बुटवल–रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ७ तरकारीको पकेट क्षेत्र हो । हप्ताको २ दिन बुधबार र शनिबार दैनिक १० ट्रिपको दरले तरकारी बुटवल बजारमा जान्थ्यो । अरु दिन चार पाँच ट्रिप नियमित जाने गर्दथ्यो ।
तर हिजो आज गैडहवाको तरकारी बुटवल जान पाएको छैन । केही साना व्यापारीहरु नै गाउँमा पुगेर थोरै थोरै तरकारी साइकलमा राखेर बजारसम्म पुर्याउने गरेको स्थानीय कृषक तथा गैडहवा ७ का वडा सदस्य सूर्यलाल केवटले बताए । ‘टमाटर, सिमीहरु थोरै मात्रामा पाँच दस किलो साइकिलमा राखेर लगिरहका छन–उनले भने–बढी भयो भने २ क्यारेटसम्म लैजान सकिन्छ । त्यस भन्दा बढी लैजान्नन् ।’
टमाटर, सिमी, काउली लगायतका केही तरकारी थोरै खपत भएपनि ठूलो संख्यामा लगाएका गाजर र मुला भने खेतमै कुहिने अवस्था छ । ‘हरियो तरकारी र टमाटर हलुका क्यारेटमा लैजान सजिलो हुन्छ । गाजर मुला गरुंगो हुन्छ यो बेला बिक्दा पनि बिक्दैन ।’ कृषक सूर्यलाल केवटले भने ‘नबिकेर धेरैले गाइ गोरुलाई खुवाइरहेका छन् ।’
गैडहवा ७ बलुहवा इन्दल केवटलले तिन कठ्ठामा गाजर लगाएका छन् । त्यती नै क्षेत्रफलमा मुला पनि फलाएका छन । तर कोरोनाको असरका कारण नबिकेर खेतमै अलपत्र छ । ‘४० कुइण्टल जति मुला खेतमै छ । सबै फूल्यो । ५० क्वीण्टल गाजर पनि खेतमा छ त्यही हालत छ ।’ इन्दलले गुनासो गरे ‘यो भाइसरले गर्दा खै के गर्यो गर्यो ।’
अर्का तरकारी कृषक विनोद केवटको पनि गाजर र मूला खेतमा जस्ताको तस्तै छ । ‘टमाटर काउली खुर्सानी त अलि–अलि यहिँका व्यापारीले लकेका छन् ।’ उनले भने ‘गाजर बेच्न पाएको छैन । १५ कुइण्टल जति गाजर खेतमै छ । कोरोनाले ठूलै समस्या पारेको छ ।’ विनोदले गत वर्ष पनि एक किलो विउ किनेर खेतमा गाजर उमारेका थिए । गत वर्ष लगभग सबै बिक्यो । ‘यो वर्ष पनि एक किलो विउ नै लगाएको हो । विउ, मल, परिश्रम सबै खेर गयो ।’
हरियो तरकारी सर्वसाधारण उपभोक्तामा पुगे पनि गाजर, मुला ठूलो मात्रामा होटलमा खपत हुने गर्दछ । बुटवलको कृषि उपज तथा थोक बजारमा पनि हरियो तरकारीको खपत भएपनि गाजर र मुला खपत नगन्य भएको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका महासचिव मेघनाथ पौडेलले बताए ।
‘लकडाउन भन्दा केही दिन अघि बाटै मुला गाजरको व्यापार सुकेको छ–उनले भने–गाजर, मुला बढी खपत हुने भनेको होटलहरुमा र विवाह पार्टीमा हो । कोरोनाको हल्ला भएदेखि होटल चल्न छाडेका छन् ।’
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण र नेपालमा भएको लकडाउनको असर किसानको तरकारी बारीमा पनि नराम्रोसँग परेको छ ।