बुटवल-कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अत्यावश्यक बस्तुको सहज आपुर्ति ब्यवस्थापनका लागि प्रदेश सरकार र नीजि क्षेत्रबीच छलफल भएको छ।
उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको छलफलमा कोरोनाका कारण उत्पन्न जटिल समस्यामा सर्वसाधारणको जीवनयापनलाई सहज बनाउने र सम्भावित आर्थिक संकटलाई ब्यवस्थापन गर्न नीजि क्षेत्र संग छलफल गरिएको हो।
त्यस अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कोरोनाका कारण बिश्व नै जटिल एंव समस्याग्रस्त अवस्थामा पुगेको भन्दै त्रासदिपुर्ण अवस्थाबाट मुलुकलाई जोगाउन र आफु पनि जोगिएर जिम्मेवारी निर्वाह गर्न आब्हान गरे।
उनले मुलुकको अर्थतन्त्र चौपट हुने अवस्थामा पुगेको र नीजि क्षेत्र धरासायी हुने अवस्थामा अवस्थामा पुगेको भन्दै यसलाइ सहजरुपमा ग्रहण गरेर माथि उठनु मात्र एकमात्र बिकल्प हो भने। मन्त्री गिरीले अत्यावश्यक बस्तु जनतामा पुर्याउने जिम्मेवारी प्रमुुख रुपमा नीजि क्षेत्रको नै आपुर्तिको जिम्मेवारी रहने भएकाले अफ्ठ्यारो अवस्थामा पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पु¥याएर उद्योगहरु चलाउन आग्रह गरे। उनले नाजायज फाइदा र गतल तरिकाले पैसा कमाउने गरि कसैले पनि काम नगर्न आग्रह गरे।
उनले भने– उद्योगका कच्चा पदार्थको मूल्य बढेको भन्दै अपारदर्शी ढंगले नभइ उचित मुनाफा लिएर उपभोक्तालाई बस्तु उपलब्ध गराउनुपर्छ।’ कार्यक्रममा मन्त्रालयका सचिव डा. राधा वाग्लेले प्रदेशमा अत्यावश्यक खाद्यवस्तुको संचितिको अवस्थाका बारेमा तथ्याङ्क संकलन अभिलेख ब्यवस्थापन गर्नुपर्ने औल्याए।
उनले तथ्याङ्क संकलनका लागि मन्त्रालयले नीजि क्षेत्र संगको सहकार्यमा सहजिकरण अनुगमन गर्ने समेत बताए। छलफलमा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले बैंक तथा बित्तिय संस्थाहरुले सरकारले गरेको निर्णय लाई समेत नमानेर गैर मानवियता देखाएको भन्दै यसलाइ सरकारले सम्बोधन गर्नुपर्ने बताए।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष दीपक कुमार पौडेलले खाद्य उद्योगमा समेत कच्चा पदार्थ, कामदारको अभाव र उद्योगमा नियमित आवत जावतका समस्याले बन्द हुने अवस्थामा रहेको बताए।
रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले बजारमा खाद्य बस्तुमा भएको मूल्य बृद्धि साना ब्यापारिका कारण नभएको दावी गरे। नेपाल उद्योग ब्यापार संघका अध्यक्ष नारायण भण्डारीले बस्तुको ढुवानीमा सबैभन्दा समस्या रहेकाले सरकारले यसकालागि सहजिकरण गरिदिनुपर्नेमा जोड दिए।
उनले प्रकोप अवधिके बैंक ब्याजमा छुटको ब्यवस्था, घरबहाल करमा मिनाहा र ब्यवसायिक क्षेत्रलाई बर्गिकरण गरेर राहत प्याकेज ल्याउन सुझाव दिए। कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, प्रदेश सदस्य कृष्ण कुमार श्रेष्ठ, उपाध्यक्ष उज्ज्वल प्रसाद कसजु लगायतले सुझाव दिएका थिए।