बुटवल–गेट छैन, बाँसको तगारो। गेटैमा मकैको सुली। अलि अघिल्तिर पुगेपछि ढिकी, जाँतो। माथिल्लो तलाकोे कौसीमा फर्सी, मकैका झुत्ता लहरै। सँगसँगै ओम् मने पद्मे हुँ।
ओहो ! बाजेबज्यैका पालाको मदुस पनि। बस्नलाई राडी (काम्लो)।
यो परिदृश्य कुनै पहाडी गाउँको मगरको घर होइन। पहाडी गाउँमा बरु यस्ता घर रहेनन् अब। उहिलेको पालाको झल्को दिने मगर शैलीको रेष्टुरेण्ट हो यो बुटवलको मध्यबजारमा। घरमात्रै पनि हैन यो।
यहाँँ परम्परागत नेपाली र मगरका परिकार खान पाइन्छ, हेर्न पाइन्छ। उहिलेका खानेकुरा, उहिलेका संस्कृति, जीवनशैली, संस्कार सबैको मिश्रण भएको रेष्टुरेण्ट हो यो। मगर्स किचन नाम दिइएको यो रेष्टुरेण्टको औपचारिक शुरुवात हुन बाँकी नै छ। तर थाहा पाएजतिका कस्तो बनेको रहेछ भन्दै हेर्न गइरहेका छन्।
यस्तो परम्परागत शैलीको रेष्टुरेण्ट बनाउने व्यक्ति हुन्, कला साहित्यमा सक्रिय सञ्जय काउछा। उनी ४४ वर्षका भए। उनलाई धेरै अघिदेखि यस्तो रेष्टुरेण्ट बनाउने सोंच आएको थियो। भन्छन्–करीब ८ वर्ष अघि काठमाडौं सुन्धारामा एउटा होटलमा खाना खाँदै गर्दा एकजना साथीसँग कुरा गरेका थिए। त्यही सोंच करीब ८ वर्षपछि उनले कार्यान्वयन गरेका छन्।
मिलनचोकबाट तिनकुने गएपछि केही उत्तरतर्फ रेग्मी पथमा (सिमरन होटलभन्दा केही अघि) घर भाडामा लिएर यस्तो संरचना बनाएका छन् काउछाले। पूरानो शैलीको रेष्टुरेण्ट बनाउने रहर पूरा गर्न करीब ५० लाख रुपैयाँ खर्चिए उनले। अझैपनि निर्माणकै क्रममा छ।
‘गुल्मीको फोक्सिङकोटबाट घर छाउने ढुंगा ल्याएर पूरानै शैलीको छानो राखेँ, त्यसकालागि नै १ लाख रुपैयाँ खर्च भयो, उनी आर्थिक हिसाबकिताब सुनाउँछन्–सानो सानो काम भनेर शुरु गर्यो, गर्दागर्दै धेरै खर्च आउँदो रहेछ।’
उनी व्यवसाय क्षेत्रका अनुभवी हैनन्, यसैले उनी सिक्दैछन्। फिल्मी शैलीका व्यक्ति हुन्। कोरियामा करीब ४ वर्ष बिताएर नेपालमै केही गर्छु भनेर फर्किएका व्यक्ति। मगर भाषाका फेच्र्छ नमखान (सूर्योदय हुँदैछ), मि फुरुङ (कोपिला) र डु यु लभ मी नामका ३ वटा चलचित्रको लेखन र निर्देशन गरेका उनका दिमागमा अनौठो रहर पलाएको रहेछ ८ वर्षअघि।
अझै, उनी त गीतहरुमा पनि अभिनय गरेका छन्। सबैको नजरमा.., दुइटा औंठी, हृदयमा टाँसी र ए मेरी दिलकी रानीलगायतका गीतमा अभिनय गरेका छन् उनले। कविता पनि उस्तै लेख्छन् उनी।
जीवनको एउटा नमिठो अनुभवलाई उनले पूस्तकमा उतारेका छन्। जिन्दगी कथा संग्रह उनकै कृति हो।
उनी परिवारसहित मनकामना घुमेर फर्किदैगर्दा दुर्घटनामा परे। दुर्घटनामा परी परिवारका सबै घाइते भए। ‘घरका हामी ६ जना र अरु ३ जना गरी ९ जना थियौं, उनी सम्झिन्छन्–मन्दिर दर्शन गरेर फर्किदैगर्दा मुग्लिननजिकै गाडी दुर्घटना भयो, छोरा अढाई महिना कोमामा गयो, मृत्युको मुखमा पुगेर फर्कियौं।’
त्यसपछि उनलाई लाग्यो, जिन्दगी त कतिखेर के हुन्छ भन्ने ठेगान नै रहेनछ। अनि उनले आफ्नो रहर पूरा गर्न र केही आर्थिक हिसाबले पनि बलियो हुन रेष्टुरेण्टलाई छिटै नै चलाउने योजना बनाए।
नयाँ क्षेत्रमा रहरैरहरले प्रवेश गरेका उनलाई साथ दिइरहेका छन् युवा साहित्यकार मीन रानाले। उनी रेष्टुरेण्टलाई पहिचानसँग जोडेका छन्। ‘हामीहरुले पहिचानका कुरा राजनीतिमा मात्रै गर्यौं, अब हामीले त्यो पहिचानलाई व्यवसायसँग जोड्नुपर्छ भनेर यो कन्सेप्ट आएको हो, सञ्जय दाईको परिकल्पनालाई अरु थपथाप गर्दै राम्रो बनाउने प्रयास छ, उनले भने।
के पाइन्छ मगर्स किचनमा
नेपाली परिकारलाई ब्राण्डिङ गर्ने सोंच छ काउछाको। नेपाली खाना सेट, कोदो र फापरको ढिडो, आटो, जेठोबुढो चामल (पोखरेली चामल)को भात, जुम्ली सिमीको दाल, काभ्रो, बुँगोको अचारलाई उनले मेन्युमा राखेका छन्।
हरेक परिकारसँग सिस्नो सँगै आउँछ। मगरका परिकारहरु बारा (बटुक), सेल, पिडाँलु, तरुल, चुकाउनी, पोर्कका परिकारहरु पनि इच्छाअनुसार पाइन्छ।
पहाडका स्थानीय जात (लोकल) कुखुराको मासु, बोकाको मासु, गोर्खाली अचार पनि उनले मेन्युमा राखेका छन्।
‘पहाडमा घरमा जे जसरी पकाइन्थ्यो, त्यसरी नै खाना पकाउने र खुवाउने खोंच हो, काउछा भन्छन्–मसला पनि सिलौटामा पिस्ने, भुटेको मकै, मही, सर्बत, भकिम्लोको सर्बत खुवाउने र हाम्रा पहाडतिरका खानेकुरा तराइमै बसेर पनि स्वाद लिन पाउने बनाउन खोजेका छौं।’