बुटवल–तराईका धेरै ठाउँमा जिल्ला सदरमुकाम दक्षिण भेगमै छन् । यहाँका बजार पुराना हुन्। लुम्बिनी प्रदेशमा तराई क्षेत्रमा ६ वटा जिल्ला पर्दछन् । यस मध्ये दाङको घोराही बाहेक बाँकी सबै सदरमुकाम जिल्लाको दक्षिण भेगमै छन् ।
अर्थात पूर्वपश्चिम राजमार्ग भन्दा २० देखि ४० किलोमिटरको दुरीमा पर्दछ । केही वर्ष अघि सम्म एउटा जिल्लाको सदरमुकामबाट आसपासको अर्को जिल्ला सदरमुकाम जान बढी दुरी पार गर्नुपर्दथ्यो ।
उत्तरतर्फ नआइ जाँदा पनि सहज बाटो थिएन । अहिले पनि कतिपय ठाउँमा सडक भएपनि यातायात सहज छैन । तराईका जिल्ला सदरमुकामहरुलाई एक आपसमा नजिक गराउने र पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा हुलाकी राजमार्गको अवधारणा अघि बढाइएको हो ।
यसका साथै दक्षिण तर्फको बस्तीको पनि विकास होस भन्ने हुलाकी राजमार्गको उदेश्य रहेको छ । हुलाकी राजमार्ग अन्तरगत केही ठाउँमा सडक निर्माण भइसकेको छ भने कतिपय ठाउँमा निर्माण भइरहेको छ ।
रुपन्देही र बर्दियामा हुलाकी सडक कालोपत्रेको काम लगभग सकिएको छ । नवलपरासी, कपिलवस्तु र बाँकेमा केही भाग कालोपत्रे भएको छ भने कतिपय ठाउँमा बल्ल काम सुरु भएको छ। यस्तै दाङ जिल्लामा पर्ने हुलाकी सडकमा भने अझै कालोपत्रे हुन सकेको छैन ।
हुलाकी सडक अन्तर्गत पर्ने भैरहवा परासी सडक पहिले नै दुई लेनमा कालोपत्रे भएपनि परासी पूर्वको सडक एक लेनको मात्र कालोपत्रे छ । परासीबाट त्रिवेणीसम्मको २७ किलोमिटर सडक मध्ये यस वर्ष ११ किलोमिटरको लागि ठेक्का लागेको हुलाकी राजमार्ग आयोजना कपिलवस्तुका प्रमुख रामकुमार देवले बताए ।
‘परासी–त्रिवेणी सडकको सुरुको ११ किलोमिटर ठेक्का लागेको छ । जस मध्ये ७ किलोमिटर कालोपत्रे भइसकेको छ । ४ किलोमिटर अब कालोपत्रे हुँदै छ–उनले भने–‘एक लेनको सडकको पुरानो कालोपत्रेलाई उधारेर नयाँ दुइलेनको सडकमा विस्तार गर्नुपर्दछ ।’ कपिलवस्तुमा रहेको कार्यालयले नवलपरासी पश्चिम र रुपन्देही जिल्ला समेत हेर्दछ ।
हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको सदरमुकाम तौलिहवा पश्चिमको सडक भने अझै कच्ची छ। तौलिहवादेखी दाङको सिमासम्मको सडकमा कालोपत्रे भन्दा अघिको कल्भर्ट निर्माण लगायतका काम भइरहेको आयोजना प्रमुख रामकुमार देवले बताए ।
तौलिहवा भन्दा पश्चिम महाराजगञ्ज नगरपालिका र कृष्णनगर नगरपालिका पर्दछ । हुलाकी सडक बनेमा दक्षिण पश्चिम कपिलवस्तुबासीलाई ओहोर दोहोरमा निकै सहज हुने छ ।
‘कोरोनाको महामारी नभएको भए सडक निर्माणमा धेरै प्रगति हुन्थ्यो होला, अहिले अलि अली काम भइरहेको छ ।’ महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामले भने ।
चार लेनमा सरर भैरहवा लुम्बिनी सडक
भैरहवा–लुम्बिनी–तौलिहवा सडक अब हिजोको जस्तो छैन । सडक विस्तार भएपछि अब सहज र छिटो भैरहवाबाट लुम्बिनी पुग्न सकिन्छ ।
भैरहवादेखि गौतमबुद्ध विमानस्थलसम्म ६ लेन, विमानस्थलबाट लुम्बिनीसम्म ४ लेनमा सडक छ । बीचमा डिभाइडर र दायाँ बायाँ दुइ–दुई लेनको सडक बनेपछि पर्यटकहरुलाई लुम्बिनी पुग्न निकै सहज भएको छ।
