बुटवल–रुपन्देहीका दुई ठूला आवादी भएका सहर हुन्, बुटवल र भैरहवा । यी सहरको पाइला पछ्याउँदैछ–उदाउँदो तिलोत्तमाले ।
फराकिला सडक, अपांगमैत्री आकासे पुल, अन्तर्राष्ट्रिय विमानस्थल, तारे होटेल, औद्योगिक पार्क, रंगशाला, भव्य सभाहल, मल्टिप्लेक्स तथा सपिङ मल, लुम्बिनी पुग्ने चिल्ला सडक... के छैनन् यी सहरमा ।
यहाँको पूर्वाधार विकासले सिद्धार्थ, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकालाई जोडेर महानगरपालिकाका रुपमा विकास गराउने अवधारण झनै सम्भावित बन्दै गएको छ ।
दुई ठूला कम्युनिष्ट ‘हेविवेट’ विष्णु पौडेल, घनश्याम भूसाल, कांग्रेसका बालकृष्ण खाँण र राप्रपाका दीपक बोहोराको निर्वाचन क्षेत्र भएको जिल्ला हो रुपन्देही ।
पूर्वाधार विकासमा कुनै कसर नराख्न यहाँका केन्द्रीयदेखि स्थानीय नेताहरु लागिरहेका छन्् । ढल निकास, ग्रिनरीलगायतलाई ध्यानमा राखेर सहरको सौन्दर्यता कायम गर्ने गरी सडक बिस्तार भइरहेको हेर्दा लाग्छ, समृद्धिको सुरुवात रुपन्देहीबाटै भइरहेका छन् ।
धेरै योजना कार्यान्वयनका चरणमा छन्, कतिपय सम्पन्न भइसकेका छन्् । त्यस्ता केही आयोजनाहरुको अवस्थाबारे यहाँ चर्चा गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनका लागि पूर्वतयारी सुरु गरिएको नागरिक उड्ड्यन प्राधिकरण बताउँछ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको यो विमानस्थल निर्माण पूरा भएको थप तीन महिनाभित्र सञ्चालनमा ल्याउने प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्री बताउँछन् ।
अहिले विमानस्थलको अन्तिम चरणका कामहरु भइरहेको उनको भनाइ छ ।
विमानस्थल सञ्चालनका लागि प्राधिकरणले आफ्नो दरबन्दी संरचना परिवर्तन गरेर विमानस्थलका लागि कर्मचारी तयार गरिसकेको छ ।
प्रशासन, फायर सेफ्टी, इलेक्ट्रिकल, एटिसी, इन्जिनीयर लगायत विभागका लागि विभिन्न पदमा ९० जनाभन्दा बढी कर्मचारी तयार गरिसकेको छ ।
विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार हाल यस विमानस्थलको प्राविधिक काम साइटमा उपस्थित हुनसक्ने जनशक्तिको संख्याअनुसार भइरहेको छ ।
‘सबै प्राविधिकहरु एकैचोटी आउने सम्भावना नभएकाले उपलब्ध प्राविधिक जनशक्तिहरुबाट बाँकी कामहरु भइरहेको छ,’ अधिकारीले भने ।
विमानस्थल सञ्चालनमा आउनका लागि भारतले एअर रुटको अनुमति पनि दिनुपर्छ । अहिलेसम्म भारतले यसमा सकारात्मक छैन ।
यसकारण गौतम बुद्ध विमानस्थल तयार भएर पनि सञ्चालनमा ल्याउनका लागि भारततर्फको एयर रुट पर्मिट सबैभन्दा ठूलो समस्या देखिएको छ ।
तर, यो समस्या छिट्टै समाधान हुने आयोजना प्रमुख प्रवेश अधिकारी बताउँछन्् । यसका लागि प्राधिकरणले भारतसँग समन्वय गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको यो विमानस्थल सञ्चालनमा आएपछि भैरहवा विदेशी मुलुकसँग सीधा सम्पर्कमा जोडिनेछ ।
