बुटवल-‘लकडाउन’का कारण उत्पादन भएको कृषिजन्य उपज बिक्रीका लागि प्रदेश ५ सरकारले सहजीकरण गर्ने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्तर्गतको कृषि विकास निर्देशनालयले सूचना प्रकाशन गर्दै कृषिजन्य उपज बिक्रीका लागि सहजीकरण गर्ने भएको हो।
‘लकडाउन’को समयमा उत्पादन भएको तरकारी केही जिल्लामा कुहिन थालेको गुनासो आइरहेका बेला बिक्रीका लागि सहजीकरण गर्ने निर्देशनालयका कृषि अधिकृत भिमनाथ शर्माले जानकारी दिए।
त्यसका लागि किसानले सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्नुपर्ने निर्देशनालयले जनाएको छ । प्रदेश नंं ५ मा आठ वटा मात्र ज्ञान केन्द्र रहेका छन्।
बर्दिया, प्यूठान, पूर्व रुकुम र रुपन्देही बाहेक सबै जिल्लामा कृषि ज्ञान केन्द्र भएको र कृषि ज्ञान केन्द्र नभएका जिल्लाहरुले सम्बन्धित जिल्ला हेर्ने ज्ञान केन्द्रमा उपजको विवरण टिपाउन निर्देशनालयले आग्रह गरेको छ।
कृषि ज्ञान केन्द्र नभएका जिल्लाहरु रुपन्देहीलाई परासीले, बर्दियालाई बाँकेले, प्यूठानलाई दाङले र पूर्व रुकुमलाई रोल्पाले हेर्ने गर्दछ । अहिले निर्देशनालय तथ्यांक लिनका लागि सम्पूर्ण ज्ञान केन्द्रमा पत्र काट्न थालेको बताएको छ।
कृषि उपज बिक्रीका लागि समस्या परेका किसानले ज्ञान केन्द्र मार्फत विवरण टिपाउने र त्यसको बिक्री प्रबद्र्धन सम्बन्धित ज्ञान केन्द्र प्रमुखले गर्ने गरी योजना बनाइएको कृषि अधिकृत शर्माले बताए।
किसानको मिहिनेत उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानलाई लाखौंको क्षति हुने भएकाले ज्ञान केन्द्र मार्फत बिक्रीका लागि सहजीकरण गरिएको उनले बताए।
सम्बन्धित बिक्री स्थलसम्म लैजाने साधन छैन भने कृषि निर्देशनालयको फोन ०७१४२००१२ र भिमकान्त शर्मा ९८४७०२३०८१ लाई सम्पर्क गर्न किसानहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।