बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उद्योग व्यापारको क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।
रुपन्देही उद्योग संघको ४१ औं साधारण सभा तथा २१ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पौडेलले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा मुलुकको अर्थतन्त्र बलियो बनाउने बताए ।
उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारले नियम कानुन सहज बनाउँदै लगानी गर्ने वातावरण तयार गरिरहेको बताए । निजी क्षेत्रसंग सहकार्य गरेर सरकारले आर्थिक विकास गर्न चाहेको उल्लेख गर्दै उनले नीजि क्षेत्रका समस्याप्रति सरकार गम्भीर रहेको बताए ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले उद्योगी व्यवसायिका समस्या समाधान गर्नका लागि सरकार र जनप्रतिनिधि लागि पर्ने प्रतिवद्धता जनाए । उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन नीजि क्षेत्रलाई सरकारले अभिप्रेरित गर्ने बताए ।
नेपाल– भारत बीचको समबन्ध राम्रो भएको उल्लेख गर्दै चीनसंको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको दाबी गरे । नेपाल र नेपालीको हितमा सरकारले छिमेकीहरुसंग सम्बन्ध बढाएको उनले बताए । उनले नेपालको विकासमा चीन र भारतको दह्रो साथ, समर्थन रहेको बताए ।