र, पर्यटकीय गतिविधि पनि बढ्नेछ । विमानस्थलले बर्सेनी १० लाखभन्दा बढी यात्रुलाई सेवा दिने अपेक्षा गरिएको छ ।
औद्योगिक केन्द्र
रुपन्देही औद्योगिक विकासको हब नै बनेको छ । २०७४ सालको एक तथ्याङ्कका अनुसार लुम्बिनी प्रदेशका सबै जिल्ला मध्ये रुपन्देहीमा सबैभन्दा धेरै ठूला उद्योगहरु दर्ता भएका थिए । त्यो क्रम त्यसपछिका वर्षहरुमा पनि दोहोरिएको दाबी यहाँका उद्योगीहरुले गरिरहेका छन् ।
भैरहवा क्षेत्र उद्योगीको आकर्षक क्षेत्र बनेको छ । विशेष आर्थिक क्षेत्र अर्थात् सेज र लुम्बिनी औद्योगिक करिडोर भैरहवामा छन् । यी क्षेत्रमा दर्जनौ उद्योगहरु सञ्चालनमा आएका छन् । सेज पूर्ण रुपले सञ्चालनमा आएपछि औद्योगिक चलायमान बढ्ने यहाँका उद्योगीहरुको विश्वास छ ।
लुम्बिनी उद्योग करिडोरमा एक दर्जन सिमेन्ट उद्योग छन् । त्यहाँ सिद्धार्थ, जगदम्बा, अर्घाखाँची, रिलायन्स, विशाल, गोयन्का, अग्नि, ब्रिज, अम्बुजा, सुप्रिम, पाठक सिमेन्ट उद्योग सञ्चालनमा छन् ।
अहिले भैरहवा–परासी करिडोरमा ठूल्ठूला उद्योग खुलिरहेका छन्् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, दाल, मैदा, बियर, साबुन, खाद्यान्न, छाला, चाउचाउ, बिस्कुट, कृषिजन्य उद्योगहरू भैरहवामा सञ्चालन भइरहेका छन् ।
बुटवलमा अहिले एउटा औद्योगिक क्षेत्र सञ्चालनमा छ भने अर्को निर्माणधीन छ । रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा ७० भन्दा धेरै उद्योगहरु सञ्चालनमा छन् ।
मोतीपुरमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माण गर्न अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरिसकेका छन्् । मोतीपुरमा ८ सय १३ विगाहा क्षेत्रफलमा उद्योगहरु सञ्चालनमा आउने छन्् ।
सुविधा सम्पन्न होटेल
रुपन्देहीमा होटेलहरु खुल्ने क्रम बढ्दो छ। गौतमबुद्धको जन्मस्थल, निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भौतिक पूर्वाधारको विकासका कारण ठूला र लक्जरियस होटेलहरु खुल्ने क्रम यहाँ तीब्र छ ।
मणिग्राममा १६ विघा क्षेत्रफलमा फैलिएको टाइगर रिसोर्ट रुपन्देहीको पहिलो पाँचतारे होटल हो । क्यासिनोसहितको यो होटेलमा झन्डै ५ अर्ब लगानी छ । पवनकुमार हलुवाईले लुम्बिनी रोडमा पाँचतारे पवन प्यालेस होटेल बनाएका छन् । भैरहवाको बेलहियामा अर्को पाँचतारे होटेल निर्माण भइरहेको छ ।
भैरहवा–परासी रोडमा रहेको बोधी रेडसन होटेलको स्तरोन्नति गरी पाँचतारे स्तरको बनाउने काम भइरहेको छ । बुटवलमा पनि तारे होटेलहरू खुलिरहेका छन्। अहिले लुम्बिनी र भैरहवा क्षेत्रमा टाइगर प्यालेस, होटेल कसाई, बुद्धमाया गार्डेन, होक्के, बोधी रेडसन, निर्भाणा, यति, ड्रिमल्यान्ड, जाम्बला, नान्स सञ्चालनमा छन् ।
यस्तै, बुटवलमा डार्सिज, आम्रपाली, वृन्दावन, एसियन, डेनोभो, अतिथि, सिद्धार्थ, न्यु एरा, सिन्दूरलगायत होटेल सञ्चालनमा छन् । यो क्षेत्रमा स्वदेशी तथा विदेशी बहुराष्ट्रिय होटेल ब्रान्डहरू पनि प्रवेश गर्दै छन् ।
