बुटवल-विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च सतर्कता अपनाउँदै रुपन्देहीका सबै हाटबजारहरु बन्द भएका छन्।
कोभिड-१९ को उच्च सतर्कता अपनाउँदै जिल्लाभरका हाटबजारहरु बन्द गर्ने निर्णय गरिएको रुपन्देही हाटबजार ब्यबसायी संघका अध्यक्ष भिमलाल ज्ञवालीले बताए। ‘स्वास्थ्यभन्दा ठूलो केही छैन, अब परिस्थिति नसुध्रिएसम्म हाटबजार बन्द गरेका छौं,’ उनले भने।
हाटबजारमा मानिसको बढी भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै हाटबजार बन्द गर्ने निर्णय गरिएको उनले बताए।
जिल्लाका बुटवल, मणिग्राम, योगिकुटी, भैरहवा, र्फसाटिकर, रुद्रपुर हरैया, मुर्गिया, देबदह शितलनगर र खैरेनीमा ठूला हाटबजारहरु संचालनमा थिए। यसका अतिरिक्त अन्य स्थानमा सानातिना हाटबजार पनि संचालनमा छन्।
रुपन्देहीका हाटबजारहरुमा दैनिक करिब डेढ करोडको आर्थिक कारोबार हुने गरेको छ । फरकफरक बारमा फरकफरक स्थानमा हाटबजार संचालनका गरिँदै आएको छ।
यहाँ दैनिक २ हजार व्यबसायीले हरेकले कम्तिमा ५-७ हजारको दैनिक कारोबार गर्ने गरेका छन्। हाटबजारमा दैनिक १० टन, तरकारी फलफूल खाद्यान्न बिक्री वितरण हुने गरेको छ।
सरकारले गरेको निर्णयप्रति हाटबजार व्यवसायी संघ रुपन्देहीले एक्यवद्धता जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि अर्को सूचना जारी नहुँदासम्म बन्द गरी सजग रहन अपिल गरिएको छ।
यसअघि रुपन्देेहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकाले पनि नगरभित्रका हाटबजार बन्द गरिसकेका छन्।