनारमा बन्ने सडकले सुन्दरता पनि थप्ने छ। २२ मिटर चौडाइको सडक क्षेत्र मध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात रुखहरु रोपेर हरियाली बन्ने छ । बाँकीमा १२ मिटरमा सडक संरचना हुने डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर कृष्ण कुँवरले बताए । ‘सात मिटर कालोपत्रेले समेट्ने छ । सडकको दुवै किनारमा दुई दुई मिटरको फुटपाथ हुने छ। आधा–आधा मिटरको नाली हुने छ’–उनले भने ।
तिनाउ करिडोरमा बुटवलबाट मर्चवारस्थित दानव नदीसँग पुनर्मिलन भएको ठाउँसम्म सडक बनाउने सरकारको योजना छ ।
अहिलेलाई साढे १७ किलोमिटर दुरीको लागि नदीको दुबै तर्फ गरी ३५ किलोमिटर सडकको लागि डिपिआर तयार भइसकेको छ । यो बुटवलबाट अमुवासम्मको दुरी हो । त्यस मध्ये बुटवलकोे जिरो प्वाइन्ट (तिनाउ र दानव छुटिएको स्थान) बाट मगरघाटसम्म सडक निर्माण सुरु भइसकेको छ । नदिको दुबै तर्फ गरी ७ किलोमिटर सडक बन्न लागेको हो ।
बुटवलको तिनाउ पुल नजिकबाट दानाव नदी छुट्टिएर बेलवास, नयाँ गाउँ हुँदै पश्चिम तर्फ गएको छ । तिनाउ जस्तै दानव नदीका दुवै किनारमा पनि सडक बन्ने छ । दानव करिडोर अन्तर्गत शुद्धोधनको नौडिहवासम्म सडक निर्माण हुने लक्ष्य राखिएको छ । दानव करिडोले पनि बुटवलको सेमलार, गैडहवा गाउँपालिका लगायतका क्षेत्रलाई समेट्ने छ ।
दानव करिडोरमा बुटवलबाट कर्शाघाटसम्म साढे ७ किलोमिटरका दरले दुवै तर्फको १५ किलोमिटरको लागि डिपिआर तयार भएको हो । डिपीआर मध्ये ३ किलोमिटर सडकको निर्माण सुरु भइसकेको छ ।
डिपिआर भएको मध्ये मगरघाटबाट अमुवासम्म र नयाँ गाउँबाट कर्शाघाटसम्म सडकका लागि बजेट आएमा छिटटै ठेक्का प्रक्रिया अघि बढाउने डिभिजन सडक कार्यालयले जनाएको छ ।
तिनाउ करिडोरको अमुवाबाट दक्षिण र दानव करिडोरको कर्शाघाटबाट पश्चिम तर्फ गरी ८० किलोमिटर सडकको डिपिआर हुन भने बाँकी छ । यसको सर्वेको काम अघि बढाउने तयारीमा रहेको कुँवरले बताए ।