फराकिला सडक
अहिले रुपन्देहीलाई मानिसहरुले फराकिला सडकको जिल्ला भनेर चिन्न थालेका छन् । भैरहवा र बुटवल सहर ६ लेनको सडकले जोडिएको छ । भारतीय सिमाना बेलहियासम्म जोडिएको साढे २७ किलोमिटर सडकमध्ये २० किमि भन्दा धेरै सडक निर्माण भइसकेको छ । बाँकीको काम तिब्र गतिमा भइरहेको छ ।
सर्भिस ट्र्याक निर्माण गर्ने काम जारी छ । ‘बुटवलको चौराहादेखि भैरहवाको बुद्धचोकसम्मको सडक निर्माण करिब सम्पन्न भइसकेको छ । यता चौराहादेखि चिडियाखोलासम्मको काम २०७९ असारसम्ममा सकिसक्छौं,’ डिभिजन सडक बुटवलका प्रमुख जयलाल मरासिनी भन्छन्,–‘त्यसपछि यहाँको सडक हेर्न लायक हुन्छ ।’
सडक निर्माण मात्रै भइरहेको छैन, यसको सौन्दर्यीकरणले मनमोहक पनि देखिएको छ । यो सडक पूर्ण रूपमा सम्पन्न भइसक्दा मुलुककै नमुना बन्नेछ । अहिले सर्भिस लेन, फुटपाथ, सर्भिस बोर्ड, स्ट्रिट लाइट, ग्रिनरीलगायतको काम भइरहेको छ ।
भैरहवाको बुद्धचोकदेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक फराकिलो बनाउने काम सकिइसकेको छ ।
बुद्ध चोकदेखि एयरपोर्टसम्म ६ लेन, एयरपोर्टदेखि लुम्बिनीसम्म ४ लेन र लुम्बिनीदेखि तौलिहवासम्म २ लेनको सडक बनाउन लागिएको छ । एडिबीको ऋण सहयोगमा स्तरोन्नति भइरहेको सडक निर्माणमा एक अर्ब ९३ करोेड खर्च हुनेछ ।
भैरहवादेखि लुम्बिनीसम्म १८ किमी सडकको करिब धेरै काम सकिएको छ । यो सडक बनेपछि लुम्बिनी पुग्ने पर्यटकलाई सहज हुनेछ । साथै, भैरहवा र लुम्बिनीको आकर्षण अझ बढ्नेछ ।
महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड पनि चार लेनमा विस्तार हुँदै छ । भैरहवाका भित्री सडक पनि एडिबीको सहयोगमा फराकिला हुँदै छन् ।
व्यवस्थित आवासीय सहर
केही वर्षअघिसम्म भैरहवा भन्नेबित्तिकै मानिसहरू नाक खुम्च्याउँथे । अव्यवस्थित सहर, जताततै फोहोर, मच्छड लाग्ने, गर्मी पनि उत्तिकै । पहाडबाट तराई झर्नेको रोजाइमा भैरहवा पर्दैनथ्यो ।
तर, अहिले परिभाषा फेरिएको छ, भैरहवा मुलुककै उदाहरणीय सहरका रूपमा उदाउँदै छ । फराकिला सडक, उद्योग र होटेलको हब, सडक छेउमा हरियाली, अन्तर्राष्ट्रिय विमानस्थल, व्यवस्थित ढल भैरहवाको विशेषता बन्दै छ । त्यसैले, अहिले घरजग्गाको मूल्य चर्किएको छ ।
भैरहवाले व्यवस्थित औद्योगिक, व्यावसायिक तथा आवासीय सहरका रूपमा परिचय बनाउँदै छ । बुटवल पनि फेरिँदै छ । सफा र फराकिला सडक । एकनासे आकर्षक घरहरू ।
तीनतिर अग्ला पहाडले घेरिएको, दक्षिणतर्फ विशाल मैदान । भिड कम, तर शिक्षितको बसोवास । बुटवल पुग्नेहरूलाई लाग्छ, यो विश्वकै व्यवस्थित आवासीय सहरमध्येको एक हो ।
मानव विकास सूचकांकमा पनि बुटवल धेरै अगाडि छ । स्थानीयको जीवनशैली फेरिँदो छ । साँझ परेपछि रेस्टुरेन्टका पार्किङ गाडीले भरिएका हुन्छन् । राम्रा रेस्टुरेन्टसँगै नाइट क्लब र स्तरीय दोहोरी साँझ खुलिरहेका छन् ।