लुम्बिनीको पर्यटकिय विकास र पव्रद्र्धनमा यो सडकले महत्पूर्ण टेवा पुर्याउने आशा गरिएको छ । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा पर्यटकको चाप बढ्ने आशा गरिएको छ ।
अन्तराष्ट्रिय विमानस्थलमा झरेर भैरहवा हुँदै लुम्बिनी आउने पर्यटकको सहजताको लागि सडक चार लेनमा विस्तार गरिएको हो ।
लुम्बिनीदेखि तौलिहवासम्मको सडक दुईलेनमा विस्तार भएको छ । एक लेनमा सञ्चालन भइरहेको सडक दुई लेनमा विस्तार भएपछि लुम्बिनी आएका पर्यटकलाई बुद्धले २९ वर्ष बिताएको तिलौराकोट जान पनि सहज भएको छ ।
भैरहवा–लुम्बिनी–तौलिहवा सडक हुलाकी राजमार्गमै पर्दछ । तर अहिलेको सडक विस्तारको काम हुलाकी राजमार्ग निर्देशनालयले भने हेरेको छैन । एशियाली विकास बैंकको सहयोगमा छुट्टै आयोजना मार्फत भैरहवा–लुम्बिनी–तौलीहवा सडक विस्तार भएको हो ।
एसियाली विकास बैंकको सहायतामा दुई अरब ८ करोडको लागतमा भैरहवा लुम्बिनी तौलिहवा सडक विस्तार कार्य सम्पन्न भएको हो ।
४१ किलोमिटर सडक विस्तारको काम गत डिसेम्बर ३० मा सकेर आयोजनाले अहिले मर्मत सम्भारको चरणमा रहेको भैरहवा– लुम्बिनी–तौलिहवा सडक आयोजनाका प्रमुख प्रदीपराज शाक्यले जानकारी दिए ।
‘कोरोना संक्रमणको महामारीका कारण ११ महिना म्याद थप्नुपर्यो। अब मर्मतको क्रममा रहेको छ ।’ उनले भने ‘बस्तीहरुमा सडक पेटी पनि बनाउनु पर्छ । केही ठाउँमा ती काम बाँकी छ ।’
बर्दियामा लगभग काम सम्पन्न
हुलाकी सडक निर्देशनालय अन्तर्गत नेपालगञ्जमा रहेको कार्यालयले दाङ, बाँके र बर्दिया गरी ३ जिल्ला हेर्छ । तीन जिल्ला मध्ये बर्दिया हुलाकी सडकको सबैजसो भाग कालोपत्रे भइसकेको छ। बाँकेमा केही कालोपत्रे भएपनि केही बाँकी छ ।
दाङमा भने हालै मात्र ठेक्का लागेर काम सुरु भएको छ । बर्दियाको भुरीगाउँ–गुलरिया–मुर्तिया ३६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।
बेलवा चोकबाट सतिसम्मको २६ किलोमिटर कालोपत्रे पनि सम्पन्न भएको छ । बाँकेमा ४४ किलोमिटर जति कालोपत्रे भइसकेको र केही बाँकी रहेको हुलाकी सडक कार्यालय नेपालगञ्जका योजना प्रमुख गागल भण्डारीले बताए ।
‘नेपालगञ्ज बगौडा ४४ किलोमिटर सडक गत वर्ष नै कालोपत्रे भइसकेको छ। अर्को २१ किलोमिटर सडकमा ग्राभेलको काम हुँदै छ’–उनले भने ।
हुलाकी सडक अन्तर्गत दाङको सडकमा भने अझैसम्म कालोपत्रे भएको छैन । ‘अहिले ४० किलोमिटर सडकको ठेक्का लागेको छ । त्यसमा स्ट्रक्चरल र ग्राभेलको काम हुँदैछ ।’ योजना प्रमुख भण्डारीले भने ।
दाङको राजापुरदेखि बाँके जिल्लाको केही भाग समेत गरी ६० किलोमिटर इआइए नहुँदा ठेक्का लाग्न सकेको छैन । यो बीचमा जंगल परेकोले ढिलाइ भएको हो ।
पूर्व पश्चिम अर्थात महेन्द्र राजमार्ग जस्तै हुलाकी राजमार्ग पनि समानान्तर रुपमा मेचीदेखि महाकालीसम्म पुग्दछ । हुलाकी राजमार्ग बनेमा अहिले पिछडिएको दक्षिण तराइको विकासमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।