बुटवल- रुपन्देहीको बेलबास-बेथरी सडक ४ लेनमा विस्तार गर्ने काम जारी छ। अबको केही महिनामा यो सडक विस्तार सकिने आयोजनाको भनाइ छ। चार लेनको यो सडक अब दक्षिण तर्फ बेथरीसम्म मात्र सिमित हुने छैन। अझै अगाडी बढ्ने गरि डिपिआर तयार भएको छ।
बेथरीबाट दक्षिण १० किलोमिटर सडकको लागि डिपिआर तयार भएको र ५ किलोमिटर सडकको विस्तारको काम सुरु भइसकेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर ललितबहादुर न्यौपानेले बताए। ‘५ किलोमिटरको लागि ठेक्का भइसकेको छ। अहिले वालको काम भइरहेको छ। उनले भने ‘बाँकी ५ किलोमिटरको डिपिआरसम्म मात्र भएको छ । छिट्टै ठेक्का हुन पनि सक्छ।’
बेथरीबाट दक्षिण तर्फ १० किलोमिटर सडक विस्तारको कुल लागत ४२ करोड रुपैया रहेको छ। ५ किलोमिटरको सडक विस्तारको लागि २६ करोडमा ठेक्का सम्झौता भएको हो । सम्झौता भएको २८ महिनामा निर्माण व्यवसायीले काम सक्नुपर्ने इन्जिनियर न्यौपानेले बताए।
बेथरीबाट दक्षिण भारतको सिमानासम्म १७ किलोमिटर दुरी पर्दछ। त्यस मध्ये कोटइमाइ गाउँपालिकाको रामनगर चौराहसम्म १० किलोमिटर सडक मात्र ४ लेनमा विस्तार गर्ने योजना बनेको हो। बाँकी ७ किलोमिटर सडक डबल लेनको मात्र बन्ने छ।
बेथरीबाट दक्षिण तर्फ पनि उत्तरतिरको जस्तै सडक बन्ने छ।
दक्षिण तर्फ विस्तार हुने सडकले मायादेवी गाउँपालिका र कोटइमाई गाउँपालिका समेट्ने छ। यो सडक बनेमा जिल्लाको दक्षिण क्षेत्र मर्चवारबासीलाई आवत जावतमा निकै सहज हुने छ। ‘फराकिलो सडक बन्यो भने हाम्रो गाउँपालिका सहित मर्चवारलाई नै फाइदा हुने छ । सडक बन्ने भयो भने म जस्तोसुकै सहयोग गर्न तयार छु।’ कोटइमाइ गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले भने।
अहिले बेलबासदेखी बेथरीसम्म नहर दुबै तर्फ सात–सात मिटरको डबल लेन सडक, साइकिल लेन र फूटपाथ सहितको नमुना सडक बन्दै छ। २०७६ साउनमा निर्माण सक्ने गरी २०७३ असारमा सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । गत मंसिरमा दोस्रोपटक म्याद थप भएर सडक निर्माण भइरहेको छ।
तीन वटा ठेक्का सम्झौता मध्ये बेथरी तर्फको एउटा खण्डको विस्तार कार्य सकिसकेको छ। अको खण्डको अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय शिवपुरका प्रमुख विदुर पोखरेलले बताए। बेलवास तर्फको खण्डको भने ४५ प्रतिसत मात्र काम भएको छ । कुल २२ किलोमिटर सडक मध्ये १५ किलोमिटर जति दुबै तर्फ कालोपत्रे भइसकेको पोखरेलले जानकारी दिए।