दुवै सहरमा सपिङ मल बन्दै छन् । बुटवल र भैरहवामा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आइसकेका छन् । स्थानीयहरू मल्टिप्लेक्समा सिनेमा हेर्छन् ।
न्यु होराइजन, एभरेस्ट, प्यारामाउन्ट, सिद्धार्थ, तिलोत्तमा, मणिमुकुन्दजस्ता राम्रा स्कुल–कलेजमा छोराछोरी पठाउँछन्, जहाँ नर्सिङ र एमबिबिएससम्मको पढाइ हुन्छ ।
अपांगमैत्री आकाशे पुल
५० लाख जनसंख्या बस्ने व्यस्त राजधानीका सडकमा समेत नभएको अपांगमैत्री आकाशे पुल बुटवल र भैरहवा जोड्ने ६ लेनको सडकमा निर्माण भएका छन्् । बुटवल–भैरहवा ६ लेनको सडकको मुख्यमुख्य चोकमा ९ वटा अपांगमैत्री पुल बनिसकेका छन् ।
भैरहवाको बुद्धचोक, देवकोटा चोक र आँखा अस्पताल जाने बाटोमा आकाशे पुल बनेका छन्् । बुटवलतिर पनि चौराहालगायत ठाउँमा अपांगमैत्री आकाशे पुल बनाइएको छ ।
बुद्ध सर्किट
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर झन्डै दुई हजार किमि लामो बुद्धिस्ट सर्किटको परिकल्पना गरिएको छ ।
नेपाल र भारतलाई जोड्ने यो सर्किटअन्तर्गत बुद्धको जीवनका चारवटा महत्वपूर्ण परिघटनाका पवित्रस्थल समेटिएका छन्।
लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर बुद्धिस्ट सर्किटभित्र पर्ने धाम हुन् । यी चारधाम बुद्ध जन्मिएको, ध्यानमा बसेको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण (मृत्युवरण) गरेका स्थल हुन् ।
बुद्ध जन्मिएपछि जहाँजहाँ पुगे, त्यहाँत्यहाँ पुगेर बुद्धको जीवनलाई नजिकबाट अनुभूति गर्ने इच्छा विश्वभरका बौद्धमार्गीको हुन्छ ।
बुद्धिस्ट सर्किटले नेपाललाई फाइदा पु¥याउँछ । पछिल्लो समय नेपाल, भारत, भुटान, म्यानमारलगायत बुद्धिस्ट मुलुकलाई समेटेर छुट्टै बुद्धिस्ट सर्किट बनाउने बहस पनि चलिरहेको छ ।
मेडिकल तथा बैंकिङ हब
बुटवल र भैरहवा मेडिकलको हब बन्दै छ । भैरहवामा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल सञ्चालनमा छ ।
रण अम्बिका आँखा अस्पताल देशकै उत्कृष्ट आँखा अस्पतालमध्येमा पर्छ । भैरहवाको आँखा अस्पतालमा आउने ९० प्रतिशतभन्दा बढी बिरामी भारतीय हुने गरेका छन् ।
यसले ‘हेल्थ टुरिजम’ फस्टाउने देखिएको छ । बुटवलका लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल, सिटी हस्पिटल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, स्त्री रोगका लागि आम्दा अस्पताल प्रसिद्ध मानिन्छन् ।
‘क’ वर्गका सबै वाणिज्य बैंकले आफ्ना शाखाहरू बुटवल र भैरहवामा खोलेका छन्् । राष्ट्रियस्तरका विकास बैंकले पनि आफ्नो शाखा विस्तार गरेका छन् । साइन रेसुंगा डेभलपमेन्ट बैंकको प्रधान कार्यालय नै बुटवलमा छ । अधिकांश बैंकले प्रदेश कार्यालय खोलेका छन् ।
एकीकृत भन्सार जाँच चौकी
नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्दै छन् ।
नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । अझै भारतले जग्गा अधिग्रहणको काम सकिसकेको छैन ।
