भैरहवा–रुपन्देहीको भैरहवामा ४ वर्ष अघि सुरु भएका सडक निर्माणका काम अझै अलपत्र छन् । सिद्धार्थ नगरपालिकाभित्रका १९ वटा सडक विस्तार तथा स्तरोन्नतिका काम अझै सम्पन्न हुन सकेका छैनन् ।
संघीय आयोजना कार्यान्वयन इकाईको सघन शहरी विकास कार्यक्रम अन्तर्गतका यी सडकमा तीन पटकसम्म म्याद थप गरिसकिएको छ । कार्यालयले आर्थिक प्रगति ८३ प्रतिशत देखाएको भएपनि सडकमा भने घाँस र पानी मात्रै देखिन्छ ।
कार्यालयले निर्माण कम्पनी पप्पु कोशी एण्ड न्यौपाने शिवशक्ति जेभीसँग २०७४ साल असार २९ गते यी १९ वटा सडक १८ महिनामा सम्पन्न गर्ने गरी स्तरोन्नति र निर्माणको सम्झौता गरेको थियो ।
५५ करोड ७१ लाख लागत अनुमानमा ठेक्का भएको उक्त सडक ३३ करोड ३१ लाखमा सम्पन्न गर्ने जिम्मा निर्माण कम्पनीले लिएको थियो । १७ प्रतिशत कम मूल्यमा ठेक्का लिएको कम्पनीले अहिलेसम्म कागजी रुपमा ९० प्रतिशत भौतिक प्रगति गरेको देखाएको छ । त्यसबापत २६ करोडभन्दा बढी अर्थात् ८३ प्रतिशत रकम लगिसकेको कार्यालयको तथ्याङ्कमा छ ।
कार्यालयले निर्माण कम्पनिलाई १५ महिना, ९ महिना , ६ महिना गरी ३ पटक म्याद थप गरी निर्माण सम्पन्न गर्न भनेको थियो । तर निर्माण कम्पनीले समयसीमाभित्र काम सकेन । बरु फेरि चौंथो पटकका लागि म्याद थप गर्न कार्यालयमा निवेदन दिएको छ ।
१८ महिनामा सम्पन्न हुनु पर्ने काम त्यसपछि थपिएका ३० महिनासम्म पनि सम्पन्न नहुनुले स्थानीय नै आश्चर्यमा परेका छन् ।
कार्यालयका अनुसार कुल १९ वटा सडक मध्ये २ वटा सडक मापदण्ड नपुगेकाले रद्द गरिएको छ भने बाँकी १७ वटा सडक निर्माणकै क्रममा छन् ।
कालो पत्रे गर्नुपर्ने सडकमा कतै नाला बनाएर छाडिएको छ भने कतै निर्माण सामग्री र मेसिनहरु अलपत्र अवस्थामा राखिएको छ । पर्यवेक्षण र ताकेता गर्ने काम सिद्धार्थनगर नगरपालिकाको रहेपनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको कामबारे नगरपालिकाले चासो देखाएको छैन ।
आयोजना कार्यालयका सूचना अधिकारी ध्रुव पौडेल खत्रीका अनुसार ८ वटा सडक भौतिक रुपमा करिब सम्पन्न भएपनि पूर्ण रुपमा सम्पन्न हुन सकेका छैनन् ।
२ वटा सडक निर्माण रद्द भएको छ भने बाँकी ९ वटा मध्ये एक वटा सडकको काम शुरु नै भएको छैन । ८ वटा सडक मध्ये केही ‘साइट’ उपलब्ध नभएर रोकिएको छ भने अधिकांश सडक निर्माण कम्पनीले काम नगरिदिंदा रोकिएको हो ।
‘हामीले पटक–पटक तोकता गर्ने, छलफल गर्ने, पत्र पठाउने काम गरेपनि निर्माण कम्पनीले विविध कारण देखाउँदै म्याद थप गर्न माग गर्दै आएको छ, अहिले चौंथो पटक कोभिडको कारण देखाउँदै ६ महिनाका थप्न निवेदन दिएको छ,’ सूचना अधिकारी खत्रीले भने ।
सडक बनाउनकै लागि सिद्धार्थ हाइवेसँग जोडिएको सडक पञ्चपथमा रहेका घर र पर्खाल भत्काएको दुई वर्षभन्दा बढी हुँदा समेत अधुरो नाला बनाएर छाडिएको छ । सडकमा पानी जमेर घास उम्रिएको छ भने बीच सडकमा निर्माण सामग्री र मिक्सचर मेसिन राखेर सडक अवरुद्ध पारिएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि तथा साइट इन्चार्ज श्याम अधिकारीले अबको ६ महिनाभित्र काम सम्पन्न गर्ने बताए । ‘कोभिड र स्थानीयको अवरोधका कारण काम समयमा सम्पन्न हुन नसकेको हो, वर्षाको सिजन अरु बेलाभन्दा अगाडि नै आएकोले काम गर्न कठिनाई भएको हो,’ उनले भने ।