भैरहवा - मुलुककै दोस्रो ठुलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/ ०७८का लागि ९९ अर्व ६५ करोड ७६ लाख राजस्व असुली लक्ष्य पाएकोमा लक्ष्यको करिब १३ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।
बन्दाबन्दी र निषेधाज्ञाले अन्य साना नाका बन्द भएकोले र पछिल्लो समय आर्थिक क्रियाकलाप वृद्धि भएको कारण लक्ष्य भन्दा बढी राजस्व असुल गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए । ‘हामीले यस वर्ष १ खर्व १२ अर्ब ५४ करोड २५ लाख राजस्व संकलन गरेका छौं।’ उनले भने ‘जुन लक्ष्यको १२ दशमलव ९३ प्रतिशत बढी हो । विगत ३ वर्ष देखि कार्यालयले लक्ष्य भेट्टााउन सकेको थिएन यस वर्ष लक्ष्य पार गर्न सकेका छौं।’
अघिल्लो आर्थिक वर्षमा भन्सार विभागको लक्ष्यमा भैरहवा भन्सार कार्यालयबाट मात्रै २२ दशमलव ५६ प्रतिशत योग्दान छ । कोभिडको प्रभाव परेर अन्य क्षेत्र बन्द भए पनि भैरहवा भन्सार कार्यालय बन्द नहँुदा पनि यसले राजस्व असुली वृद्धिमा प्रभाव पारेको हो । चालु आर्थिक बर्षमा सबै भन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले मोटरसाईकलबाट असुल गरेको छ ।
आर्थिक बर्ष २०७७/०७८ मा मात्रै भैरहवा भन्सार हुँदै २१ अर्ब बढि मुल्य बराबरको २ लाख १६ हजार ९ सय ६९ वटा मोटरसाईकल बाट २० अर्व ६३ करोड १४ लाख ५४ हजार राजस्व असुल गरेको छ ।
यस्तै एमएस विलेटबाट ५ अर्व ६९ करोड, ग्लेज टाईलबाट ३ अर्व ४ करोड ४४, हाइस्पीड डीजलबाट २ अर्ब ६३ करोड, सिंगल क्याब पीकअपबाट २ अर्ब ६२ करोड, डबल क्याब पीकअपबाट २ अर्ब ४७ करोड राजस्व असुल भएको छ । यसका साथै भारतबाट नेपाल तर्फ गाडी, ट्रक, मिनी ट्रक, मार्बल, पेट्रोल लगातका बस्तु बढी मात्रामा आयात हुने गरेकाे छ । भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यून रुपमा निर्यात हुने गरेको छ । बिशेष गरि कृषिजन्य उत्पादनमा भटमासको तेल सबै भन्दा बढी निर्यात हुने गरेको छ ।
चालु आर्थिक बर्षमा कार्यालयबाट १ अर्व ९२ करोड मूल्य बराबरको भटमासको तेल निर्यात भएकोे छ । त्यस्तै १ अर्ब २८ करोडको सेन्थेटिक यार्न, ५२ करोडको पिना, ३६ करोडको स्टीलका भाडाकुडा, ३४ करोडको चोकर र भुसहरु, २७ करोडको जडीबुटी निर्यात भएको छ । भैरहवा भन्सार हुदै यि बस्तु सहित बिशेष खोटो रोजीन, बोरा झोला अन्य कपडा पदार्थ, प्लाष्टिकको नली पाईप, रेसाको कपडा, दालचिनी लगायतका बस्तु निर्यात हुने गरेका छन् ।
३ वर्ष पछि पार भयो लक्ष्य
विगत ३ बर्ष देखी लक्ष्य अनुसारको राजस्व असुलीमा असफल हुदै आएको भैरहवा भन्सार कार्यालय चालु आर्थिक बर्षमा असुली लक्ष्य पार गरेको छ । आर्थिक बर्ष २०७४/०७५ मा ८१ अर्व ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकोमा ८६ प्रतिशत मात्र अर्थात ७० अर्व २८ करोड ९३ लाख ५ हजार राजस्व असुली भएको थियो ।
यस्तै आर्थिक बर्ष २०७५/ ०७६ मा ९३ अर्व ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल भएको थियो । सबै भन्दा कम राजस्व गत बर्ष २०७६/ ०७७ मा असुल भएको थियो । अहिले सम्मकै सबै भन्दा बढी १ खर्व ६ अर्व ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा कार्यालयले ६६ प्रतिशत मात्र राजश्व असुल गरेको थियो । आर्थिक बर्ष २०७७/०७८मा भने लक्ष्य पार भएको छ ।