अहिले आइसिपी बनाउने भनिएको जग्गामा कन्टेनर पार्किङ गर्न थालिएको छ । भैरहवामा आइसिपी बनाउन भारतको तर्फबाट ढिलाइ भएको हो ।
भारतले तदारुकता देखाउनासाथ भैरहवामा आइसिपी निर्माण हुनेछ । ढिलोचाँडो भैरहवा नाकामा आइसिपी निर्माण हुनेछ । यसले आयात–निर्यातलाई अझ सहज बनाउनेछ ।
सभाहल र देशकै ठूलो प्रदर्शनीस्थल
बुटवलको राजमार्ग चौराहाबाट पूर्वपट्टि बुटवल मण्डपको कुल जग्गा साढे १६ बिघाभित्र बन्ने गरी देशकै ठूलो प्रदर्शनी स्थल र सभाहल निर्माण भइरहेको छ । अहिलेसम्म प्रदर्शनीस्थलको २५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने सभा हलको ६५ प्रतिशत ।
नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गतको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेको थियो ।
क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएर काम अगाडि बढाएको भएपनि कोरोना महामारीले प्रदर्शनी स्थलको कार्यप्रगतिमा केही असर पुगेको आयोजना प्रमुख शिखर लामा बताउँछन् ।
अहिलेको कार्यप्रगति अनुसार महामारीका कारण परिर्माजित हुने अन्तिम म्यादभित्रै सभाहलको निर्माण सम्पन्न भइसक्ने उनको भनाई छ । तर, प्रदर्शनीस्थलको कार्यप्रगति सभाहलको भन्दा केही सुस्त रहेकाले तोकिएको म्यादभित्र निर्माण सम्पन्न हुन नसक्ने आयोजना प्रमुख लामाले जानकारी दिए ।
यद्यपि, आगामी दुई आर्थिक बर्षभित्र आन्तरिक पर्यटनका लागि महत्वपूर्ण मानिएका यी दुई संरचनाको निर्माण सम्पन्न भइसक्ने उनको भनाई छ ।
अहिले साढे १० बिघा क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (सभाहल) निर्माणको काम चलिरहेको छ । आकाशबाट हेर्दा नेपाली राष्ट्रिय झण्डा आकारमा यो प्रदर्शनी स्थलको निर्माण भइरहेको हो ।
मण्डपमै रहेको बाँकी ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाइन लागिएको हो । तीन अर्बभन्दा धेरै लागतमा निर्माण थालिएका यी दुई संरचना निर्माणसम्पन्न भएपछि मुलुककै नमूना हुने बताइएको छ ।
प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्डेन पार्क, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पभेलियनहरु तयार पारिनेछन् ।
प्रदर्शनीका लागि ट्रस्ट सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ ।
८ सय वटासम्म स्टलहरु राख्न मिल्ने सम्मेलन केन्द्रका स्टलहरुलाई आवश्यक परेका बखतमा घटाउन÷बढाउन मिल्ने गरी डिजाइन गरिएको छ ।
प्रदर्शनी स्थलमा पाँच सय स्क्वायर मिटरमा आकर्षक हरियालीसहितको बाल उद्यान बन्नेछ । मण्डप परिसरमा रहेको गणतन्त्र स्मारकलाई स्थानन्तरण गरेर थप आकर्षक क्षेत्रमा सार्ने गरी डिजाइन गरिएका आयोजना प्रमुख लामाको भनाइ छ । स्तम्भका लागि छुट्टै पोखरी निर्माण गरेर दीपसहितको स्थानमा सारिने छ ।
बुटवल मेडिकल कलेज
सरकारी तवरमा रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ठूला पूर्वाधार मध्येको बुटवल मेडिकल कलेजको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ । कलेजको डीपीआर बनाउन आयोजनाले काठमाडौंको नीति प्राइभेट कम्पनीलाई दिएको छ ।
साउन मसान्तभित्रै डीपीआर निर्माण भइसक्ने र त्यसपछि टेण्डरमा जान सकिने बुटवल मेडिकल कलेज ूिर्वाधार निर्माण विकास आयोजनाका निर्देशक मानबहादुर घिमिरेले बताए ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने मेडिकल कलेज राजधानी बाहिरकै सबैभन्दा ठूलो र उत्कृष्ट हुने आयोजनाको ठहर छ ।
तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय विगाह जग्गामा निर्माण हुने मेडिकल कलेजको गुरुयोजना स्वीकृत भइसकेको छ ।
गुरुयोजनामा स्ट्रक्चरको डिजाइन निर्माण गरिएको छ । निर्देशक घिमिरेका अनुसार गुरुयोजनामा कलेज भवन, डाक्टर, नर्सका लागि क्वार्टर, होस्टल, प्राइमरी स्कुल, कम्युनिटी हल, ग्रिनरी पार्क, स्वीमिङ, हेलिप्याड, बैंक, चिल्ड्रेन पार्क, सपिङ कम्प्लेक्स, अडिटरी होम हललगायतका संरचना त्यहाँ बन्नेछन् ।
गुरुयोजनामा १ हजार बेडको अस्पताल बन्ने पनि समावेश भएको छ । ‘हामीले एकै पटक १ हजार बेडको बनाउँदैनौं, सुरुमा ३ सय बेडको अस्पताल बन्छ, पछि ५ सय बेडको अस्पताल बन्छ र पढाइ पनि सुरु हुन्छ,’ उनले भने ।
३ फागुन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।
त्यहीअनुरुप बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यालयको उद्घाटन गरेका थिए ।
सरकारी मेडिकल कलेज बन्ने प्रक्रियाले स्थानीय बासिन्दा खुसी भएका छन् । निजी अस्पताल धेरै भए पनि महँगा र विशेषज्ञ सुविधा पर्याप्त नहुँदा रुपन्देहीवासीलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अझै पनि छ ।
अहिले रुपन्देहीको भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज गरी दुईवटा निजीक्षेत्रका मेडिकल कलेज सञ्चालनमा छन् भने बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल छ ।
रुपन्देहीमा अहिले लुम्बिनी प्रदेशका १२ जिल्लासहित प्रदेश ४ का स्याङजा, बागलुङ तथा सीमावर्ती भारतीय शहरबाट समेत बिरामीहरू उपचार गर्न आउँछन् ।
यो मेडिकल कलेज बनेपछि काठमाडौंबाट समेत मानिसहरू उपचारका लागि आउने आयोजना प्रमुख घिमिरेले बताए ।
मुलुककै दोस्रो ठूलो नाकामा स्वागतद्वार
अहिले भैरहवा भन्सार वीरगन्जपछि मुलुकको दोस्रो ठूलो नाकामा पर्छ । भारततर्फ चार लेन र नेपालतर्फ ६ लेनको सडक बनेको छ ।
आयात निर्यातका लागि सहज पहुँच भएको भएको भैरहवा नाका मुलुककै लाइफलाइन बन्दै छ । नेपालतर्फको ६ लेन सडकले नाकाको सोभा झनै बढाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि वैदेशिक व्यापारमा भैरहवाको योगदान अझ बढ्नेछ । नेपालको सीमाक्षेत्रमा आकर्षक स्वागतद्वार बन्दै छ ।
सीमाक्षेत्रबाट झन्डै १ किलोमिटरभित्र डन्डा खोलामा स्वागतद्वार बनाउन लागिएको हो । यो स्वागतढार निर्माण भएपछि सहरको सुन्दरता थपिनेछ ।